घर समाचार अनुप गदालले दिए भागोप्रमोबाट राजीनामा

अनुप गदालले दिए भागोप्रमोबाट राजीनामा

0
111

खरसाङ, ६ अक्टोबरः अनुप गदालले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेका छन् ।

उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्तिका केन्द्रीय उपाध्यक्ष एवम् खरसाङ महकुमा समितिका कार्यकारी सचिव पदमा थिए ।

अनुप गदालले आज पदसँगै पार्टीको प्राथमिक सदस्यबाटै राजीनामा दिएका हुन् । उनले राजीनामा पत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका अध्यक्ष अमृत योञ्जनलाई पठाइसकेका छन् ।

राजीनामा दिएपछि गदालले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र जीटीएका मुख्य कार्यपाल अनित थापाको आलोचना गरेका छन् ।

 ‘‘सत्तासीन पार्टीबाट जनताको हितको आशा राखिन्छ, तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र जीटीएका मुख्य कार्यपाल अनित थापाले केवल झुटको राजनीति गरिरहेका छन्, जुन सही होइन’’, दार्जिलिङ टक्ससँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, ‘‘झुट र आशै मात्र देखाउने राजनीतिबाट वाक्कदिक्क भएर मैले राजीनामा दिएको हुँ, किनभने यो पार्टीमा बसेर मैले जनताको हितमा निःस्वार्थ कार्य गर्न सकिनँ ।’’

पार्टी र जनताका हितमा निःस्वार्थ रूपमा धेरै कार्य गरे तापनि पार्टी उल्टै उनीविरुद्ध लागिपरेको तथा समस्यामा साथ दिनका सट्टा खुट्टा झिक्ने कार्य गरेको अनुप गदालको भनाइ छ ।

उनले अनित थापा असल नेता नभएर केवल एकजना राम्रा व्यापारी मात्र रहेको बताए । साथै जनताका झुट बोलेर गरिने राजनीतिको आयु लामो नहुने पनि बताएका छन् ।

अर्कोतिर, अनुप गदालले हिजो दुधेमा बाढीले विध्वंस मच्चाएको 24 घण्टाभन्दा बढी समय बितिसक्दा पनि जीटीए प्रमुख अनित थापा दुधे आएर क्षयक्षतिको जानकारी नलिएकामा आलोचना गरेका थिए ।

उल्लेखनीय छ, हिजो दुधेमा भलबाढीले विध्वंस मच्चाएको विषयमा बोल्दै उनले जीटीए र जीटीए प्रमुखका कार्यप्रणालीमाथि प्रश्न उठाएका थिए, जसका कारण उनीविरुद्ध पार्टी असन्तुष्ट देखिएको थियो ।

यसै विषयलाई लिएर अनुप गदाल र पार्टीबिच मतभेद सुरु भएको थियो भने आज उनले भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीको प्राथमिक सदस्यबाटै राजीनामा दिएका हुन् ।    

कुनै टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here