यसपालि एसकेएमले शत प्रतिशत सरकार बनाउनेछ : गोले

0
1380
रानीपुलको टाटा स्ट्याण्डमा चुनावी जनसभालाई सम्बोधन गर्दै पीएस गोले।

गान्तोक, 2 अप्रेल : ‘जनता परिवर्तनका लागि प्रतिबद्ध र सङ्कल्पित’ रहेकोले यसपालि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले शतप्रतिशत सरकार बनाउने दाबी अध्यक्ष पीएस गोलेले दोहोर्‍याएका छन्।

मङ्गलबार रानीपुलको टाटा स्ट्याण्डमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै गोलेले यस्तो दाबी गरेका हुन्। एसकेएम अध्यक्ष गोलेले ठोकुवा गर्दै भने, “हामी सरकार बनाउनका लागि बलियो स्थितिमा छौं। यसपालि हामी ‘हण्ड्रेडमा हण्ड्रेड पर्सन्टेज’ सरकार बनाउनेछौं।”

एसकेएमले सरकार बनाउने कुरालाई परिवर्तनका लागि प्रतिबद्ध जनताको दृढ़ता र सङ्कल्पले साबित गरेको उनले बताए।

दुईचोटि विद्युत् सर्वराहमा बाधा पुगेपछि तथा पानी परेर आफ्नो भाषण छोट्याउन परे तापनि पनि एसकेएम अध्यक्ष गोलेले सत्तारूढ़ एसडीएफ पार्टी र राज्यका मुख्यमन्त्रीमाथि तीखो शब्दमा कटाक्ष गरे।

उनले भने, “आज तपाईंहरूलाई थाहा छ, 25 वर्ष राज गर्ने मुख्यमन्त्री भोट माग्न सिक्किमे जनताअघि गएर गिड़गिड़ाउनु पर्दैछ। यसपालि मलाई एकपटक मौका दिनुहोस् भन्दै जनताअघि घुँड़ा टेक्नुपर्दैछ। मलाई तपाईँहरूले फेरि एकपटक मुख्यमन्त्री हुने मौका दिनुहोस्, 25 वर्षमा नगरेको काम 5 वर्षमा गरेर देखाउँछु भनेर घु़ँडा टेकेर गिड़गिड़ाएर हिँड़्दैछन्। यतिमात्र होइन, प्रत्येक गरीब जनताको भोट किन्ने कोशिश हुँदैछ। सिक्किमे जनताको विकासका लागि आएको धनराशि भ्रष्टाचार गरेर राखेको पैसा बोकेर मुख्यमन्त्रीलगायत नेतागण, अध्यक्षहरू अहिले गाउँ-गाउँ पस्दैछन्। गाउँ पस्न बाध्य हुँदैछन्।”

गोलेले थप भने, “25 वर्षसम्म सिक्किम बिगार्नेले अब 5 वर्षमा सपार्छु भन्नु जनतालाई लट्याउन खोज्नु हो। भ्रममा पार्नु हो। बिगार्ने मान्छेले कहिल्यै सपार्न सक्दैन।”

यसअवधि उनले एसकेएम विपक्षमा बसेर पनि सिक्किम र सिक्किमे जनताका लागि धेरै काम गरेको बताए। ‘सातजना विधायक पैसा र कुर्सीका लागि जनतालाई धोका दिएर सत्तारूढ़ एसडीएफ सरकारमा बिक्री भएपछि’ पनि आफूलगायत तीन विधायकले सिक्किम विधानसभा र दिल्लीसम्म सिक्किम र सिक्किमे जनताका मुद्दाहरू उठाएको बताए।

“भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका व्यक्ति जनतालाई माफी माग्दै गाउँ-गाउँ पुग्दैछन्। बिग्रेको सिक्किम सपार्छु भन्दैछन्”, गोलेले थपे, “तर सिक्किम कसले बिगार्‍यो? 25 वर्षदेखि सिक्किमका मुख्यमन्त्री को थिए? कुन पार्टीले सरकार चलाउँदैछ? 25 वर्षदेखि जो सिक्किमका मुख्यमन्त्री थिए, आज उनैले बिग्रेको सिक्किम सपार्छु भन्दैछन्।”

