दार्जीलिङ, 20 मार्च : दार्जीलिङ लोकसभा क्षेत्रका कङ्ग्रेस उम्मेदवार शङ्कर मालाकारको पक्षमा चुनाउ प्रचार गर्नका लागि पार्टी अध्यक्ष राहुल गान्धी दार्जीलिङ आउनेछन्। बुधवार दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै मालाकारले यस्तो जानकारी गराएका हुन्।
“हाम्रा पार्टी अध्यक्ष राहुल गान्धीले पहाड़ आउने कुरामा सहमति दिएका छन्। हामी हाम्रा नेताहरूसँग स्थानबारे कुराकानी गनेर्छौं। सरसल्लाह गर्नेछौं। हामी तारिख निश्चित गरेर हाइ कमानमा पठाउनेछौं”, उनले भने।
उनका अनुसार दार्जीलिङमा राहुल गान्धीको जनसभा हुनेछ। कालेबुङमा राज बब्बर नभए ज्योतिराज सिन्धिया आउनेछन्। कङ्ग्रेस उम्मेदवार शङ्कर मालाकारले थप बताएअनुसार सिलगढ़ीमा कमलनाथ र चोपड़ामा गुलाम नबी आजाद र नक्सलबारीमा स्टार प्रचारकले चुनावी जनसभालाई सम्बोधन गर्नेछन्।
पहाड़का सबै राजनीतिक दलका नेताहरूसँग मैत्रीपूर्व सम्बन्ध रहेको बताउँदै कङ्ग्रेसलाई समर्थन गर्नका लागि उनले सबैसमक्ष अपील गरे।
“यो चुनाउ क्षेत्रीय मुद्दाहरूका लागि होइन। देश बचाउने चुनाउ हो। यो चुनाउ राहुल गान्धीलाई प्रधानमन्त्री बनाउने र मोदीलाई सत्ताबाट हटाउने चुनाउ हो। यदि मोदीलाई कसैले सत्ताबाट हटाउनसक्छ, त्यो कङ्ग्रेस पार्टी हो”, उनले भने।
पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जीलिङका वरिष्ठ कङ्ग्रेसी नेता एवं पूर्व सांसद दावा नर्बुलालगायत अन्य नेताको आशिर्वाद लिन आज दार्जीलिङ आएको बताए।