समतलको उम्मेद्वार हिल कङ्ग्रेसले स्वीकार नगर्ने, लोकसभा चुनाउमा पहाड़कै उम्मेद्वार हुनुपर्छ : दावा नर्बुला

0
1946
पत्रकारहरूलाई सम्बोधन गर्दै पूर्व सांसद दावा नर्बुला।

कालेबुङ, 11 मार्च : हिल कङ्ग्रेस कमिटीले यसपालिको चुनाउमा पहाड़कै उम्मेद्वार हुनुपर्ने कुरालाई स्पष्टसँग अघि राखेको छ। साथै पार्टीले समतलबाट दार्जीलिङ लोकसभा चुनाउका लागि पठाएको उम्मेद्वारलाई स्वीकार नगरिने पनि बताएको छ।

सोमबार कालेबुङमा हिल कङ्ग्रेस कमिटीको एक महत्त्वपूर्ण सभा सम्पन्न भयो, जसमा आगामीलोकसभा चुनाउ र अन्य विषयमाथि विशद् छलफल गरिएको थियो। सभामा दार्जीलिङ र कालेबुङका हिल कङ्ग्रेसीहरूको उपस्थिति थियो।

सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै पूर्व सांसद एवं हिल कङ्ग्रेसका वरिष्ठ नेता दावा नर्बुला र कङ्ग्रेसका कालेबुङ जिल्ला कमिटीका अध्यक्ष  दिलीप प्रधानले सम्बोधन गरे।

पत्रकारहरूलाई सम्बोधन गर्दै नर्बुलाले यसपटक लोकसभा चुनाउमा पहाड़कै उम्मेद्वार हुनुपर्ने हिल कङ्ग्रेसको अड़ान रहेको बताए। साथै उनले उम्मेद्वारका लागि समतल कङ्ग्रेसको निर्णय स्वीकार नगर्ने स्पष्ट पारे। प्रदेश कमिटीले यसपटक दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटीको अध्यक्ष पदमा शङ्कर मालाकरलाई प्रदेश कमिटीले चयन गरेकोमा पनि नर्बुलाले आपत्ति जनाए।

उनले भने, “1947 -देश स्वाधीनता भएपछि  कङ्ग्रेस दार्जीलिङ जिल्ला कमिटीका अध्यक्ष पहाड़बाट हुन्थ्यो, तर पछिबाट हाम्रो अनुरोधमा दार्जीलिङ हिल कङ्ग्रेस र दार्जीलिङ समतल कङ्ग्रेस गरी विभाजन गरियो। यद्यपि दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष पहाड़बाटै हुँदै आइरहेको थियो, तर यसपटक पहिलोपटक दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष भनेर मधेशबाट एकजनाको नाम पठाउँदै छ, शङ्कर मालाकरको। जसलाई हामीले प्रतिवाद गर्दैछौं। हामी चाहन्छौं, दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष दार्जीलिङ पहाड़बाटै हुनुपर्छ।”

उनका अनुसार आजको बैठकमा यो विषयमा पनि व्यापक छलफल भएको थियो। यसका साथै उनले आगामी लोकसभा चुनाउमा पहाड़कै उम्मेद्वार हुनुपर्ने अड़ान आफूहरू रहेको बताए।

यसका लागि हिल कङ्ग्रेसीहरूबीच छलफल भइरहेको, तर निष्कर्ष भने पुगिनहालेको पनि नर्बुलाको भनाइ छ। “यदि समतलबाट दार्जीलिङ लोकसभा क्षेत्रका लागि पार्टीले उम्मेद्वार दिए, हाम्रो समर्थन रहनेछैन। हामी स्वीकार गर्दैनौं”, उनले भने। नर्बुलाका अनुसार कङ्ग्रेसका लागि सर्वस्व त्यागेका पहाड़कै व्यक्तिलाई आगामी लोकसभा चुनाउको उम्मेद्वार बनाइनुपर्छ भन्ने उनीहरूको माग हो।

उनले भर्खरै प्रदेश कङ्ग्रेस कमिटीले दिलीप प्रधानलाई कालेबुङ कङ्ग्रेस कमिटीका अध्यक्ष चयन गरेकोमा पूर्ण समर्थन जनाए। पत्रकारहरूलाई दिलीप प्रधानले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here