गान्तोक, 31 मार्च : सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का अध्यक्षले चुनाउ अघि एसकेएम पार्टी सरकारमा आइसकेकोले 11 अप्रेलको चुनाउ केवल औपचारिकता मात्र रहेको दाबी गरेका छन्।
आइतबार सोरेङ बजारमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै गोलेले यस्तो दाबी गरेका हुन्।
उनले भने, “हामी यसपालि पूर्व जिल्लाबाट 12 मा 12 वटै सीट जित्नेछौं। उत्तर जिल्लाबाट तीनमा तीनवटै सीट जित्नेछौं। सङ्घ सीट त हाम्रो पेवाजस्तो हो। पश्चिम र दक्षिण जिल्लाबाट पनि धेरै सीट जित्नेछौं। हाम्रो पार्टी सरकारमा आइसकेको छ। हामी केवल 11 अप्रेलको भोट पर्खेका छौं। यसपालिको भोट औपचारिकता मात्र हो।”
दुई दिनअघि राज्यका मुख्यमन्त्रीले सोरेङलाई जिल्ला बनाउने घोषणा गरेको तर यसभन्दा अघि नै एसकेएमले आफ्नो घोषणा-पत्रमा सोरेङलाई जिल्ला बनाउने घोषणा गरिसकेको र एसकेएम सरकारमा आएको खण्डमा यो घोषणालाई पूरा गर्ने उनले बताए।
यसअवसरमा उनले एसकेएम पार्टीलाई जिताउने सोरेङवासीसँग अपील पनि गरे। आजको चुनावी जनसभा सोरेङ-च्याखुङ, दरामदिन, रिञ्चेनपोङ र जूम-सालघारी समष्टिलाई लिएर गरिएको थियो, जहाँ बाक्लो सङ्ख्यामा एमकेएम समर्थकहरू भेला भएका थिए।
उनले भने, “हामी एमजीनरेगाको दैनिक रोज रु 300 बनाउनेछौं। हाम्रो सरकारले प्रत्येक नारी मुखियाको नाममा पाँच वर्षमा रु. पाँच लाख रुपियाँ ब्याङ्क खातामा लगाउनेछ। गरीब जनतालाई 15 लाख रुपियाँको घर बनाइदिनेछौं। फर्निचर र टिभी किनिदिनेछौं। सबै धर्मका चाड़पर्वहरूमा महँगाइ भत्ता रु. 50 हजार दिनेछौं। राज्यका शिक्षित युवाहरूलाई नोकरी नपाएसम्म प्रतिमहिना 10 हजार रुपियाँ बेरोजगार भत्ता दिनेछौं। हाम्रो सरकार सत्तामा आएको खण्डमा लिम्बू-तामाङ समुदायलाई सिक्किम विधानसभामा सीट आरक्षण गर्नेछौं। छुटेका 11 जातिलाई जनजातिको दर्जा दिलाएर राज्यलाई नै ट्राइबल राज्य बनाउनेछौं।”
चुनावी जनसभालाई सम्बोधन गर्दै उनले एसडीएफले 25 वर्षसम्म राज्यको सत्ता सञ्चालन गरे तापनि विकास शून्य रहेको बताए।
गोलेले भने, “सिक्किममा विकास शून्य छ। अहिले चुनाउमा एसडीएफ सरकारले जनतालाई कालो धन र रक्सी बाँड़्दैछ। एसडीएफ सरकारले साँच्चै राम्रो काम र विकास गरेको भए यसरी चुनाउको मुखमा पैसा र रक्सी बाँड़्नपर्ने स्थिति आउने थिएन।”
गोलेले जनतासँग लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बालाई पनि जिताउने अपील गरे।
“लिम्बू-सुब्बा समुदायका उच्च शिक्षित युवा इन्द्रहाङ सुब्बालाई लोकसभाका उम्मेदवार बनाएका छौं। सिक्किम र सिक्किमेली जनताका समस्याहरू इमानदारीपूर्वक संसदमा राख्ने र यसबारे पहल गर्नका लागि उनलाई जिताएर संसदमा पठाउनपर्नेछ। तपाईंहरूले आफ्नो बहुमूल्य भोट इन्द्रहाङ भाइलाई दिएर विजयी बनाउनुहोस्।”
