आगलागीमा घर जलेर खरानी

0
2360
सोमबार राति नरबुङ चियाकमानस्थित एक घरमा लागेको आगो।

खरसाङ, १ अप्रेल : तीनधारेदेखि केही टाढ़ास्थित नरबुङ चियाकमानमा आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। उक्त आगलागीमा परेर खरानी भएको घर प्रमोद प्रधानको रहेको बताइएको छ।

प्राप्त जानकारीका अनुसार उक्त आगलागी सोमबार राति लगभग आठ बजे भएको हो। राती आगलागी भएकोले घरभित्रका एउटै पनि सरसमान झिक्न नपाएको पीडित प्रमोद प्रधानले बताएका छन्।

आगो के कारण लाग्यो? परिवारका कसैलाई पनि थाह नभएको उनको भनाइ छ। दुईतल्ले काठको घरमा मुनिल्लो तलामा प्रमोद प्रधान थिए। उनका अनुसार जतिबेला आगो लाग्यो, त्यसबेला बिजुली बत्ती पनि थिएन।

“म भान्सा कोठा रहेको मुनिल्लो तलामा थिएँ, अचानक तीनपटक जोड़ जोड़ केही पड़्केको जस्तो आवाज आयो। मलाई लाग्यो, हाइ भोल्टेजको कारण यस्तो भएको हो। हतार हतार माथिल्लो कोठामा पुग्दा हुरूरू आगो बोलिरहेको थियो”, जनसंवादसँग बोल्दै पीड़ित प्रमोद प्रधानले भने।

पीड़ित प्रमोद प्रधानको परिवारमा तीन सदस्य छन्। पीड़ित प्रधान दम्पति बेरोजगार हुन्। यसैले यो घटनाको कारण उनीहरूमाथि ठूलो समस्या आइपरेको छ। प्रतिदिन मिहिनेत गरेर बनाएको घर एकैक्षणको आगोमा खरानी भएपछि अहिले उनीहरू अवाक बनेका छन्। छेवैमा रहेका आफन्तकहाँ आश्रय लिएका छन्।

“कति मिहिनेत र श्रम खर्चेर बनाएको घर हेर्दा हेर्दै खरानी भएकोले केही सोच्नै सकिरहेको छुइनँ। घरभित्र रहेका एउटै समान पनि निकाल्न भ्याइनँ”, पीड़ित प्रधानले थपे, “अचानक आगो लाग्यो। हेर्दा हेर्दै सबै कुरा जलेर खरानी भयो।”

घटनाबारे थाहा पाएर वरपरका छिमेकीहरू आगो निभाउन भेला भइसक्दा नसक्दा प्रधानको घर खरानी भइसकेको थियो। काठको घर भएकोले पनि आगो तीव्र रूपले फैलिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here