आन्दोलन बिथोलेको उपहार अमरसिंह राईले पाए, यस्ता भूमिपुत्र नामका ‘छली’-हरूलाई पराजित गर्नुपर्छ : नीरज जिम्बा

0
1923
गोरामुमो नेता नीरज जिम्बा। (फाइल फोटो)।

दार्जीलिङ, 12 मार्च : विनयपन्थी खेमा नेता एवं दार्जीलिङका विधायक अमरसिंह राईलाई दार्जीलिङ संसदीय क्षेत्रबाट तृणमूल कङ्ग्रेस उम्मेद्वार घोषणा गरेपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले तीखो प्रतिक्रिया व्यक्त गरेको छ।

गोरामुमोले अमरसिंह राईको उम्मेद्वारितालाई लिएर पनि प्रश्न तेर्साएको छ। मङ्गलबार जनसंवादसँग विशेष कुराकानी गर्दै गोरामुमोका वरिष्ठ नेता नीरज जिम्बाले अमरसिंह राई र विनयपन्थी गोजमुमोका नेताहरूमाथि तीखो शब्दमा कटाक्ष गरे।

उनले भने, ‘‘अमरसिंह राईजस्ता भूमिपुत्र नामका ‘छली’, ‘मीरजाफर’ र ‘जयचन्द’-हरूलाई पराजित गर्नुपर्छ। गोजमुमोका विधायक अब तृणमूल कङ्ग्रेसबाट सांसदको उम्मेद्वार बनेका छन्। गोर्खा जातिलाई योभन्दा ठूलो विश्वासघात अर्को हुनसक्दैन। पहाड़ र समतलका जातिप्रेमी गोर्खाहरू एक भएर यस्ता भूमिपुत्र नामका छलीहरूलाई पराजित गर्नुपर्छ।’’

यसपालिको लोकसभा चुनाउमा गोर्खा जाति र माटोको साँचो हित चाहने पार्टीहरू पार्टीको रूपमा  विभाजित नभएर सिङ्गो गोर्खा जातिको रूपमा एक भई तृणमूल उम्मेद्वार अमरसिंह राईलाई पराजित गर्नुपर्ने जिम्बाले अपील गरेका छन्।

‘‘अमरसिंह राई कोही होइन्, उनी न त पोलिटिकल ‘फिगर’ हुन्, न त उनले नगरपालिकाका अध्यक्ष र विधायक हुँदा हाम्रो जाति र माटोका लागि कुनै कार्य गरेका छन्’’, उनले थपे, ‘‘उनी हाम्रा लागि कोही होइनन्। अमरसिंह राईले त आन्दोलन बिथोलेको पुरस्कार पाएका हुन्। प्रत्येक गोर्खा एकजुट भई यस्ता जाति र माटोविरोधीलाई पराजित गर्नुपर्छ। यो हाम्रो लक्ष्य हुनुपर्छ।’’

यी गोरामुमो नेताले अमरसिंह राईलाई ‘रङ दलेर बाघ बनेको स्याल’-को संज्ञा दिँदै आज विनय तामाङ, अनित थापा र अमरसिंह राईको वास्तविक रूप छर्लङ्ग भएको यी गोरामुमो नेताले बताएका छन्।

जिम्बाले भने, ‘‘पहाड़मा गोजमुमो दुईवटा छैन। गोजमुमो एउटै छ विमल गुरुङको , तर तृणमूल कङ्ग्रेस चाहिँ दुईवटा छन् पहाड़मा। एलबी राईको डुप्लिकेट तृणमूल र विनय-अनितको ओरिजिनल तृणमूल। विनय तामाङहरूले आन्दोलन बेचेको कारण आज खुलस्त भयो। आन्दोलन बेच्नेहरू विनय-अनित मात्र होइन, अमरसिंह राईहरू पनि हुन्।’’

उनले घरभित्रै रहेका यस्ता ‘छली’ र ‘जाति र माटोविरोधी भूमिपुत्र’-हरूभन्दा ‘बाहिरबाट ल्याइएर बनाइएको भूमिपुत्र’ राम्रो हुने बताए। ‘‘घरभित्रैका दुश्मन र विश्वासघाती सबैभन्दा खतरनाक हुन्छ। विनय, अनित र अमरसिंह राईहरू यस्तै घरभित्रै दुश्मन र विश्वासघातीहरू हुन्। यिनीहरूलाई जाति र माटोको कुनै पर्वाह छैन’’, गोरामुमो नेता नीरज जिम्बाले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here