सङ्गीतमार्फत दुई देशमा भाइचारा र बन्धुत्व छर्दै ‘वाणी’

0
1252
वाणी ब्यान्डका सदस्यहरू।

सिलगढ़ी, १५ मार्च  : भारत र नेपालका कलाकारहरूले सङ्गीतको माध्यमद्वारा आपसी सम्बन्ध विकासमा संयुक्त प्रयास गरेका छन्। बङ्गाल, सिक्किम र नेपालका कलाकारहरूको साङ्गीतिक ब्याण्ड ‘वाणी’-ले साँध-सीमानाको पर्खाल तोड़ेर पारम्परिक धुनद्वारा भाइचार र बन्धुत्वको सन्देश छोड़ेको छ।

डुवर्सका चर्चित कलाकार पुष्पन प्रधानको अगुवाइमा रहेको ‘वाणी’ 2012 मा स्थापित भएको हो। नेपालमा यसले ‘धिन धिना’ गीतमा प्रतिष्ठित पुरस्कार पनि जितिसकेको छ।

दुई राष्ट्रबीच आपसी भाइचारा र बन्धुत्व विकासमा यो ब्याण्डले साङ्गीतिक अभियानलाई तीव्रता दिएको छ। यस ब्याण्डका प्रमुख गायक हुन् पुष्पन प्रधान।

नेपाल आइडलमा हालै उनको एउटा गीतले चर्चा पाएपछि अहिले उनलाई विश्वभरि छरिएर बसेका नेपालीहरूले आ-आफ्ना ठाउँमा निम्तो गरिरहेका छन्। उनी लाइभ प्रदर्शनका लागि भारत, नेपाल, भूटान, सिङ्गापुर, हङ्कङका विभिन्न ठाउँमा पुगिसकेका छन्।

नेपालमा विभिन्न रियालिटी शोपछि अहिले पुष्पन आफ्ना नयाँ परियोजना लिएर व्यस्त छन्। मानव तस्करीविरुद्ध अभियान, घरेलु हिंसाविरुद्ध न्याय तथा अन्य सामाजिक सरोकारका मुद्दाहरूमा सकारात्मक सन्देश छर्न पुष्पनले केही परिकल्पना बुनेका छन्।

ब्याण्डका बास गिटारिस्ट तथा प्रबन्धक काकड़भिट्टा निवासी देवेन्द्र गौतमले भन्छन्, “यदि सङ्गीतले विश्वलाई जोड्न सक्छ भने दुई राष्ट्रबीच एकताको सन्देश किन छोड्न सकिँदैन? दुवै देशबीच एकैप्रकारको संस्कृति, परम्परा र मानिसका रूपरङ्ग पनि एकैप्रकारको छ। भारत र नेपालका मानिसहरूलाई सकारात्मक सन्देश दिन हामी भिडियो बनाइरहेका छौं।”

पुष्पन र देवेन्द्रबाहेक ब्याण्डका सदस्यहरूमा खरसाङका लिड गिटारिस्ट आमोस मुखिया, गान्तोकका ड्रमिस्ट नरेन्द्र बरदेवा, दार्जीलिङका जीवनप्रकाश प्रधान सामेल छन्। जीवन प्रकाश प्रधान मेण्डोलिन र म्युजिकल की बोर्ड बजाउनमा खप्पिस छन्। उनी सङ्गीतकार पनि हुन्।

“गीत बनाएर पैसा कमाउनु मात्र हाम्रो उद्देश्य होइन, तर अर्थपूर्ण गीतहरूद्वारा जाति, समाज र राष्ट्रमा परिवर्तन ल्याउने ध्येय हो। हामीले आर्जन गरेको धनराशिको केही प्रतिशत टुहुरा नानीहरूलाई दिने पनि हामीले योजना बनाएका छौं”, पुष्पनले भन्छन्।

यी पाँच युवाले काठमाडौंको साङ्गीतिक माहौलमा आफ्नो दह्रो पहिचान बनाइसकेका छन्। उनीहरूले देशभक्ति, पप, लोक भाकामा नियमित रूपमा साङ्गीतिक प्रस्तुति दिँदै आएका छन्।

‘धिन धिना’-बाहेक ठूल्दाजु, डम्पिङ ग्राउण्ड, इन्दुरे मिन्दुरे, चिमुसी चि, बाबुको जुँगो, चञ्चल चञ्चल, पन्छी आदि गीत तथा एल्बमले निकै चर्चा पाइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here