
नयाँ दिल्ली, १० मईः आज बिहानीपख पाकिस्तानले गरेको गोलीबारीमा आईएएस अफिसर डा. राज कुमार थापाको मृत्यु भएको छ ।
उनी जम्मू-कश्मिरको रजौरी जिल्लाका एडिसनल डिस्ट्रिक डेवलपमेन्ट कमिस्नर पदमा कार्यरत थिए ।
आईएएस अफिसर डा. थापाको मृत्युप्रति गहिरो शोक प्रकट गर्दै जम्मू-कश्मिरका मुख्यमन्त्री उमर अब्दुलाले भनेका छन् – “हामीले जम्मू-कश्मिर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ ।”
थापाको निधनले पुगेको अपुरणीय क्षतिमा शोक र दुःख व्यक्त गर्ने आफूसँगै शब्द नै नरहेको मुख्यमन्त्री अब्दुलाले बताएका छन् ।
मुख्यमन्त्री उमर अब्दुलाले बताएअनुसार हिजो उनले अध्यक्षता गरेको अनलाइन मिटिङमा रजौरीका एडिसनल डिस्ट्रिक डेवलपमेन्ट कमिस्नर डा. राजकुमार थापाले पनि भाग लिएका थिए ।
साथै हिजो डा. थापाले उपमुख्यमन्त्रीसँग जिल्लाका भ्रमण गरी ताजा अवस्थाबारे जानकारी लिएका थिए ।
आज बिहानीपख पाकिस्तानी सेनाले रजौरी शहरलाई लक्षित गरी गोलीबारी गर्दा डा. राजकुमार थापाको निधन भएको हो ।
जानकारीका अनुसार गोलीबारीका समय उनी आफ्नै आवासमा थिए ।
२८ अप्रेल १९७१ मा जन्मेका राजकुमार थापा एमबीबीएस डाक्टरसमेत थिए । उनले जम्मू-कश्मिर प्रशासन सेवाका धेरै महत्त्वपूर्ण पद जिम्मेवारीपूर्वक सम्हालिसकेका थिए ।