दार्जीलिङ, 29 मार्च : स्वतन्त्र उम्मेद्वारको रूपमा आगामी लोकसभा चुनाउमा खड़ा भएका स्वराज थापाले शुक्रबार आफ्नो नामाङ्कन फिर्ता लिएका छन्।
आगामी 18 मार्चको दिन हुने लोकसभा चुनाउका लागि नामाङ्कन पत्र फिर्ता लिने आज अन्तिम दिन थियो। नामाङ्कन फिर्ता लिने समय सकिनभन्दा केही घण्टा अघि नै उनले आफ्नो नामाङ्कन पत्र फिर्ता लिए।
नामाङ्कन-पत्र फिर्ता लिएपछि जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै थापाले भने, ‘‘मैले चुनाउमा प्रतिद्वन्द्विता गर्नका लागि नामाङ्कन पत्र भरेको होइन। पहाड़मा पनि लोकसभाका लागि उम्मेद्वार हुनसक्ने धेरै योग्य व्यक्ति छन् भन्ने बलियो सन्देश राष्ट्रिय पार्टीहरूलाई दिनका लागि नै मैले नामाङ्कन भरेको थिए। र यो सन्देश लिइसकेको छु। त्यसै आज नामाङ्कन फिर्ता लिएको हुँ।’’
थापाले जनतालाई आगामी लोकसभामा चुनाउमा सचेत भएर भोट हाल्ने अपील पनि गरेका छन्। उनका अनुसार आगामी चुनाउ गोर्खा जातिका लागि महत्त्व रहेकोले गोर्खाल्याण्डविरोधी शक्तिलाई पराजित गर्न पहाड़वासीले मताधिकारीको प्रयोग गर्न पर्नेछ।
‘‘हाम्रो माग र सपना गोर्खाल्याण्ड हो। त्यसैले यो चुनाउमा गोर्खाल्याण्डविरोधी शक्तिलाई पराजित गर्ने हामी सबैको जिम्मेवारी हो। जनताले सचेत भएर आफ्नो मताधिकार प्रयोग गरुन्’’, थापाले थपे।
उनले नामाङ्कन पत्र फिर्ता लिए तापनि कुन उम्मेद्वारलाई समर्थन गर्ने भन्ने कुरा पनि खुलाए। अहिले यसबारे घोषणा गरिहाले हतारो हुने उनको भनाइ छ।
उनले भने, ‘‘गोर्खाल्याण्डलाई मेरो भोट जानेछ। जसले गोर्खाल्याण्डका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछ। र जुन पार्टीले हाम्रो माग र सपनालाई सम्बोधन गर्ने वचनबद्धता जाहेर गर्छ। उसैलाई मेरो भोट जानेछ। भोट आउन अझै केही दिन बाँकी छ। यसैले अहिले नै यो पार्टी र यी उम्मेद्वारलाई समर्थन गर्छु भन्नु अलिक हतारो हुनेछ।’’