10 अप्रेलमा ममता पहाड़ आउने : हामी भाजपालाई ‘फोरफिट’ बनाउनेछौं : विनय तामाङ

1
1823
जनसभामा उपस्थित गोजमुमो-तृणमूलका नेतृत्वहरू।

दार्जीलिङ, 19 मार्चः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 10 अप्रेलको दिन दार्जीलिङ संसदीय क्षेत्रका उम्मेदवार अमरसिंह राईको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्नेछिन्। लेबोङमा मङ्गलबार पार्टी समर्थकहरूलाई सम्बोधन गर्दै विनय तामाङले यसप्रकारको जानकारी दिए। जनसभामा टीएमसी पर्यवेक्षक अरूप विश्वास र टीएमसी नेता तथा पर्यटन मन्त्री गौतम देव विशेष रूपमा उपस्थित थिए।

“10 अप्रेलको दिन ममता ब्यानर्जीले मोटर स्ट्याण्डमा जनसभालाई सम्बोधन गर्नेछिन्। हामी त्यसदिन भाजपालाई हाम्रो शक्ति देखाउनेछौं। नाम घोषणा हुनेबित्तिकै राईको स्वागतमा बाघडुग्रादेखि दार्जीलिङसम्मै उर्लेको भीड़ले कति धेरै जनता हाम्रो समर्थनमा छन् भन्ने कुरा दर्शाउँछ। आफ्ना उम्मेदवार घोषणा भएपछि भाजपालाई पनि हेरौं, उसलाई कति जनताले बाघडुग्रादेखि दार्जीलिङसम्म स्वागत गर्ने रहेछन्। यद्यपि उनीहरूले जनता हायरमा चाहिँ नल्याउन्”, जनसभालाई सम्बोधन गर्दै विनय तामाङले भने।

उनले अझ भने, “भाजपाले लामो समयदेखि हामीलाई धोका दिँदै आएको छ। हामीलाई बोरामा सुतायो। दुईपटक उसलाई सांसद दिँदा पनि हामीलाई केही दिएन। पहिलोपटक केही समयका लागि जसवन्त सिंह दार्जीलिङ आए। दोस्रोपटक शुरुका समय एसएस अहलुवालिया पर्यटकजस्तो भएर दार्जीलिङ आए। त्यसपछि उनी यहाँ आएनन्। यसपालि अमित शाह उठुन् वा नरेन्द्र मोदी, दुवैको जमानत जफत हुनेछ”, तामाङले भने।

ठूलो मार्जिनले दार्जीलिङ संसदीय सीट जितेर भाजपालाई अचल बनाउने उनले दाबी गरे। “पहाड़का विभिन्न राजनीतिक पार्टीहरू एकजुट हुने प्रयास गरिरहे पनि अब उनीहरूबीच तीनवटा पार्टीमात्र बाँचेको अनि त्यसमा पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दिल्ली पुगेको उनले बताए। “हामीले जब भूमिपुत्रको घोषणा गर्‍यौं, उनीहरू समस्यामा परे। अहिले उनीहरू मौन छन्”,मोर्चा नेताले भने। उनले आफूले टीएमसीको प्रचारमा अलिपुरद्वार जाने पनि बताए। उल्लेखनीय छ, डुवर्सको अलिपुरद्वार जिल्लामा गोर्खा मतदाताहरूको ठूलो सङ्ख्या रहेको छ। टीएमसी र मोर्चा एक भएपछि अब कसैले हराउन नसक्ने तामाङले ठोकुवा गरे।

अर्कातिर, तृणमूल नेता अरूप विश्वासले भने, “यो गठबन्धनले पहाड़ र समतलमा गठजोड़को सम्भावना बढ़ेको छ। भाजपासँग यसको विरोधमा केही छैन। मोदी आफैले गोर्खाहरूको सपनाको कुरा गरेका थिए, 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिन्छु भनेका थिए। तर राज्य सरकारले सिफारिश गरेर पनि अन्ततः भाजपाले केही दिएन। उनले सपना देखाए, तर व्यवहारमा केही गरेनन्।”

भूमिपुत्र उम्मेदवारका कारण अमरसिंह राईलाई सहजै भेट्न सकिने बताउँदै अहुवालियालाई जनताले अहिले पनि खोजिरहनु परेको उनको जनाए।

“यदि ममता ब्यानर्जी अनेकौंपटक दार्जीलिङ आउन सक्छिन् भने अहलुवालिया किन आउन सक्दैनन्?”,विश्वासले प्रश्न गरे। ममता ब्यानर्जीलाई भारतको आगामी प्रधानमन्त्री बनाउन सबैले सहयोग गर्नुपर्ने उनले आह्वान गरे।

सभालाई सम्बोधन गर्दै गोजमुमोका महासचिव अनित थापाले भाजपाका उम्मेद्वारलाई सुकनामा नै चेकपोस्ट लगाएर रोक्ने चेताउनी दिए। तृणमूल कङ्ग्रेसले अमरसिंह राईलाई उम्मेद्वार बनाएर यो पार्टी कहिले पनि गोर्खाविरोधी नरहेको प्रमाणित गरेको थापाले दाबी गरे।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here