दार्जीलिङ, 27 मार्च : रातोरात गोर्खाल्याण्ड भनेर चुनाउमा उठ्ने उम्मेद्वारहरूको पक्षमा भोट गएको खण्डमा पहाड़का जनतामा प्रजातान्त्रिक प्रणाली र सोचको विकास भएको छैन भन्ने कुराको दह्रोसँग प्रमाणित हुने जनआन्दोलन पार्टी प्रमुख एवं लोकसभा उम्मेदवार डा. हर्कबहादुर छेत्रीले बताएका छन्।
बुधबार जनसंवादसँग कुराकानी गर्दै उनले भने, “आगामी लोकसभा चुनाउमा दार्जीलिङ पहाड़का मुद्दा र समस्याहरूलाई संसदमा बलियोसँग राख्नसक्ने जनप्रतिनिधि चाहिएको हो। पार्टी र व्यक्तिगत स्वार्थ बोक्ने व्यक्ति होइनन्।”
डा. हर्कका अनुसार जापले अन्तिमसम्मै साझा सहमतिको उम्मेद्वारका लागि पहल गरेको हो। “हामीले साझा उम्मेवारका लागि अन्तसम्मै पर्खिने काम गर्यो। जापले दुईवटा दललाई यसको जिम्मा पनि लगाएको हो”, छेत्रीले भने, “तर एउटा पार्टीले शुरुमा नै आफ्नो उम्मेद्वारको नाम घोषणा गर्यो, अर्को दल साझा मञ्च त्यागेर दिल्लीतिर गयो। यस्तो भएपछि जनताको माग र समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखेर जाप चुनाउमा ओर्लेको हो।”
जाप अध्यक्षका अनुसार भाजपा र तृणमूल कङ्ग्रेसका उम्मेद्वार जिताएमा पहाड़वासीका लागि केही फाइदा हुनेछैन। उल्टै नोक्सान हुनेछ। तृणमूल र भाजपा दुवै गोर्खा र गोर्खाल्याण्डविरोधी पार्टी हो।
छेत्रीले भने, “केन्द्रमा सत्तासीन भाजपाले गोर्खालाई सपना देखाएर 10 वर्ष विश्वासघात गरेको छ। आन्दोलनकालमा रमिता हेरेर राज्यलाई दमन गर्न प्रत्यक्ष सहयोग गरेको छ। त्यस्तै राज्यको तृणमूल कङ्ग्रेसले गोर्खाल्याण्ड राज्य कदापि गठन हुँदैन भन्छ। बङ्गाल विभाजन हुनदिने छैनौं भन्छ। गोर्खाल्याण्ड माग्नेलाई गोली ठोक्छ। बिनाकारण जेल हाल्छ। यसैले हाम्रो आफ्नै मान्छे सांसद हुनुपर्छ भन्ने जापको ठहर हो। हाम्रो मान्छेले मात्र हाम्रो समस्यालाई र मागलाई अरूअघि राम्ररी बुझाउन सक्छ। संसदमा हाम्रो माग र समस्यालाई इमानदारसँग राख्नसक्छ। यो माग र समस्याको जनावाजलाई चर्को बनाउन सक्छ।”
एक प्रश्न उत्तरमा उनले दार्जीलिङका जनता सचेत छ भने आफ्नो माग र समस्याका लागि समुचित पहल गर्नसक्ने योग्य उम्मेदवारलाई भोट गर्ने बताए। नभए भीड़को पछि लाग्ने जनता र दार्जीलिङको भविष्य कतातिर जाँदैछ भन्ने कुरा उनीहरू (जनता)-ले नै बुझ्नुपर्ने डा. हर्कको भनाइ छ।
उनले भने, “दार्जीलिङ लोकसभा सीटबाट धेरै उम्मेद्वार छन्। को सही छन्, को योग्य छन्? भन्ने कुरा खुट्याउने जिम्मा जनताको हो।”
अर्कोतिर छेत्रीका अनुसार जापले हिजैदेखि चुनाउ प्रचार शुरु गरेको छ। आज जाप उम्मेदवार छेत्रीले सुकेपोखरी र पोख्रेबुङ क्षेत्रमा चुनाउ प्रचार गरे।
यसअवसरमा जाप महासचिव नयन प्रधान, र जाप युवा एकाइका महासचिव भूपेन राई पनि विशेष रूपले उपस्थित थिए। चुनाउ प्रचारअवधि दुवै क्षेत्रका जनतालाई सम्बोधन गर्ने क्रममा छेत्रीले यसपालिको चुनाउमा जनआन्दोलन पार्टीको उम्मेदवार पराजित भएको खण्डमा जन आन्दोलन पार्टीको उम्मेदवार मात्र नहारेर गोर्खाको माग र गोर्खाको अस्तित्व र चिन्हारी हार्ने ठोकुवा गरे।
यसका साथै उनले साँचो अर्थमा गोर्खाल्याण्ड माग्नेहरू कति
रहेछन् भन्ने कुरा यसपालि स्पष्ट भएको पनि उनको भनाइ छ। यसपालि छुट्टै राज्य माग्न
चाहनेहरूलाई जापले एउटा विकल्प दिएको पनि उनले बताए।
“यदि छुट्टै राज्य चाहिँ एउटा नारा मात्र हो, तर वास्तवमा चाहिँ रोजगार, विकासहरू नै हो भने हाम्रो भन्नु केही छैन”, छेत्रीले भने।