एसकेएममा ७४७ घर सामेल भएको दाबी : पार्टी एसकेएमले होइन, एसडीएफले बेचेको छ : गोले

0
1833
हि-बजारमा सम्पन्न सभामा उपस्थित एसकेएम समर्थकहरू।

गान्तोक, 17 मार्च : शनिवार  पश्चिम सिक्किमको मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रको हि बजारमा सम्पन्न एक सभाबाट सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का  अध्यक्ष पीएस गोलेले सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) र यसका अध्यक्ष एवं  राज्यका मुख्यमन्त्री पवन चामलिङ को तीखो शब्दमा आलोचना गरे।  यसअवधि उनले जनतासँग एसकेएमलाई पाँच वर्षको समय दिने अपील गरे।

गोलेले भने, “एसकेएमलाई 25 वर्ष चाहिँदैन। हामीलाई केवल पाँच वर्ष दिनुहोस्। राज्यका भ्रष्टाचारीहरूको सम्पत्ति कुड़्की गरी प्रत्येक सिक्किमेहरूको ब्याङ्क खातामा पाँच वर्षमा 5 लाख लगाइदिनेछौं। तानाशाही एसडीएफ सरकारले गरेको भ्रष्टाचारलाई हामी थन्को लगाउनेछौं।”

एसकेएम अध्यक्षले  यसपालिको चुनाउलाई एउटा पार्टी हटाएर अर्को पार्टीलाई सत्ता बसाउने चुनाउको रूपमा नलिएर 25 वर्ष जितेर बसेको राजतन्त्रलाई हटाएर प्रजातन्त्र स्थापना गर्ने चुनाउ रहेको बताउँदै सबै जनतालाई परिवर्तनको पक्षमा मतदान गर्ने आह्वान गरे।

मुख्यमन्त्री चामलिङविरुद्ध आक्रामक देखिएका एसकेएम अध्यक्षले भ्रष्टाचाररहित र पारदर्शी प्रशासनको नयाँ सिक्किम-उज्यालो सिक्किम बनाउनु एसकेएमले चाहेको बताए। एसकेएमले लिम्बू-तामाङको सीट आरक्षण रोकेको एसडीएफले ठोस प्रमाण दिए, उनको पार्टीले आगामी चुनाउ नलड्ने चुनौती पनि दिए।

गोलेले भने, “अहिलेका जनता सन् 1994 -का जनताजस्ता छैनन्। अहिलेका जनता 21औं शताब्दीका जनता हुन्। अब मुख्यमन्त्री तपाईंले नढाँट्नुहोस्। जनताले कुरा बुझिसकेका छन्। लिम्बू-तामाङ समुदायको सीट आरक्षण नहुनुको मुख्य कारण एसडीएफ सरकार इमानदार नभएकोले हो।”

उनले एसकेएम पार्टीको सरकार राज्यको सत्तामा आएपछि लिम्बू-तामाङ समुदायको सीट आरक्षण सिक्किम विधानमा गर्ने दाबी पनि गरे।

एसकेएम अध्यक्षले थप भने, “एसकेएमले पार्टी बेचेको छैन, तर चामलिङले एसडीएफ पार्टीलाई  घरी यूपीएसँग त घरी एनडीएसँग बेचेका छन्। मुख्यमन्त्री मुम्बईमा भएको भए ठूला नायक हुन्थे। किनभने उनी नाटक गर्नमा पोख्त छन्। उनी हिजो पछिल्लो 25 वर्षमा  पहिलोपटक सवारीमा चढ़ेर नाम्ची गए। यो नाटक हो।”

एसडीएफका सांसद पीडी राईले नागरिकता संशोधन विधेयकलाई समर्थन गरी  सिक्किमेहरूलाई जिउँदै खाड़लमा हाल्ने काम गरेको बताए। उनले भने, “तर यो विधेयकको एसकेएम पार्टीले विरोध गर्‍यो। एसडीएफलाई फेरि भोट दिएर जिताएको खण्डमा सिक्किम बर्बाद हुनेछ। जनता होशियार हुनुपर्छ। म भोट लड़्न र मुख्यमन्त्री हुनु आएको होइन। म सिक्किमेली आमा र सिक्किमेली जनतालाई बचाउन आएको हुँ।”

एसकेएमका प्रचार प्रसार महासचिव विकास बस्नेतले एक प्रेसविज्ञप्तिमार्फत् जानकारी गराएअनुसार आज सभाको अवसरमा विभिन्न पार्टी त्यागेर 747 परिवार एसकेएममा सामेल भएका छन्।

सामेल हुनेहरूमा हाम्रो सिक्किम पार्टी (एचएसपी)-का पश्चिम जिल्ला अध्यक्ष इन्द्रहाङ सुब्बा, गेजिङका सरकारी ठेकादार एनबी दाहाल, जूम सालघारी समष्टिका कौशल लोहागुन, नाम्ची-सिङ्गीथाङबाट केबी राई, स्यारीबाट मत्स्यपालन विभागका अवकाशप्राप्त संयुक्त निर्देशक डीबी राई, राङगाङ-याङगाङ समष्टिका स्वतन्त्र पञ्चायत सुखहाङ सुब्बा, एसआरएम पार्टीकी चेली संयोजिका डिकिला भोटिया, साङ्गे तामाङ र पूर्व पञ्चायत रामहाङ सुब्बा प्रमुख छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here