खरसाङ, 18 मार्च : चियाश्रमिक र कर्मचारीहरूको बक्यौता राशिसहित विभिन्न मागमा सोमबार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –को श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-ले लङभ्यु चियाकमानमा गेट सभा गऱ्यो।
यसअवसरमा एचपीडब्ल्यूयू अध्यक्ष जेबी तामाङ, गोरामुमो केन्द्रिय समिति सदस्य निमा लामा, लङभ्यु चियाकमानको एचपीडब्ल्यूयू अध्यक्ष श्रीमती कविता माझी, पङ्खाबारी-गिद्दे पहाड़ समष्टिका सचिव सुबोध पाखरिन र एचपीडब्ल्यूयू खरसाङ ब्राञ्च कमिटीका सचिव वीरेन्द्र छेत्री उपस्थित थिए।
गेट सभापछि पत्रकारहरूसँग बोल्दै जेबी तामाङले पूर्व घोषित कार्यक्रमअनुसार आज लङभ्यु चियाकमानमा गेट सभा गरेको बताए। उनले लङभ्यु चियाकमानका कर्मचारी र श्रमिकहरूले बक्यौता राशि नपाएको बताए। यसका साथै यहाँका श्रमिकहरूले पीएफ र ग्रेजुटीको पैसासमेत नपाएको बताए।
तामाङले अहिले विभिन्न नयाँ नयाँ नियम कानून बनाएर श्रमिकहरूलाई शोषण गरिरहेको आरोप लगाए।