पहिलो चरणमा एचएसपीद्वारा 6 उम्मेद्वारको घोषणा : दुई महिलासहित चार युवा उम्मेद्वार

0
1052
एचएसपीका उम्मेद्वारहरू।

गान्तोक, 15 मार्च :  हाम्रो सिक्किम पार्टी (एचएसपी)-ले शुक्रबार आफ्नो 6 जना उम्मेदवारको नाम घोषणा गरेको छ। गान्तोकको विकास क्षेत्रस्थित पार्टी कार्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा उम्मेदवारहरूको नाम घोषणा गरिएको छ। उम्मेदवारहरूलाई एचएसपी कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले खादा लगाएर बधाई तथा शुभकामना दिए।

एचएसपी अध्यक्ष डा. वीणा बस्नेतलाई पूर्व जिल्लाअन्तर्गत अप्पर तादोङ निर्वाचन क्षेत्रको उम्मेदवार बनाइएको छ। यसैगरी, एचएसपी उपाध्यक्ष डीएस लिम्बूलाई पश्चिम सिक्किमको याङ्थाङ निर्वाचन क्षेत्र, जिल्ला नारी अध्यक्ष कमला राईलाई दक्षिण सिक्किमको राङ्गाङ-याङ्गाङ, इन्द्रकुमार सूजीलाई पूर्व सिक्किमको पश्चिम पाण्डाम, अनुस राईलाई पूर्व सिक्किमको नाम्चेबुङ र पूर्व मन्त्री आथुप लेप्चालाई उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रबाट उम्मेदवार चयन गरिएको छ।

कार्यकारी अध्यक्ष भोटियाले आगामी केही दिनभित्र पार्टीका सबै उम्मेदवारको नाम घोषणा गर्ने बताए। उनले सबै जाति र क्षेत्रलाई हेरेर आज 6 जना उम्मेदवारको नाम घोषणा गरिएको बताए।

उनले भने, “पार्टीका अधिकांश उम्मेदवारहरू युवा रहनेछन्। हामी सिक्किममा नयाँ प्रकारले राजनीति गर्नेछौं। हाम्रो नारा नै नयाँ सिक्किम हो। हामी जात र हुद्दाको होइन, तर विकास मुद्दा लिएर चुनावी मैदानमा जानेछौं।’’

अर्कोतिर, उनले एचएसपीले मात्र सिक्किमे जनतालाई साँचो अर्थमा परिर्वतन दिनसक्ने दाबी गरे। एक प्रश्नको उत्तरमा उनले आफू पनि चुनावी मैदानमा ओर्लिने बताए।

यसैगरी, एचएसपी अध्यक्ष डा. बस्नेतले पहिलोपल्ट चुनावी राजनीतिमा आइरहेको बताउँदै एकदमै उत्साहित रहेको बताइन्। यसपालि सिक्किमका जनता कुनै प्रकारको प्रलोभनमा नआएर सिक्किमलाई सही दिशामा अघि बढाउने सक्ने उम्मेदवारलाई चयन गर्ने उनले आशा व्यक्त गरिन्। उनले मतदान गर्नअघि एकपल्ट सिक्किम र सिक्किमेको भविष्यलाई सोच्ने आह्वान पनि गरिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here