मेरो र एसडीएफको कुनै विकल्प छैन : चामलिङ

0
1400
गार्ड्स ग्राउण्डमा चुनावी सभालाई सम्बोधन गर्दै पवन चामलिङ।

गान्तोक, 31 मार्च : “पार्टीले जसलाई पहिचान र पद दियो, त्यस्ता व्यक्तिहरू टिकट नपाउँदा पार्टी छोड़ेर गएका छन्। राजनीतिलाई व्यापार सम्झनेहरूलाई जनताले यसपालि देखाइदिनुपर्छ। व्यक्तिगत हितका लागि राजनीति गर्नेहरूले टिकट नपाउँदा पार्टी कार्यालय तोड़फोड़ गर्ने र पार्टी छोड्ने काम गरे। वास्तवमा उनीहरू भौतिक रूपमा मात्र पार्टीमा थिए, सैद्धान्तिक रूपमा पार्टीमा नभएकाले टिकट नपाउँदा हामीलाई गाली गरे अनि पार्टी छोड़े। बड़ारेर फ्याँक्नुपर्ने, हावाले उड़ाएर लग्यो। उनीहरू पार्टीमा पिलो थिए। पिलो फुट्दा शरीर कहिल्यै कमजोर हुँदैन, निरोगी हुन्छ”, आरिथाङ र स्यारी समष्टिमा एसडीएफबाट टिकटका आकांक्षी आशिष राई र तेञ्जिङ लाम्टाप्रति एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले रोष प्रकट गरे।

केही दिनदेखि म्याराथन चुनाउ प्रचार अभियान ‘विजय सङ्कल्प यात्रा’-को क्रममा रहेका चामलिङ ताथाङचेनस्थित गार्ड्स ग्राउण्डमा गान्तोक वरिपरिका 6 वटा समष्टिका जनतालाई सम्बोधन गरिरहेका थिए, जसमा राई र लाम्टाका समष्टि आरिथाङ र स्यारी पनि पर्दछ। एक्लो व्यक्तिले सरकार बनाउन नसक्ने बताउँदै पार्टी छोड्ने व्यक्ति वा विपक्षी एमएलए नै भए पनि एसडीएफमा नलिने चामलिङले कटिबद्धता दर्शाए।

“एक-दुई स्वार्थी मान्छेको पछि कुद्नु हुँदैन। केही भाइ-बहिनीहरू उनीहरूका पछि लागेका छन् भने पनि पार्टीमा फर्किएर आउनु। कार्यकर्ता र पार्टीका समर्थकहरूले व्यक्तिलाई होइन, पार्टीलाई भोट दिएर विजयी गराउनुपर्छ। एसडीएफबाट राजीनामा दिने व्यक्ति भोलि काउन्सिलर पनि रहँदैन। एसडीएफ पार्टीले चारै जिल्लाका सबै सीट जित्नेछ। आरिथाङ र स्यारी समष्टिका जनताले आफ्नो क्षेत्रको विकासको लागि एसडीएफलाई जिताउनुपर्छ”, चामलिङ स्पष्टतः आशिष राई र तेञ्जिङ लाम्टाप्रति कटाक्ष गरिरहेका थिए।

“सिक्किममा एसडीएफ पार्टी र पवन चामलिङको विकल्प छैन”, उनको दाबी थियो। एसडीएफ अध्यक्ष एसकेएम पार्टीप्रति पनि खनिए, “एसकेएमले 32 बाटै लिम्बू-तामाङलाई सीट दिनुपर्छ भन्दै अन्यायपूर्ण मुद्दा अघि सारेर जनतालाई भोट माग्दैछ। यो सिक्किमे जनतालाई जिउँदै गाड्ने फर्मुला हो। एसकेएमको राजनीतिले सिक्किमलाई अब पश्चिम बङ्गालको जिल्ला बनाउँछ, कि कुन खाल्डोमा लगेर हाल्छ। यो पार्टीले सिक्किम बर्बाद गर्छ।”

सिब्ल्याक संयोजक छितेन टाशीको नेतृत्वमा एसकेएमका विधायक कुङ्गा निमा र सोनाम लामाले दिल्लीमा गएर गृह मन्त्री राजनाथ सिंह, गृह राज्य मन्त्री किरण रिजिजु र केन्द्रिय सुरक्षा सल्लाहकारसँग भेटेर लिम्बू-तामाङको सीट र 11 जातगोष्ठीको विषयमा नकारात्मक पोल हालेकाले हुनैलागेको आरक्षण रोकिएको चामलिङले आरोप दोहोर्‍याए।

