ह्याप्पी भेल्ली चियाकमानमा जोइन्ट फोरमको गेटसभा

0
1328
ह्याप्पी भेल्ली चियाकमानमा चियाश्रमिकहरूसँग फोरमका नेताहरू । 

दार्जीलिङ, ६ सेप्टेम्बर : दार्जीलिङ र तराई-डुवर्सका चियाकमानहरूमा वर्क कल्चर एउटै भए तापनि ती श्रमिकहरूले पाउनुपर्ने दैनिक वेतन फरक रहेको अमर लामाले बताएका छन्। उनले दार्जीलिङ पहाड़का चियाश्रमिक जहिल्यै हेलाहोंचोको शिकार बन्नुपरेको बताए।
बुधवार जोइन्ट फोरमले स्थानीय ह्याप्पी भेल्ली चियाकमानमा आयोजन गरेको  गेट सभालाई सम्बोधन गर्दै लामाले यस आशयको बयान दिएका हुन्। लामाका अनुसार श्रमिक सङ्गठनहरूमा एकता नभएकोले पहाड़का चियाश्रमिकहरूलाई सरकार र मालिकपक्षले हेप्दै आइरहेको छ। जनसमर्थन प्राप्त राजनीतिक दल चियाश्रमिकहरूको  हितका लागि इमानदार नरहेको उनको भनाइ छ।
यसअवधि उनले परोक्ष रूपमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र यसको श्रमिक सङ्गठन दार्जीलिङ, तराई-डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू) –माथि पनि कटाक्ष गरे। परोक्ष भाषामा लामाले भने,  ‘‘हामीसँग जनसमर्थन छैन, तिमीहरूसँग जनसमर्थन छ, पैसा छ। हामीले श्रमिकहरूलाई सत्य कुरा बुझाउन खोजेका हौं, तिमीहरूले जस्तो झूटो कुरा गर्न खोजेका होइनौं।’’ आफ्ना पुर्खाहरूदेखि बस्दै आएका चियाश्रमिकहरूले सानो झोपड़ी बनाउनका लागि  कागजसमेत नपाएको तर चियागाछ उखेलेर पुँजीपतिहरूलाई करोड़ौं रुपियाँको होटल बनाउन अनुमति दिइरहेको पनि लामाले बताए।

संयोजक जेबी तामाङले चियाश्रमिकहरूको दैनिक रोज वृद्धिका लागि आलटाल गरिरहेका सरकार र मालिकपक्षले पुँजीवादी चियागाछ उखेलेर होटल बनाउने स्वीकृति दिइरहेकोमा आपत्ति जनाए। उनले आज श्रमिककहरूको दैनिक रोजको कुरा मात्र नरहेर चियाश्रमिकहरूले पाउनुपर्ने अन्य हक अधिकारको पनि रहेको बताए। धेरैजसो चियाकमानमा महिनाभरि रुझीभिझी काम गर्दा पनि श्रमिकहरूले समयमा वेतन नपाइरहेको पनि बताए। गोरामुमो मीडिया सेलका प्रभारी दिनेश साम्पाङले बताएअनुसार गेटसभालाई वाई लामा र सुनिल राईले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here