खरसाङ, ३० मार्च : वरिष्ठ साहित्यकार असित राईको शुक्रबार राती निधन भएको छ। ७६ वर्षीय राईको निधन हिजो राती १० बजेर ४० मिनटमा भएको पारिवारिक सूत्रले बताएको छ।
‘नयाँ क्षितिजको खोज’, ‘यन्त्रणा’, ‘चिह्नारीको खोज’ र ‘जीवन चक्रव्यूहभित्र’-जस्ता चर्चित आख्यानका लेखक उनी साहित्य अकादमी दिल्लीद्वारा प्रदान गरिने विशिष्ठ सम्मान ‘फेलो’ प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार पनि थिए।
सन् १९४३ –मा खरसाङको जङ्गपना चियाकमानमा जन्मेका यी प्रबुद्ध साहित्यकार पछिल्लो वर्ष पक्षघात भएपछि ओछ्यान थलिएका थिए। उनका ३५ भन्दा बढ़ी कृति प्रकाशित छन्, जसमा २५ भन्दा बढ़ी आख्यान छन्।
राईलाई उपन्यास नयाँ क्षितिजको खोजका लागि सन् १९८१ -मा साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
जीवनको अन्तिम क्षणसम्मै लेखनमा सक्रिय रहेका उनको ‘भारतीय नेपाली साहित्यको इतिहास’ भने अपुरै रहेको छ। साहित्य अकादमीसँग अनुबन्धित लगभग २००० पृष्ठको यो पुस्तकको लेखन अन्तिम चरणमा रहेको बेला राईलाई पक्षघात भएपछि लेखनकार्य ठप्प भएको बताइएको छ।
साहित्यकार राईले साहित्यका सबै विधामा समान रूपले कलम चलाएका छन्।
यी विशिष्ठ साहित्यकारको निधनले भारतीय नेपाली साहित्य जगत् नै शोकमा डुबेको छ। विभिन्न साहित्यकार, सङ्घ-संस्थाहरूले साहित्यकार राईको निधनमा शोक प्रकट गरेका छन्। यसैबीच वरिष्ठ साहित्यकार डा. जस योञ्जन ‘प्यासी’-ले साहित्यकार असित राईको निधनलाई ‘नेपाली साहित्यमा एक पृष्ठ नै बन्द’ भएको बताएका छन्।
‘असित राई नेपाली साहित्यको सम्मानित, सक्रिय र विशिष्ठ साहित्यकार हुन्। उनको निधन नेपाली साहित्यका लागि एक पृष्ठ सधैँका लागि बन्द भएजस्तै हो’, प्यासीले थपे, ‘समकालीन लेखकहरूभन्दा राईले धेरै कार्य गरे। उनले गरेको विशिष्ट र महत् कार्यकै कारण उनी आफ्ना समकालीन लेखकहरूभन्दा उच्च र विशिष्ठ बने।’
अर्कोतिर साहित्यकार एवं साहित्य अकादमी दिल्लीको नेपाली भाषाका संयोजक डा. जीवन नाम्दुङले पनि साहित्यकार राईको निधनमा गहिरो शोक प्रकट गरेका छन्।
साहित्यकै लागि सधैँ मरिमेट्ने राई आफ्ना कृतिहरूमा सधैँ बाँचिरहने नाम डा. नाम्दुङको भनाइ छ।