लिम्बू-तामाङले जनजाति पाएजस्तै छोड़िएका 11 जातगोष्ठीलाई पनि जनजातिको मान्यता प्रदान गरी सिक्किमलाई जनजाति राज्य बनाउने आफ्नो सरकारको उद्देश्य पनि उनले सुनाए।

“हामीले ऐतिहासिक पृष्ठभूमिमा 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्छ भनेका छौं। छोग्यालको समयमा नेपालीहरू अन्य भोटिया-लेप्चा जस्तै जनजाति थिए। हाम्रो मागमा ऐतिहासिक तथ्य छ, कथ्य होइन। यसमा एसकेएमले भाँजो हाल्दैछ”, उनले भने।

एसकेएमको ‘परिवर्तन’-को नारामाथि कटाक्ष गर्दै चामलिङले अझ भने, “एसकेएमले रामराज्यलाई रावणराज्य बनाउने ‘परिवर्तन’ चाहेको छ। परिवर्तन राम्रोका लागि गर्नुपर्छ, गुण्डागर्दीका लागि होइन।”

अहिलेसम्म सिक्किमले पाएको शान्ति, विकास र भाइचारा एसडीएफ सरकारको सुशासनको लाभांश भएको उनको भनाइ थियो। पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई बढ़ी रेखाङ्कित गर्दै एसडीएफ अध्यक्षले अझ भने, “नेताहरूको ट्रेक रेकर्ड क्रोनोलजिकल अर्डरमा हेर्नुपर्छ। हाम्रो ट्रेक रेकर्ड धेरै राम्रो छ। प्रजातान्त्रिक ढङ्गमा विश्वमै सबैभन्दा लामो सरकार चलाउने क्षेत्रीय पार्टीको अनुभव हामीसँग छ। हामीलाई विकासको सबै मेलो थाहा छ। विकासका धेरै कामहरू क्रमिक रूपमा चलिरहेका छन्। विकासको बिट मार्न पनि सिक्किमे जनताले एसडीएफलाई छैटौंपटक सरकारमा ल्याउनुपर्छ।”

विपक्षीहरूले भ्रष्टाचार भनेर लगाउने गरेको आरोपको खण्डन गर्दै उनले दोस्रो विश्वयुद्धपछि विश्वमै सबैभन्दा द्रुततर विकास दर एसडीएफ शासनमा रहेको विश्व ब्याङ्कको तथ्याङ्क प्रस्तुत गरे अनि विपक्षीको आरोप निराधार रहेको बताए।

जनताको मानसिकतामा परिवर्तनको आवश्यकता औंल्याउँदै चामलिङले भने, “जनताको विचारधारा बद्ली नगरी केही हुँदैन। पार्टी, सरकार, मन्त्री वा मुख्यमन्त्री फेर्दैमा ‘परिवर्तन’ हुँदैन। मान्छेलाई ढुङ्गा हान्ने, एकार्कामा घृणा पैदा गर्ने कुरा परिवर्तन होइन।”

आफ्नो चुनावी सम्बोधनको क्रममा एसडीएफ अध्यक्षले केही चुनावी घोषणाहरू पनि गरे। आगामी सरकार आएको 100 दिनभित्रमा यी वाचा पूरा गरिने उनले आश्वासन दिए। चामलिङले केही नयाँ कार्यक्रमहरू पनि घोषणा गरे।

उनका अनुसार, आगामी कार्यकालमा सरकारले ओपन डेमोक्रेसी अर्थात् खुल्ला जनताराज विधानसभामा चलाउनेछ, जसअनुसार जनताले हेल्पलाइन, वेबसाइट, टेलिफोन आदि माध्यमबाट आफ्नो क्षेत्रका सामूहिक माग सरकारसमक्ष राख्न सक्नेछन्, जसमाथि विधानसभा सत्रमा एकदिनभरि छलफल हुनेछ र त्यहीं जनताको पक्षमा निर्णय, नीति र कानूनहरू बनाइनेछ।

