
‘लेखकका रूपमा प्रदान गरिने सबै प्रकारका पुरस्कार, सम्मान र प्रशस्ति-पत्रदेखि आफूलाई अलग राख्ने साहित्यकार राईको प्रतिबद्धता’
गान्तोक, १ मई : साहित्यकार खुसेन्द्र राईले ‘चिया कविता पुरस्कार’ नथाप्ने घोषणा गरेका छन्।
लेखकका रूपमा प्रदान सबै प्रकारका पुरस्कार, सम्मान र प्रशस्ति–पत्रदेखि आफूलाई अलग राख्ने प्रतिबद्धताका फलस्वरूप चिया कविता पुरस्कार स्वीकार नगर्ने घोषणा गरेको राईले बताएका छन्।
‘मैले धेरै अघि नै आफूलाई एउटा लेखकको रूपमा प्रदान हुने कुनै पनि पुरस्कार, अलङ्करण, प्रशस्ति-पत्रदेखि अलग राख्ने प्रतिबद्धता गरेको थिएँ। आज मलाई ‘चिया कविता’ पुरस्कारमार्फत सार्वजनिकरुपमा मेरो विचार व्यक्त गर्ने अवसर प्राप्त भएकामा म आभारी छु’, साहित्यकार खुसेन्द्र राईले भनेका छन्, ‘तथापि, म यसै अवसरमा आजीवन कुनै पनि साहित्यिक पुरस्कार ग्रहण नगर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छु।’
उनका अनुसार यस्तो निर्णय गर्नु पुरस्कारप्रति अनादर नभई, आफ्नो सैद्धान्तिक प्रतिबद्धता हो।
राईले भनेका छन्, ‘चिया कविता’ -जस्तो प्रतिष्ठित साहित्यिक संस्थाबाट पुरस्कृत हुनु निश्चय गौरवको विषय हो। यस्ता संस्थाबाट सम्मानका निम्ति छनोट हुनुमा म आफूलाई सम्मानित अनुभव गर्छु, र यसका निम्ति म सधैँ कृतज्ञ रहनेछु। तथापि, आफ्नो दीर्घकालिन विश्वास र प्रतिबद्धताप्रति निष्ठावान रहनु मेरो लागि अझ महत्त्वपूर्ण छ।’
साथै उनले कुनै योग्य सर्जकलाई छनोट गरी यस वर्षको पुरस्कार अर्पण गरियोस् भन्ने पनि चिया कविता समूहलाई अनुरोध गरेका छन्।
उल्लेखनीय छ, इस्वी १९७० मा पश्चिम सिक्किमको जुममा जन्मेका खुसेन्द्र राई चर्चित आख्यानकार हुन्। उनका ‘खुर्मी’ र ‘पिरती क्याफे’ गरी दुईवटा कथासङ्ग्रह र ‘मेरा एकाउन्न गजल’ र ‘जिन्दगी ए! जिन्दगी’ गरी दुईवटा गजलसङ्ग्रह प्रकाशित छन्। सरल र सहज भाषाशैली तथा विचारोत्तेजक प्रस्तुतिका कारण पाठकलाई अन्त्यैसम्म समाएर राख्ने लेखनविशेषता र वैशिष्ठ्यका धनी खुसेन्द्र राईको ‘जोगी’ उपन्यास प्रकाशनोन्मुख छ।

