गोरामुमोले ममतालाई नभेट्ने, नीरज जिम्बाले भने – सौजन्यमूलक भेटघाटमा गोरामुमोलाई कुनै रूचि छैन

0
1203
गोरामुमो नेता नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, 4 सेप्टेम्बर  : पहाड़ भ्रमणमा रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले भेट्ने छैन। मुख्यमन्त्रीको कार्यक्रममा गोरामुमोलाई निम्तो भए पनि सौजन्यमूलक भेटमा गोरामुमोले चासो नदेखाएको हो। मङ्गलवार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै गोरामुमो नेता नीरज जिम्बाले भने,  गोरामुमोले मुख्यमन्त्रीलाई भेट्ने छैन। उनका अनुसार गोरामुमोसँग अहिले मुख्यमन्त्रीलाई भेट्नुपर्ने विशेष एजेन्डा छैन। पार्टीको जुन एजेन्डा छ, त्यसलाई लिएर अघिबाटै गोरामुमोले धेरैपटक मुख्यमन्त्रीलाई भेटिसकेको छ।
मुख्यमन्त्रीसँग सौजन्यमूलक भेटघाट गर्नु गोरामुमोलाई कुनै रूचि छैन। हामी एजेन्डा लिएर आधिकारिक रूपमा मात्र मुख्यमन्त्रीलाई भेट्नेछौं, जिम्बाले थपे, एजेन्डा नभएपछि सौजन्यमूलक भेटघाट गर्नु औचित्य छैन। हामीले हाम्रो प्रमुख एजेन्डाबारे मुख्यन्त्रीलाई धेरैपटक भेट्यौं। हाम्रो र पहाड़वासीको प्रमुख एजेन्डा र माग के हो मुख्यमन्त्रीले बुझिदिऊन्।
उनका अनुसार अहिले पार्टी अध्यक्ष मन घिसिङ व्यक्तिगत कारणले दार्जीलिङ बाहिर छैन। यसैले पनि गोरामुमोले मुख्यमन्त्रीलाई भेट्ने आवश्यकता देखेको छैन। सोमवार बेलुकी मुख्यमन्त्री दार्जीलिङ आएकी हुन्। 5 सेप्टम्बरको दिन चौरस्तामा भव्य कार्यक्रम राखेको छ, जुन कार्यक्रममा गोरामुमोलाई पनि निम्तो गरेको बताइएको छ, तर गोरामुमोले यसबाट आफूलाई पर राख्ने रणनीति अपनाएको छ।
अर्कोतिर उनले आइतवार राति रोशन गिरीको घरदेखि गरिएको टुनामुना र धम्कीपूर्ण  चिट्ठीको पनि तीखो शब्दमा निन्दा गरेका छन्। साथै गोरामुमो यस्तो घृणित र व्यक्ति प्रतिशोधको राजनीतिलाई जहिल्यै नकार्ने उनले बताएका छन्।

हामी व्यक्ति प्रतिशोध तथा यस्तो टुनामुना र धम्कीपूर्ण पत्रको विरोधमा छौं। यस्तो राजनीतिलाई जहिल्यै गोरामुमोले विरोध गर्छ। गोरामुमो व्यक्ति प्रतिशोधको राजनीतिको विरोधमा छ, उनले थपे, दार्जीलिङको राजनीतिमा शिष्टाचार आउनुपर्छ। दल परिवर्तन गरेर मात्र केही हुँदैन, तर मानसिकता परिवर्तन गर्नुपर्छ। गोर्खाल्यान्डका कुरा गर्नेहरूले टुनामुना र धम्कीपूर्ण पत्र लेखेर घरका वृद्धा र बालक बालिकाहरूलाई तर्साउने कार्य गर्नु निन्दानीय कुरा हो।
उनका अनुसार गोरामुमोले व्यक्तिगत प्रतिशोधको राजनीतिमा विश्वास राख्दैन। गोरामुमो नेता जिम्बाले यो घटनामा संलग्न दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्ने माग पनि प्रशासनसमक्ष गरेको छ। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here