मुख्यमन्त्रीद्वारा दार्जीलिङ हिल युनिभर्सिटीको शिलान्यास

0
1033
चौरस्ताको कार्यक्रममा उपस्थित ममता ब्यानर्जी, विनय तामाङ तथा अन्य। 

दार्जीलिङ, 5 सेप्टेम्बरः मुख्यमन्त्री ममता ब्यानर्जीले आज चौरास्ताबाट दार्जीलिङ हिल युनिभर्सिटीको शिलान्यास राखिन्। विश्वविद्यालयसँगै उनले अन्य परियोजनाहरूको पनि शिलान्यास गरिन्। रिमोट कण्ट्रोलद्वारा विभिन्न परियोजनाहरूको शिलान्यास गरेपछि मुख्यमन्त्रीले दार्जीलिङले कुनै झगड़ा नगरी यसलाई अझ राम्रो बनाउनुपर्ने अनि रोगजार बढ़ाउने पर्यटन व्यवसायमा ध्यान दिनुपर्ने बताइन्।
आज दार्जीलिङका लागि राम्रो दिन हो। शिक्षक दिवसको अवसरमा आज एउटा विश्वविद्यालयको शिलान्यास गरिएको छ। विश्वविद्यालयको एउटा क्याम्पसको नाम तेञ्जिङ नोर्गेको नाममा अनि अर्को क्याम्पसको नाम भानुभक्त आचार्य र कञ्चनजङ्घाको नाममा राखिनेछ”, बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। विश्वविद्यालयका लागि 25 ऐकर जमिन प्रदान गरिएको छ। यो शुरु भएपछि यहाँ मानविकी, सामाजिक विज्ञान, मीडिया, विज्ञान, सूचना प्रौद्योगिकी, व्यावसायिक तालिम, टि म्यानेजमेन्ट, बागबानी, पर्यटन, हिमालयन अध्ययन आदि विषयहरू पढ़ाइनेछ। यहाँबाट सर्टिफिकेट र डिप्लोमा पनि प्रदान गरिनेछ”,मुख्यमन्त्रीले भनिन्। तकदाहको इञ्जिनियरिङ कलेज अहिले सञ्चालनमा नरहेकोले यसलाई नयाँ विश्वविद्यालयमै संलग्न गराउन सकिन्छ कि भनेर आफूले हेर्ने उनले बताइन्। 
उनका अनुसार, सात वर्षको अवधिमा राज्यमा 23 वटा विश्वविद्यालय बनेका छन् अनि नौवटा विश्वविद्यालय पनि चाँड़ै निर्माण गरिनेछ। मिदनापुर, हुगली, अलिपुरद्वार र झारग्राममा पनि विश्वविद्यालयहरू स्थापना गरिने उनले जनाइन्। अर्को वर्ष दार्जीलिङमा एसियाली सांस्कृतिक महोत्सव आयोजन गर्ने तथा त्यसमा थाइल्याण्ड, मलेसिया, नेपाल, भूटानसहित अन्य देशहरूले सहभागिता जनाउने उनले उल्लेख गरिन्। समतलका करिब एक करोड़ विद्यार्थीलाई साइकल प्रदान गरिएको जनाउँदै अर्कोपटक पहाड़ आउँदा पहाड़का 28 हजार विद्यार्थी (नवौदेखि बाह्रौंसम्म)-लाई रेनकोट र ब्याग दिने उनले घोषणा गरिन्। 
आज दशजना विद्यार्थीलाई उनले रेनकोट र ब्याग प्रदान गरिन्। मुख्यमन्त्रीका बाहुलीबाट दशजनालाई फरेस्ट राइट टाइटल प्रदान गरियो भने यो अधिकार 431 जनालाई प्रदान गरिने उनले बताइन्। पछि जिल्लापाल र जीटीएका अध्यक्ष विनय तामाङले यो अधिकार प्रदान गर्नेछन्। जनताले हल्लामा विश्वास गर्नुहुँदैन। हामीले यो कानूनअनुसार नै प्रदान गरेका छौं। यो काम सकिएपछि जमिनको रूपान्तरण प्रक्रिया थालिनेछ”,उनले भनिन्। मुख्यमन्त्रीले स्वप्न बर्मनकी आमालाई 10 लाख रुपियाँको चेक हस्तान्तरण गरिन्। जलपाइगढ़ी निवासी स्वप्नले हालै सम्पन्न एसियाली खेलमा स्वर्ण पदक जितेकी थिइन्। उनका भाइलाई पनि पर्यटन विभागमा नोकरी दिइनेछ। यदि स्वप्नले चाहिन् भने उनलाई पनि नोकरी दिइनेछ। मैले मन्त्री अरूप विश्वासलाई भनेकी छु-यस्ता खेल व्यक्तित्वहरूका लागि एउटा खेल नीति बनाउनुपर्छ, जसले गर्दा आगामी दिनमा उनीहरूले ओेलम्पिकमा सहभागिता जनाउन सकून्”, मुख्यमन्त्रीले भनिन्। 
