आरबी राईद्वारा नामाङ्कन फिर्ता : क्रामाकपाले चाँड़ै ‘ऐतिहासिक निर्णय’ लिने

0
1230
क्रामाकपा अध्यक्ष आरबी राई (फाइल फोटो)।

दार्जीलिङ, 29 मार्च  : आगामी लोकसभा चुनाउका लागि चुनाउ मैदानमा खड़ा भएका क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) उम्मेद्वार आरबी राईले शुक्रबार नामाङ्कन फिर्ता लिएका छन्।

आज नामाङ्कन-पत्र फिर्ता लिने अन्तिम दिन उम्मेद्वार राईले आफ्नो उम्मेदवारिता फिर्ता लिएका हुन्।

खण्डित जनमत हुने खेलमा  उतार्न अनुचित ठानेर जातीय हित, एकताको यो ऐतिहासिक कालखण्डमा क्रामाकपाले आफ्ना उम्मेद्वार आरबी राईको  उम्मेदवारितालाई 17औं लोकसभा चुनाउबाट फिर्ता लिने ऐतिहासिक निर्णय लिन बाध्य बनेको गोविन छेत्रीले बताएका छन्।

क्रामाकपा प्रवक्ता एवं चुनाउ संयोजक गोविन छेत्रीले आरबी राईले नामाङ्कन फिर्ता लिएकोबारे एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘‘गोर्खा जातिको राजनीतिक सुरक्षा र राष्ट्रिय चिह्नारीको माग छुट्टै राज्य गोर्खाल्याण्ड दाबी पूरा गर्न जन्मेको  क्रामाकपा पार्टीले जन्मकालदेखि नै जातीय हितमा ऐतिहासिक निर्णय लिएको इतिहास साक्षी छ।’’

छेत्रीले विज्ञप्तिमा थप लेखेका छन्, ‘‘राज्यको दमन, उत्पीड़न र जेल नेलको पीड़ा खप्नु परेको जातीय एकीकरण हुनुको सट्टा खण्डित-विखण्डित  भइरहेको अवस्थामा शोषणविरुद्ध एकबद्ध हुन साझा उम्मेदवारको भरमग्दुर प्रयास गरे तापनि  राजनीतिक स्वार्थ र अहंकारको कारण एकता बन्न सकेन।’’

क्रामाकपाले अध्यक्ष आरबी राईलाई उम्मेदवार घोषणा गरे पनि  साझा सहमति बने उम्मेद्वारिता फिर्ता लिने निर्णय गरेको, तर विडम्बना सहमति हुन नसकेकोले राईले खण्डित जनमतको खेलमा नउत्रिने निर्णय स्वरूप उम्मेद्वारिता फिर्ता लिएको गोविन छेत्रीको भनाइ छ।

क्रामाकपाले उम्मेद्वारिता फिर्ता लिए पनि गोर्खा जातिको चिह्नारी र राष्ट्रिय सुरक्षाको सवालमा भरपर्दो प्रतिबद्धता नपाउञ्जेल कुन दललाई समर्थन गर्ने भन्ने निर्णय थाँतीमा नै राखेको उनले बताएका छन्।

छेत्रीका अनुसार क्रामाकपाले यसबारे आगामी दुई-चारभित्रै निर्णय गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here