दार्जीलिङ, 19 मार्च : साझा सहमतिको उम्मेद्वारका लागि दार्जीलिङका राजनीतिक पार्टीहरूबीच आम सहमति बन्न नसकिरहेको समयमबीचै ठूलो राजनीतिक घटनाक्रम देखापरेको छ।
नयाँ घटनाक्रमका अनुसार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोरामुमो) र मन घिसिङको नेतृत्वमा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले आगामी लोकसभा चुनाउ मिलेर लड़्ने भएका छन्।
दार्जीलिङको राजनीतिमा यी दुवै प्रमुख दल हुन्। यसैले पनि विमल-मनको गठबन्धन लोकसभा चुनाउमा ठूलो फ्याक्टर हुने बताइएको छ। सोमबार राति भूमिगत अवस्थामा रहेको गोजमुमो महासचिव रोशन गिरीले सन्देश पठाएर जानकारी गराएका छन्।
दार्जीलिङ, तराई-डुवर्सका मानिसहरूको बृहत्तर स्वार्थलाई ध्यानमा राखेर गोजमुमो-गोरामुमो एक भएको गिरीले बताएका छन्। गिरीका अनुसार दुवै दलले आज (मङ्गलबार) संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।
पत्रकार सम्मेलनको कहाँ र कति बजे हुने, त्यो भने गिरीले खुलाएका छैनन्। यसै पत्रकार सम्मेलनबाट यो गठबन्धनको औपचारिक घोषणा तथा आगामी दिनमा गरिने साझा कार्यक्रमबारे घोषणा गरिने बताइएको छ।
उल्लेखनीय छ, गोजमुमो र गोरामुमोको गठबन्धनले पहाड़को राजनीतिक परिदृश्य परिवर्तन हुने तय भएको छ। सन् 2007 –मा गोजमुमोको उदयपछि गोरामुमो र गोजमुमो एकाअर्काका कट्टर विरोधी थिए। यद्यपि यो राजनीतिक मतभेद र शत्रुता बिर्सेर यी दुई दल मिलेका छन्।
यता, गोरामुमो नेता तथा स्टेरिङ कमिटीका सदस्य अजय एड्वर्डले पनि पुष्टि गरेका छन्। उनले दार्जीलिङ, तराई-डुवर्सका मानिसहरूको हित र स्वार्थका लागि दुई दलले आगामी लोकसभा चुनाउमा मिलेर लड़्ने कुरामा एकमत भएको गुरुङको भनाइ छ।
हिजो सालबारीमा राष्ट्रिय गोर्खाल्याण्ड कमिटीले डाकेको सर्वदलीय बैठक असफल भएपछि असफल भएपछि नै गोरामुमो-गोजमुमोको गठबन्धनमाथि मोहोर लागेको सूत्रले बताएको छ।
यो महत्त्वपूर्ण राजनीतिक घटनाक्रम हिजो राति भएको बताइए तापनि यसको अभ्यास केही समयअघि नै चलिरहेको थियो भन्ने सूत्रको दाबी छ।
अर्कोतिर विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाले पनि यो गठबन्धनलाई स्वागत जनाउँदै पहाड़का दुई प्रमुख राजनीतिक दलले आ-आफ्नो राजनीतिक मतभेद र महत्त्वाकांक्षा त्यागेर जातीय अस्मिता बचाउन एकसाथ खड़ा हुने लिएको निर्णयलाई समयसापेक्ष बताएको छ।
युवा मोर्चाले पार्टी अध्यक्ष विमल गुरुङलगायत सबै नेतृत्ववर्ग तथा गोरामुमोका अध्यक्ष मन घिसिङ, प्रवक्ता नीरज जिम्बालगायत सम्पूर्ण नेतृत्ववर्गप्रति आभार पनि प्रकट गरेको छ।