नयाँ दिल्ली, १६ मार्च : शनिबार राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच पद्म पुरस्कारले विभिन्न व्यक्तिलाई सम्मानित गरे। तीन वर्गमा प्रदान गरिने पद्म पुरस्कारमध्ये पद्मश्री पुरस्कारले गोर्खा गौरव सुनिल छेत्री र द्रौपदी घिमिरे पनि सम्मानित भएका छन्।
सुनिल छेत्री भारतीय फुटबल टीमको गोल मशिन हुन्। भारतीय फुटबलका लागि दिएको उल्लेखनीय योगदानलाई कदर गरी छेत्रीलाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको हो।
भारतीय टीमका कप्तानसमेत उनी वर्तमानका एक्टिभ फुटबलरमध्ये दोस्रो सर्वाधिक गोलकर्ता हुन्। गोलको मामिलामा सुनिल अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीभन्दा माथि तथा पोर्तुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डोभन्दा तल छन्।
अहिलेसम्म छेत्रीले १०५ खेलमा ६७ गोल गरिसकेका छन्। सुनिलको चमत्कारी खेलकै आड़मा टीम इण्डियाले तीन नेहरू कप, एएफसी च्यालेञ्ज कप, दुई साफ च्याम्पियनशीप जितेको छ।
अर्कोतिर द्रौपदी घिमिरे सामाजिक सेवाको क्षेत्रमा चर्चित अनुहार हुन्। उनले विकलाङ्गहरूको सेवामा आफ्नो जीवन खिप्ती गरिरहेकी छन्। सिक्किको राजधानी गान्तोक निवासी घिमिरेलाई उनले विकलाङ्गहरूको सेवामा पुऱ्याएको उल्लेखनीय योगदानका लागि पद्मश्री पुरस्कारले सम्मानित गरिएको हो।
विकलाङ्ग सहायता समिति सञ्चालन गरिरहेकी उनले अहिलेसम्म तीन हजारभन्दा अधिक विकलाङ्गलाई कृत्रिम अङ्गको व्यवस्था गरिसकेकी छन्।
उनीहरूबाहेक अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई पनि राष्ट्रपतिले आज पद्म पुरस्कारका तीनै वर्गका पुरस्कारद्वारा सम्मानित गरे।