कालेबुङ, २ अप्रेल : जनआन्दोलन पार्टीका उम्मेदवार डा. हर्कबहादुर छेत्रीले मङ्गलबार समतलमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार गर्दै गाउँ गाउँ पुगिरहेका डा. छेत्रीले आज समतलको सिमाबारी, मेथीबारी, सालबारी र अम्बर भिलेजमा चुनाउ प्रचार गरे।
आफ्नो चुनाउ प्रचारअवधि जाप उम्मेदवारले आफ्नो मुद्दाबारे मानिसहरूलाई बुझाउँदै छुट्टै राज्य गोर्खाल्याण्डको आवाजलाई संसदसम्म पुऱ्याउनका लागि जापलाई भोट दिने अपील गरे।
यसभन्दा अघि उनले हिजो कालेबुङ जिल्लाको साङ्से, योक्दा, नक्सा, रम्फू बजार र मन्सोङमा चुनाउ प्रचार गरेका थिए। एक प्रश्नको उत्तरमा छेत्रीले जनताबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्।
“मैले हाम्रो मुद्दाबारे बुझाइरहेको छु। उनीहरूलाई जतिसक्दो स्पष्ट र ढुक्क बनाउने काम गरिरहेको छु। जनताले जस्तो प्रतिक्रिया दिइरहेका छन्, त्यसबाट म सन्तुष्ट छु’’, उनले थपे, “किनभने हाम्रो मुद्दा छुट्टै राज्य गोर्खाल्याण्ड हो। म जितेको खण्डमा दार्जीलिङ पहाड़को मुद्दालाई इमानदारीसँग संसदमा राख्नेछु। जनताले यो कुरा बुझिरहेका छन्।”