एसबीएसको स्वर्ण जयन्ती कार्यक्रम, चामलिङले भने – एसबीएसलाई आरबीआईको अधीनमा ल्याए सिक्किमको पुरानो कानून उड्छ

0
1061

गान्तोक, 8 सेप्टेम्बर : सिक्किम राज्य ब्याङ्क (एसबीएस) 1968 मा राजाको घोषणाद्वारा सिक्किमको पुरानो कानूनअन्तर्गत 371 एफको विशेष धाराले स्थापना भएकोले अनि अहिले पनि त्यही आधारमा सुरक्षित रहेकोले एसबीएसलाई भारतीय रिजर्भ ब्याङ्क (आरबीआई)-को अधीनमा ल्याउन नसकिने मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। मुख्यमन्त्री आज चिन्तनमा भवनमा एसबीएसको स्वर्ण जयन्ती वार्षिकोत्सव समारोहलाई सम्बोधन गरिरहेका थिए।
एसबीएसलाई आरबीआईको अधीनमा ल्याउनु मलाई रातदिनको दबाउ छ। केन्द्र सरकारबाट बारम्बार फोन गरेर वा दिल्ली बोलाएर आरबीआईको अधीनमा ल्याउन दबाउ दिइन्छ। पहिलाको प्रधानमन्त्री मनमोहन सिंह जो आफै पनि अर्थशास्त्री हुन्, उनले पनि मलाई एसबीएसलाई आरबीआईमा ल्याउन दबाउ दिएका हुन्। केन्द्रका कतिपय नेता एउटै देशमा दुईवटा कानून किन भनेर मलाई बारम्बार प्रश्न गर्छन्। अहिलेको सरकारले पनि मलाई यो विषयमा दबाउ दिइबस्छ। तर, मैले कूटनीतिक ढङ्गमा एसबीएसलाई बँचाएर राखेको छु। मैले सिक्किमको पुरानो कानूनलाई सुरक्षा दिने काम गरेको छु। एसबीएस आरबीआईको अधीनमा जानेबित्तिकै सिक्किमको पुरानो कानून उड़िहाल्छ। यस्तो हुनु दिनुहुँदैन। तथापि यहाँ केही मानिस हल्काफुल्का कुरा गरेर हिँड़िरहेका छन्। पुरानो कानून उड्यो भने सिक्किमको के दशा हुन्छ, त्यो उनीहरूले पनि सोच्नुपर्छ”, मुख्यमन्त्रीले स्पष्टसँग भने।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले अझ भने,“एसबीएसबाट सिक्किमे जनताले फाइदा उठाउनुपर्छ। एसबीएस सिक्किमको चिन्हारी हो। एसबीएसले पनि सिक्किमे जनतालाई चिन्हारी दिने काम गर्नुपर्छ। आज ब्याङ्कदेखि हाम्रा मान्छेहरू टाढ़ा भाग्ने गर्छन्। त्यसो गर्नुहुँदैन। ब्याङ्कको फाइदा लिनुपर्छ। ब्याङ्कबाट ऋण लगेको छ भने त्यस ऋणलाई समयमै चुक्ता गर्नुपर्छ। तर आज ऋणको माफी माग्दै मकहाँ आउने गर्छन्, यस्तो हुनुहुँदैन।उल्लेखनीय छ, राज्यमा एसबीएसलाई आरबीआई मातहतमा ल्याउनुपर्ने माग उठ्दै आएको छ। खासगरी पछिल्लो नोटबन्दीको समय आरबीआईको भूमिकालाई लिएर राज्यका विपक्षीहरूले निकै प्रश्न उठाएका थिए। 
यस क्रममा मुख्यमन्त्रीले राज्य सरकारका विभिन्न विकासमूलक कार्यमाथि पनि प्रकाश पारे। कार्यक्रमलाई एसबीएसका प्रबन्ध निदेशक एचके छेत्रीले सम्बोधन गर्दै एसबीएसको इतिहास तथा वर्तमान अवस्थाबारे अवगत गराए। उनले भने,“राज्यमा आज एसबीएसका 44 वटा शाखा र चौबीसै घण्टा कर सङ्ग्रह गर्ने तीनवटा केन्द्र अनि एउटा विस्तार काउन्टर छन्। अब एसबीएसले आफ्ना शाखाको सङ्ख्या बढ़ाएर 50 गर्नेछ।
 “31 मार्च, 2018 भित्र एक वर्षमा एसबीएसले 3500 करोड़ रुपियाँको कारोबार गरेको छ”, उनले थप जानकारी दिए।
समारोहलाई एसबीएसका अध्यक्ष केबी चामलिङले पनि सम्बोधन गरेका थिए। यसै अवसरमा एसबीएसले आफ्नो लाभांशमध्ये 18.92 करोड़को चेक मुख्यमन्त्रीलाई प्रदान गरेको छ। कार्यक्रममा एसबीएसको स्वर्ण जयन्ती समारोहलाई लिएर आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई सम्मान तथा पारितोषिक प्रदान गरिएको थियो। 
कार्यक्रममा विधानसभा उपाध्यक्ष सोनाम ग्याछो लेप्चा, मन्त्रीद्वय एसबी सुवेदी र डीटी लेप्चा एवं अन्यको पनि उपस्थिति रहेको थियो। 1968 मा स्थापित एसबीएसले गत वर्षदेखि एक वर्षव्यापी स्वर्ण जयन्ती कार्यक्रम आयोजन गरेको थियो, जसको आज विधिवत् रूपमा समापन भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here