गान्तोक, 30 मार्च: सिक्किमको सबैभन्दा भीआईपी समष्टि मानिएको गान्तोक निर्वाचन क्षेत्रबाट सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी)-का उम्मेदवार दिले नामग्याल बर्फुङ्पाले जनतालाई सचेत बन्दै उम्मेदवारको नीति र सिद्धान्तलाई हेरेर मतदान गर्न अपील गरेका छन्। जनताले भोट हाल्दा उम्मेदवारको योगदान, नीति-सिद्धान्त र घोषणा गरिएका मुद्दाहरूको कार्यान्वयनका लागि प्रतिबद्धतालाई हेर्नुपर्ने उनको भनाइ छ।
शनिवार हिमाली बेलासँग विशेष कुराकानी गर्दै उनले भने, “गान्तोकवासीलाई प्रेसरकुकर र फिल्टर होइन, मान-सम्मान चाहिएको छ। यहाँका मानिसहरूले मान-सम्मान र इज्जतसँग बाँच्न पाउनुपर्छ, तर अझै कतिपय राजनीतिक पार्टीले जनतालाई भोट फकाउन प्रेसरकुकर र फिल्टरकै कुरा गरिरहेको छ।”
एसएनपीपी उम्मेदवार बर्फुङ्पाअनुसार एसएनपीपीको प्रमुख मुद्दा 371 (एफ)-को पूर्ण सुरक्षाहो। यद्यपि यससँगै यसपालिको चुनाउमा पार्टीले विकासका आधारभूत सुविधाहरूजस्तै बाटो, पानी, शिक्षा र स्वास्थ्यलाई पनि घोषणा-पत्रमा समावेश गरेको छ। चुनाउमा विजयी बनेर विधानसभामा पुग्ने अवसर पाएको खण्डमा जनताका यी मुद्दाहरू जोड़दार रूपमा उठाएर पूरा गर्न आफू र आफ्नो पार्टी कटिबद्ध रहेको उनले बताए।
“चुनाउको मुखमा विभिन्न राजनीतिक पार्टीका उम्मेदवार आफ्ना विभिन्न मुद्दा लिएर जनतासमक्ष जान्छन्, तर जनताले कुन उम्मेदवार सही छन्, कुन उम्मेदवारको नीति-सिद्धान्त ठीक छ भन्ने कुरा विचार गरेर भोट हाल्न अपील गर्दछु।”
उनले अझ थपे, “म राजनीतिमा अहिलेसम्म नीति-सिद्धान्तमा बसेको छु। गत 20 वर्षदेखि विपक्षमा बसेर सिक्किम र सिक्किमे जनताको पक्षमा राजनीति गर्दै आएको छु। मेरो राजनीतिक योगदान, मैले गरेका कार्यहरूबारे जनतालाई थाहा छ। यसैले जनतालाई म एसएनपीपीको चुनाउचिन्ह ‘कलमको निब’-मा भोट हाल्न अपील गर्दछु।’
जनताले आफूलाई जिताएको खण्डमा निःशुल्क औषधि, निःशुल्क बिजुली, सित्थैमा 24 घण्टै पानी, आयकर छुट आदि दिने ठोकुवा गरेका छन्।
यसैगरी गान्तोकको धरोहर एसटीएनएम अस्पताललाई बहुसुविधासम्पन्न अस्पताल, सुव्यवस्थित मार्ग, निःशुल्क बिजुली आपूर्ति र व्यावसायिक बिजुलीमा सब्सिडी, शिक्षा व्यवस्थालाई विश्वस्तरको बनाउने तथा विधायक एवं मन्त्रीका नानीहरूलाई सरकारी विद्यालयमा पढ़ाउनुपर्ने तथा नेपाली सीट आरक्षणलाई पुनर्स्थापित गरी नेपाली समुदायलाई अधिकार दिलाउने पनि दाबी गरेका छन्।
एसएनपीपीका उम्मेदवार बर्फुङ्पाले अहिले घरदैलो अभियान र कोठे बैठक गरी आफ्नो चुनाउ प्रचार गरिरहेका छन्। एक प्रश्नको उत्तरमा उनले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए।
उनले भने, “यसपालिको चुनाउ सिक्किम र सिक्किमे जनताका लागि महत्त्वपूर्ण छ। वास्तवमा चुनाउमा कुनै पार्टी परस्परका लागि चुनौती हुँदैनन्। उम्मेदवारका लागि जनता नै चुनौती हुन्छन्। मेरा लागि पनि जनता नै चुनौती हुन्। मैले के कति कार्य गरेको छु। मेरो नीति-सिद्धान्त र योगदान के-कस्तो छन्, ती सबै जनतालाई राम्ररी थाहा छ। जनताले आफ्नो विवेकले भोट हालुन्। पार्टीभन्दा उम्मेदवारको इमानदारितालाई हेर्न म मतदाताहरूलाई अपील गर्दछु।”
उनले थप भने, “मलाई विश्वास छ, जनताले सचेत भएर भोट हाल्नेछन्। गाई खरिद गर्न जाने मानिसले मालिकलाई होइन गाईलाई हेर्नुपर्छ। त्यस्तै भोट हाल्न जाने मतदाताले पार्टी होइन, तर उम्मेदवारको इमानदारितालाई हेर्ने कुरामा म विश्वस्त छु।”