एसकेएमले सरकार बनाएको खण्डमा यसको श्रेय आफ्नो सर्वस्व गुमाएर पार्टीमा खट्ने नेतृत्व र कार्यकर्ताहरूलाई जाने गोलेले बताए। साथै एसकेएम सरकारमा पार्टी अध्यक्ष र साधारण कार्यकर्ताको मूल्य समान हुने उनले ठोकुवा गरे।

“एसकेएम सरकारमा मेरो मूल्य दुई हजार हो भने तपाईँहरूको मूल्य पनि दुई हजार नै हो। बराबर हौं हामी। हामी पदले मात्र अध्यक्ष र कार्यकर्ता हौं। एउटा सानोभन्दा सानो कार्यकर्ताको मूल्य पनि पार्टी अध्यक्ष जतिकै छ”-उनले पार्टी कार्यकर्ताहरूलाई आश्वस्त बनाए।

एसकेएम अध्यक्षले यसपालिको चुनाउ सिक्किम र सिक्किमे जनताका लागि महत्त्वपूर्ण रहेको बताए। गोलेले यसबारे स्पष्ट पार्दै भने, “2019 को चुनाउ पहिलाको चुनाउजस्तो होइन। किनभने एसडीएफ पार्टीको सरकार सिक्किम र सिक्किमे जनताको सिक्किम सब्जेक्ट र डोमिसायल उड़ाउने ताकमा छ। फेरि एसडीएफले सरकार बनाएको खण्डमा सिक्किम सब्जेक्ट र डोमिसायल उड़ाइदिन्छ। यो कुरा पक्का हो। एसडीएफ सरकारले सिक्किम र सिक्किमे जनताका लागि खाड़ल खनिसकेको छ। यसपटक एसडीएफले भोट जितेको खण्डमा उक्त खाड़लमा सिक्किमे जनतालाई हालेर माटोले पुर्नेछ।”

एसडीएफमाथि यस्तो आरोप लगाइरहँदा गोलेले सिक्किम र सिक्किमे जनताको भविष्य एसकेएम पार्टीले मात्र सुरक्षित गर्ने दाबी गरिरहेका थिए।

“यो चुनाउ 25 वर्ष तानाशाही शासन गर्ने राजालाई हटाउने चुनाउ हो। तानाशाही शासन हटाएर नयाँ व्यवस्था स्थापना गर्ने चुनाउ हो। यसैले तपाईंहरूले यसपालिको चुनाउमा सचेत भएर परिवर्तनका लागि एसकेएमलाई भोट दिनुहोस्”-उनले भने।

यसपालिको चुनाउको महत्त्वबारे गाउँ-गाउँ पुगेर, जनजनमा बुझाउने एसकेएम अध्यक्षले आफ्ना पार्टी कार्यकर्ताहरूलाई आह्वान गरे।

“एसडीएफ सरकारको 25 वर्षे शासन यस्तै छ। यहाँको प्रजातन्त्रमा विपक्षी पार्टीहरूले सभा राख्दा यस्तै गर्छ। त्यसै कारणले गर्दा परिवर्तन गर्न अनिवार्य छ”, बोल्दा-बोल्दै बीचैमा दुईपटक विद्युत् सर्वराह ठप्प भएपछि गोलेले कटाक्ष गर्दै भने।

पार्टीकी महासचिव पवित्र भण्डारीले सञ्चालन गरेको सभालाई एसकेएमका वरिष्ठ उपाध्यक्ष टीएन ढकाल, तेञ्जिङ लाम्टा र एसकेएम प्रवक्ता जेकब खालिङ र लोकसभा उम्लेमेदवार इन्द्रहाङ सुब्बाले पनि सम्बोधन गरेका थिए।

चुनावी सभामा स्यारी र गान्तोकका उम्मेदवार कुङ्गा निमा लेप्चा, आरिथाङका उम्मेदवार अरुण उप्रेती, नाम्चेबुङका उम्मेदवार डेनिस राई, सिङ्ताम-खाम्दोङका उम्मेदवार डा. एमके ढकाल, मार्ताम-रूम्तेकका उम्मेदवार सोनाम छिरिङ भोटिया, अप्पर तादोङका उम्मेदवार आनन्द लामा र अप्पर बुर्तुकका उम्मेदवार एनबी गुरुङ पनि विशेष रूपले उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here