
गेजिङ, १२ सेप्टेम्बरः पश्चिम सिक्किमको याङथाङ समष्टि अन्तर्गत अप्पर रिम्बीमा पैह्रोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई उद्धार गरी उपचारका लागि गेजिङ जिल्ला अस्पताल पठाइएको छ ।
यो मर्मान्तिक घटना हिजो राति लगभग ९ बजे भएको हो ।
हिजो राति परेको मुसलधारे पानीका कारण अप्पर रिम्बी रोडको ठुलो अंश सोहोरेर झरेले स्थानीय निवासी भिम प्रसाद लिम्बूको घरलाई पुर्दा एकै परिवारका तीनजनाले ज्यान गुमाएको तथा अन्य दुईजना गम्भीर भएको गेजिङ जिल्लाका पुलिस अधीक्षक छिरिङ शेर्पाले दार्जिलिङ टक्सलाई बताएका छन् ।
आज बिहान एकजना लगभग आठ वर्षीय नानीलाई पैह्रोले पुरेको अवस्थाबाट उद्धार गरिएको छ । गम्भीर अवस्थामा रहेका ती नानीलाई उपचारका लागि तत्काल गेजिङ अस्पताल पठाइएको छ । त्यसैगरी आज एकजना पुरुषको शव पुरिएको पैह्रोमा अवस्थाबाट निकालिएको छ ।
उल्लेखनीय छ, हिजो एकजनाको शव पाइएको थियो भने दुईजना महिलालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । यद्यपि गेजिङ अस्पताल लैजाने क्रममा एकजना महिलाको मृत्यु भएको छ । अर्का महिलाको उपचार चलिरहेको छ ।
यस घटनाबारे जानकारी पाएलगत्तै पुलिस प्रशासन एवम् नागरिक प्रशासन , पञ्चायत, उद्धार टोली र स्थानीय गाउँलेहरू उद्धार तथा राहत कार्यमा जुटेका थिए ।


