गान्तोक, 19 मार्च : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) मन घिसिङको नेतृत्वमा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को गठबन्धनले आगामी लोकसभा चुनाउमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने घोषणा गरेको छ।
मङ्गलबार दिल्लीस्थित प्रेस क्लब अव् इण्डियामा संयुक्त पत्रकार सम्मेलनको आयोजन गरी गोरामुमो प्रवक्ता नीरज जिम्बा र गोजमुमोका डा. बिनु सुन्दासले यस्तो घोषणा गरे।
उल्लेखनीय छ, साझा सहमतिको उम्मेदवारका लागि दार्जीलिङका राजनीतिक पार्टीहरूबीच आम सहमति बन्न नसकिरहेको समयबीचै सोमवार राति ठूलो राजनीतिक घटनाक्रम देखापरेको थियो।
नयाँ घटनाक्रमका अनुसार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोरामुमो) र मन घिसिङको नेतृत्वमा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले आगामी लोकसभा चुनाउ मिलेर लड़्ने घोषणा गरेको थियो। यद्यपि कसलाई समर्थन गर्ने त्यो भने दुवै दलले बताएका थिएनन्।
यसैबीच, आज दुवै दलले प्रेस क्लब अव् इण्डियामा संयुक्त पत्रकार सम्मेलन आयोजन गरी आगामी लोकसभा चुनाउमा भाजपालाई समर्थन गर्ने घोषणा गरे। पत्रकार सम्मेलनमा गोजमुमोको पक्षबाट कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा, डा. बिनु सुन्दास र नवाङ राई तथा गोरामुमोको पक्षबाट पार्टी प्रवक्ता नीरज जिम्बा, एनबी छेत्री उपस्थित थिए।
पत्रकारहरूलाई सम्बोधन गर्दै नीरज जिम्बाले भने, “हामी परस्परको मतभेद र राजनीतिक शत्रुता भुलेर जातीय हितका लागि एक भएका छौं। यो हाम्रो गठबन्धन जातीय स्वार्थका लागि हो। गोर्खा जातिको सपना र एकमात्र मुद्दा दबाउनलाई ममता-विनय एक हुनसक्छन् भने जाति, माटो र मुद्दाका लागि हामी किन मिल्न सक्दैनौं? मुद्दा रह्यो भने जाति रहन्छ। जाति रहे मात्र राजनीति। यसैले जाति र माटोलाई आइपरेको सङ्कटमा हामी आ-आफ्नो मतभेत भुलेर एक भएका हौं। हामी एक भएर दार्जीलिङ, तराई-डुवर्सका जनताको बृहत्तर हितका लागि कार्य गर्नेछौं।”
जिम्बाले गोर्खा जातिविरोधी शक्तिलाई पराजित गर्न गोजमुमो-गोरामुमो एक भएको पनि स्पष्ट पारे। उनले पत्रकारहरू अघि ‘भूमिपुत्र’-बारे अर्थ्याए। जाति र माटोका लागि कामै नलाग्ने ‘भूमिपुत्र’-भन्दा गोर्खा जातिलाई काम लाग्ने बाहिरका पुत्र नै राम्रो रहने जिम्बाको भनाइ थियो। एक प्रश्नको उत्तरमा एकैजना गोर्खा बाँचे पनि गोर्खाल्याण्डको माग र मुद्दा बाँचिरहने पनि बताए।
जिम्बाले भाजपालाई मुद्दाबारे एक ज्ञापन पनि चढ़ाउने बताए। अघिल्लो चुनाउमा गोर्खाहरूको दीर्घलम्बित मागलाई सहानुभूतिपूर्वक विचार गरिनेछ भनी घोषणा-पत्रमा उल्लेख गर्ने भाजपा गोर्खाहरूको मागलाई यसपटक ठोस रूपमा सम्बोधन गर्ने कुरामा आशा व्यक्त गरे।
अर्कोतिर, गोजमुमोका बिनु सुन्दासले पार्टीभन्दा माथि उठेर गोजमुमो र गोरामुमोले गठबन्धन गरेको बताए। “यो जाति र माटोका लागि महत्त्वपूर्ण निर्णय हो”, उनले भने। यसअवधि उनले दार्जीलिङ पहाड़मा बङ्गाल सरकारले गरिरहेको अन्याय-अत्याचारबारे पनि दिल्लीका पत्रकारहरूलाई बुझाए। यसका साथै डा. सुन्दासले भाजपालाई समर्थन गर्नु औचित्य र आवश्यकताबारे पनि बताए।