दार्जीलिङ, 3 अप्रेल : पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि भूमिगत भएका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –का अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरी भोलि दार्जीलिङ फर्किनेछन्!
अग्रिम जमानतका लागि चारभित्र कोलकाता उच्च न्यायालयमा आवेदन चढ़ाउने सर्वोच्च न्यायालयले गुरुङहरूलाई भनेको छ। यो चारदिन सर्वोच्चले उनीहरूलाई सुरक्षा प्रदान गर्ने बताएको छ।
यसैबीच विमलपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) – अध्यक्ष प्रकाश गुरुङले विमल-रोशनहरू भोलि पहाड़ फर्किने बताएका छन्।
यसबारे जानकारी गराएको प्रकाश गुरुङको म्यासेज अहिले सोशल मीडियामा भाइरल भएको छ। म्यासेजमा विमलपन्थी गोजयुमोका अध्यक्ष प्रकाश गुरुङले भनेका छन्, ‘‘सबै सबै गोर्खाल्याण्डप्रेमीहरूलाई गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ अनि महासचिव रोशन गिरीलाई लिनका लागि बाघडुग्रा हवाईअड्डामा भोलि तारिख 4 अप्रेल 2019 –को 11 बजे अनुशासनबद्ध भइ आइदिने आग्रह गर्दछु।’’
सूत्रका अनुसार भोलि विमल गुरुङ र रोशन गिरी दार्जीलिङ पहाड़ फर्किने निश्चित भएको छ। सर्वोच्चको निर्देशअनुसार नै कोलकाता उच्च न्यायालयमा अग्रिम जमानतका लागि उनीहरू पहाड़ आउने भएको बताइएको छ। यद्यपि गोजमुमोले आधिकारिक रूपमा यसबारे केही बताएको छैन। प्रकाश गुरुङको भाइरल भएको म्यासेजलाई गोर्खा जनमुक्ति युवा मोर्चाको फेसबुक अकाउण्टमा पनि पोस्ट गरिएको छ।