कालेबुङ, १६ मार्च : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले हालमा पार्टी विस्तार र साङ्गठनिक सुदृढ़ीकरणमा लगातार कार्य गरिरहेको छ। यसैअनुरूप गोरामुमोका अध्यक्ष मन घिसिङको निर्देशनमा शनिबार गोरामुमो कार्यकारी कमिटीले गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो)-बाट ७ जना र गोर्खा राष्ट्रिय नारी सङ्गठन (गोरानासं) –बाट ६ जना प्रतिनिधि चयन गरेको छ।
कालेबुङको बाघधारामा आज सम्पन्न बैठकमा निक्कै लामो चर्चा परिचर्चापछि सर्वसम्मतिद्वारा गोरायुमो युवा एकाइको केन्द्रिय साङ्गठनिक समितिका लागि प्रशान्त सुब्बा, बुद्ध तामाङ, साङ्गे शेर्पा, रोहित राई, लाक्पा तामाङ, श्याम गौतम र प्रणय थापा चयन भएका छन्।
यसैगरी गोरानासं केन्द्रिय साङ्गठनिक समितिका लागि शकुन्तला मेरी, उमा राई, मञ्जु गुरुङ, अञ्जु तामाङ, शशिकला शेर्पा र सुभद्र राई चयन भएका छन्।
दुवै सङ्गठनका लागि चयनित प्रतिनिधिहरूलाई बधाई दिँदै गोरामुमो कालेबुङ कार्यकारी सचिव लोप्साङ लामाले पार्टी अध्यक्षको निर्देशनलाई शिरोपर गरी पार्टीका नीति सिद्धान्त र मुद्दालाई अघि बढ़ाउन सक्रिय भएर खट्ने आह्वान गरे।