अर्को एउटा नयाँ अवधारणा ‘तपाईंको सरकार-तपाईंको घरद्वार’ कार्यक्रम पनि सरकारले ल्याउनेछ, जसमा ग्यास सिलिण्डर सप्लायरले जनताका घरमै एलपीजी पुर्‍याउन पर्नेछ। सबै सरकारी कर्मचारीहरू घर-घरमा गएर लाइसेन्स रिन्यूलगायतका कामहरू गरिदिनेछन्। क्षमता विकेन्द्रिकरण गरेर बीडीओ कार्यालयमा सबै काम गरिनेछ।

यसैगरी, महिनामा एकपल्ट अनिवार्य रूपमा मन्त्री, विधायक र अधिकारीहरूले जनवार्ता गरेर जनताका समस्याहरू बुझ्नुपर्ने नियम बनाइने चामलिङले घोषणा गरे। आगामी सरकार युवाकेन्द्रित हुने र युथफर्स्ट नाराका साथ अघि बढ़ाउने उनले घोषणा गरे।

चामलिङका अनुसार, आगामी सरकारमा युवाहरूलाई लिएर एउटा नीति निर्धारक समिति गठन गरिनेछ अनि युवाहरूलाई प्रगति र विकासमा साझेदार बनाइनेछ। स्टार्ट अपको ऋण बढ़ाएर 20 लाखबाट 30 लाख बनाइने; स्वालम्बी हुन चाहने बेरोजगार युवाहरूलाई एकमुष्ठ 5 लाख रुपियाँ ऋण दिने; युनिभर्सल बेसिक इनकम लागू गर्ने; कृषक तथा कमजोर तप्काका समूहलाई कम्तीमा 60 हजार रुपियाँ वार्षिक अनुदान दिने; स्वयं सहायता समूहलाई वार्षिक 1 लाखसम्मको अनुदान दिने; अर्बन इको पुलिस गठन गर्ने; एक परिवार एक नोकरी नीतिअन्तर्गत रहल सबैलाई सरकार आएको 100 दिनभित्रमा नोकरी दिने; पाकिम हवाई अड्डाको रहल क्षतिपूरण राशि आगामी सरकार आएको 100 दिनभित्रमा दिइने; सबै सरकारी कामको सरलीकरण गर्ने; बिरामीहरूलाई बाहिर पठाउँदा 2 लाखको सट्टा एकमुष्ठ 5 लाख दिने चामलिङले घोषणा गरे।

त्यस्तै, गान्तोक क्षेत्रमा ट्राफिक जामको समस्या समाधानका लागि उच्च प्राथमिकतामा काम गर्ने; बाधारहित र चौबीस घण्टै गुणस्तरीय बिजुली र पानी सर्वराह गर्ने; व्यापारीहरूका लागि जम्मै सरकारी काम सहज बनाउने; पुराना व्यापारीहरूलाई सिक्किम सब्जेक्टसरह आयकरबाट छुट दिलाउने; राज्यका हरेक ग्राम पञ्चायतलाई वाई-फाई कनेक्शनसँग जोड्ने; गान्तोकमा विश्वस्तरीय ट्याक्सी प्लाजा, सिटी सेन्टर र भूमिगत बजार बनाउने; राज्यका जिल्ला सड़कहरूलाई स्तरीय बनाउँदै सुरूङ मार्गहरू निर्माण गर्ने जस्ता घोषणाहरू मुख्यमन्त्रीले गरे।

मूलतः गान्तोक वरिपरिका समष्टिका लागि जनसभा राखिएकोले चामलिङका घोषणाहरू पनि बढ़ीमात्रामा यी क्षेत्रकेन्द्रित थिए।

एसडीएफ पार्टीको चुनावी जनसभा गान्तोकका 6 वटा समष्टिलाई लिएर आयोजित गरिएकोले नाम्चेबुङ समष्टिका उम्मेद्वार एमप्रसाद शर्मा (दुलाल), स्यारी समष्टिका उम्मेद्वार कर्मा वाङ्दी भोटिया, अप्पर तादोङका उम्मेद्वार जीटी ढुङ्गेल, आरिथाङका उम्मेद्वार श्याम प्रधान, गान्तोकका उम्मेद्वार पिन्सो छोपेल लेप्चा र अप्पर बुर्तुकका उम्मेद्वार डीआर थापासहित लोकसभा उम्मेद्वार डीबी कटवालको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा एसडीएफका वरिष्ठ नेतृत्वगण केएन राई, डीडी भोटिया, डीबी थापा पनि मञ्चासीन थिए। कार्यक्रममा ‘चामलिङका नौ सङ्कल्प’ नामक पर्चा पनि सार्वजनिक गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here