वामफ्रण्ट सरकारले छोड़ेको 48000 करोड़ ऋणको भार आफ्नो सरकारको टाउकोमा परेको उनले बताइन्। मुख्यमन्त्रीले आज कन्याश्री प्रकल्पमा दुईजनालाई, शिखाश्री योजनामा एकजना, जनजाति वृद्ध भत्ता दुईजना, विकास बोर्डको 15 वटा घर योजनाको चेक र कावाखाली टाउनशिपका दुई भूमिहारालाई लीजको डीड प्रदान गरिन्। विकास बोर्डहरूलाई सुन्दर घर निर्माण गर्न अनि धनराशिको पचास प्रतिशत घर निर्माणमा लगाउन मुख्यमन्त्रीले निर्देश दिइन्। घरहरूलाई होमस्टे प्रकारको सुन्दर रूप दिन अनि यसबाट रोजगारी समस्या समाधान गर्न उनले सबैसँग आग्रह गरिन्। हामीले सानैबाट शुरु गर्नुपर्छ, जो पछि गएर ठूलो हुनेछ। तर हामीले त्यो मनबाटै गर्नुपर्छ। म दार्जीलिङको भलो चाहन्छु। प्रकृति नै तपाईंको ठूलो सम्पति भइदिएकोले तपाईंहरूले अरूलाई केही भन्नु छैन”, मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।
मुख्यमन्त्रीसँग मञ्च साझा गरेका जीटीए अध्यक्ष विनय तामाङ र अखिल भारतीय गोर्खा लीग (अभागोली) अध्यक्ष भारती तामाङले विश्वविद्यालयको बारेमा आफ्ना विचार राखे भने जन आन्दोलन पार्टी (जाप)-का अध्यक्ष डा. हर्कबहादुर छेत्रीले विश्वविद्यालयमा कस्तो प्रकारको विभाग खोल्नुपर्ने भन्ने विषयमा एउटा विशेषज्ञ कमिटी बनाउनुपर्ने मुख्यमन्त्रीलाई सुझाए। 
पहाड़का प्राथमिक र माध्यमिक विद्यालयहरूको गुणस्तरमा सुधारको खाँचो रहेको पनि छेत्रीले बताए। जब हामी राजनीति गर्छौं, त्यसबेला हामीले सङ्घर्ष गर्नुपर्छ, तर मित्रवत् व्यवहार गर्ने ठाउँमा मित्र पनि हुनुपर्छ। मित्रवत् ठाउँमा हामी सङ्घर्ष गर्दैनौं। यसको समझ नभएकोले पहाड़मा यस्तो द्वन्द्व हुन्छ। राम्रो शिक्षा प्रणाली नभएकोले पहाड़ पछौटे भएको हो। हामी राज्य विश्वविद्यालयद्वारा यसको गुणस्तर बढ़ाउन सक्छौं”,हर्कबहादुर छेत्रीले भने
ममताले राखिन् परियोजनाहरूको शिलान्यास
मुख्यमन्त्री ममता ब्यानर्जीले आज चौरास्ताको शहरी नवीकरण तथा मल (चरण-1)-को शिलान्यास गरिन्, जसको लागत 4.45 करोड़ रहेको छ। यसैगरी, एसएमसीअन्तर्गत तराई तारापद आदर्श विद्यालयमा 74.60 लाखको लागतमा सीमा पर्खाल, फुटपाथ र नाली निर्माण कार्यको पनि उनले चौरास्ताबाटै शिलान्यास गरिन्।
मुख्यमन्त्रीले मतिगड़ा विकास खण्डअन्तर्गत चम्पासरी ग्राम पञ्चायतमा 15 वटा पूर्वाधार योजनाहरूको शिलान्यास गरिन्, जसको लागत 72.50 करोड़ रुपियाँ रहेको छ। यसैगरी, रमासाल लाइनदेखि गिरिजा लाइनसम्म घोसपुकुरमा 1.60 करोड़ लागतको सड़क तथा सीसी फुटपाथ निर्माणको पनि मुख्यमन्त्रीले शिलान्यास गरिन्। मिरिक विकास खण्डअन्तर्गत 40.70 लाख लागतमा सिस्नेमा ब्ल्याक टप रोड, 1.43 करोड़को लागतमा डागापुर र सुकना चिया बगानबीच अलकत्रे सड़क र कल्भर्टको निर्माण हुनेछ। मुख्यमन्त्रीले कालेबुङको सर्किट हाउसमा एउटा डबल र दुईवटा सिंगल कटेजको निर्माण, जोरबङ्लो सुकियापोखरी खण्डअन्तर्गत लोरुङ धुरामा 25.26 लाखको लागतमा पेय जल योजना, दार्जीलिङको हिमालय माउन्टेनियरिङ इन्सिट्युटमा जिम्नाजियम आदिको शिलान्यास गरिन्। अर्कातिर, फाँसीदेवाको कचुबारी हाटमा 54.41 लाख लागतको नयाँ पूर्वाधार निर्माण, मतिगड़ाको बदलाभिट्टामा 10.12 लाखको लागतमा 233 वटा एडब्ल्यूसी, मतिगढ़ामा 30.35 लाखको लागतमा नौवटा पूर्वाधार योजना, 10 लाखको लागतमा ठाकुरलाइन न्यूचम्टामा 133 वटा एडब्ल्यूसीको मुख्यमन्त्रीले आज दार्जीलिङबाटै उद्घाटन पनि गरिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here