काउमा एसडीएफको जनसभा, उगेन ग्याछो भोटियाले भने – एसडीएफले छैटौंपटक सरकार बनाउनेछ

0
1216
काउमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै मन्त्री उगेन टी. ग्याछो भोटिया।

गान्तोक, 7 सेप्टेम्बर : राज्यका पर्यटन मन्त्री एवं तुमिन लिङ्गी निर्वाचन क्षेत्रका विधायक उगेन टी ग्याछो भोटियाले आगामी विधानसभा चुनाउ जितेर छैटौंपटक सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले सरकार बनाउने ठोकुवा गरेका छन्। एसडीएफले 2019 –मा सरकार बनाउने सन्दर्भमा  आफूहरू एक दुई प्रतिशत होइन, तर एक हजार प्रतिशत विश्वस्त रहेको मन्त्री भोटियाको भनाइ छ।
उनले शुक्रवारदेखि चुनावी अभियान शुरु गरेका छन्। यो अभियान अन्तर्गत् भोटियाले आफ्नो निर्वाचन क्षेत्रको काउमा एक जनसभा आयोजन गरेका थिए। यसअवधि उनले प्रमुख विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-प्रति तीव्र कटाक्ष गरे।
प्रजातन्त्रमा आफ्नो इच्छाअनुसार जनताले कुनै पनि पार्टीलाई समर्थन गर्नु पाउँछन्, तर एसकेएममा शालिनता छैन, भोटियाले थपे, उनीहरूमा मानवता छैन। उनीहरू सभ्य छैनन्। यसअवधि उनले एसडीएफलाई कञ्जनजङ्घासँग तुलना गरे। उनले भने, कञ्जनजङ्घा धेरै विशाल छ, त्यहाँ ससाना हिमपैह्रो जाँदा केही फरक पर्दैन। मन्त्री भोटियाले एसडीएफ प्रमुख एवं राज्यका मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सिक्किम सही दिशामा अग्रसर बनिरहेको र मुख्यमन्त्री देशमै सिक्किमेली जनताको शिर उच्च राख्ने काम गरेको दाबी गरे।
सिक्किमेली जनता धेरै बाठा भइसकेका छन्। जनता आफ्नो हक अधिकारका लागि आवाज उठाउनसक्ने भइसकेका छन्, उनले थपे, जनतालाई यति बाठा बनाउने एसडीएफ नै हो। एसडीएफले मात्र जनताको उज्ज्वल भविष्य सुनिश्चित गर्नसक्छ। भोटियाले गाउँ पस्ने नकारात्मक सोच भएकाहरूसँग होसियार बस्नुपर्ने जनतालाई आह्वान गर्दै यसका व्यक्तिहरूले आफ्नो पनि घर नबनाउने र अरूलाई पनि घर बनाउन नदिने बताए।
आफ्नो सम्बोधनको क्रममा मन्त्री भोटियाले अझ भने, “एक दार्शनिक नेताले नेतृत्व दिएको पार्टी हो एसडीएफ। मुख्यमन्त्री गौरीशंखसरह हुन् विपक्षीहरू नबज्ने शंख हो जसले केही दिॅंदैन। यस कारण जनताले दिन शंखलाई नै बजाउनुपर्छ।एसडीएफ सरकारले जनताका प्रत्येक बुनियादी सुविधाहरूलाई पूरा गर्ने काम गरेको उनले दाबी गरे। अर्कोतिर, मन्त्री भोटियाले राज शासनमा तुमिन लिङ्गी निर्वाचन क्षेत्र सबै क्षेत्रमा सर्वश्रेष्ठ थियो भन्दै क्षेत्रको गरिमालाई पुन: फर्काइल्याउने बताए। यद्यपि, यसका निम्ति क्षेत्रका जनताको पनि सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।
यस साथै मन्त्रीले क्षेत्र अनि वार्डको विकासका लागि पारित गरिएका विभिन्न योजनाको पनि जानकारी दिए। उनले यस ठाउॅंलाई अर्ग्यानिक फार्म टुरिज्मको रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउॅंदै स्थानीयहरूलाई सक्रिय बन्ने आह्वान गरे। यसैगरी, उनले आउॅंदो दिसम्बरसम्म स्थानीय मानिसहरूले राखेका सबै मागहरू पूरा गरिने आश्वासन दिए।
सभालाई एसकेएम पार्टी त्यागेर एसडीएफ पार्टीमा सामेल भएका टीडी काजीले पनि सम्बोधन गरेका थिए। उनले परिवर्तनको लागि एसकेएम पार्टीमा सामेल भएको, तर एसकेएम पार्टीमा सामेल भएपछि मुख्यमन्त्री पवन चामलिङ जस्ता नेता सिक्किममा नरहेको थाहा पाएको बताए। सभामा स्थानीय वार्ड पञ्चायत लगायत अन्यले विभिन्न मागहरू राखेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here