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बाले एसडीएफ सरकार सबै क्षेत्रमा विफल भएको ठोकुवा गरेका छन्।
सोरेङ बजारमा आइतबार सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै सुब्बाले एसडीएफ सरकारको शिक्षा नीतिको आलोचना गरे।
उनले भने, “25 वर्षमा च्याखुङ कलेज खोलियो, तर क्याम्पस र प्रयोगशालाबिना कुनै सुविधा नभएको खोलियो। यो अति दुःखलाग्दो कुरा हो। बुदाङमा इलिम युनिभर्सिटी सिक्किम सरकारले खोल्यो। तर त्यो युनिभर्सिटी पढ़्ने विद्यार्थीहरूको भविष्य बर्बाद भयो। अन्य महाविद्यालयको अवस्था पनि यस्तै छ।”
सुब्बाले थप भने, “एसकेएम सरकार सत्तामा आएपछि राज्यमा आर्ट्स र कल्चर विषयको महाविद्यालय बन्नेछन्। मलाई सिक्किमे जनताले विश्वास गरेर सांसदमा पठाएको खण्डमा म सिक्किम र सिक्किमे जनताका समस्याहरूलाई राख्नेछु। यी समस्याहरूको समाधानका लागि ंम इमानदारपूर्वक कार्य गर्नेछु। सिक्किमको पुरानो कानून र संविधानको धारा 371 (एफ)-को सुरक्षा गर्नेछु। शेर्पा समुदायको हक अधिकारका लागि इमानदारपूर्वक काम गर्नेछु।”
2019 -को विधानसभाभित्र लिम्बू-तामाङ समुदायलाई सीट आरक्षण गर्ननसके राजनीतिबाट संन्यास लिन्छु भन्ने मुख्यमन्त्रीले आफ्नो वचन पूरा गर्नको सट्टामा दुई-दुईवटा समष्टिबाट नामाङ्कन भरेको बताउँदै एसकेएमका लोकसभा उम्मेदवारले प्रश्न गरे, “लिम्बू-तामाङ समुदायको खोइ सीट आरक्षण? यी दुई समुदायलाई खोइ न्याय दिएको?”
मुख्यमन्त्रीले ग्रीन चीफ मिनिस्टरको उपाधि पाउनका लागि वन-जङ्गलमा गौचरन प्रतिबन्ध गरी धेरै मानिसको आयआर्जनको बाटो नै बन्द गरेको बताउँदै उनले यो विषय केन्द्रको रहेकोले यो समस्यालाई केन्द्र सरकारसँग गम्भीरतापूर्वक राख्ने ठोकुवा गरे।
उनले भने, “अन्य राज्यहरूमा 4 प्रतिशतसम्म बेरोजगारी बढ़्दा गम्भीर मानिन्छ, तर सिक्किममा बेरोजगारी 18 प्रतिशत पुग्दा पनि सरकार गम्भीर छैन। यदि एसडीएफका सांसदले यो आँकड़ालाई गलत भन्छन् भने सिक्किमे शिक्षित बेरोजगार युवाहरूका लागि दुर्भाग्यपूर्ण हुनेछ।”
सभालाई लोकसभा उम्मदवार इन्द्रहाङ सुब्बाले पनि सम्बोधन गरे। यो चुनावी सभामा सोरेङ-च्याखुङ समष्टिका उम्मेदवार आदित्य गोले, दरामदिनका उम्मेदवार एमएन शेर्पा, रिञ्चेनपोङका उम्मेदवार फुर्बा छिरिङ भोटिया र जूम-सालघारी समष्टिका उम्मेदवार सुनिता गजमेर विशेष रूपले उपस्थित थिए।
एसकेएमका प्रचार प्रसार उपाध्यक्ष वीरेन्द्र तामलिङले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार आज चुनावी सभाको अवसरमा सोरेङ-च्याखुङ समष्टिअन्तर्गत दोदक बुढ़ियाखोपका जिल्ला पञ्चायत जीवन कुमार गुरुङको अगुवाइमा 142, जूम-सालघारीका विभिन्न जीपीयूबाट 92 परिवार, रिञ्चेनपोङ समष्टिका विभिन्न जीपीयूबाट 125 परिवार तथा दरामदिन समष्टिका विभिन्न जीपीयूबाट 129 परिवार गरी कुल 487 परिवारले एसडीएफ पार्टी त्यागेर एसकेएममा सामेल भएका छन्।