खरसाङ, 3 अप्रेल : भोलि अर्थात् बिहीबार ठीक 1 बजे बाघडुग्रा हवाइअड्डामा विमल गुरुङ र रोशन गिरीहरू ओर्लिनेछन्। स्वागतका लागि मध्यान्ह 12 बजे नै मोर्चा कार्यकर्ताहरूलाई उपस्थित भइदिने गोजमुमो (पहिलो खेमा)-का नेताहरूले आह्वान गरेका छन्।
विमल-रोशनहरू भोलि पहाड़ फर्किने कुरालाई पार्टीका प्रवक्ता बीपी बजगाईंले पनि पुष्टि गरेका छन्। अहिले सोशल मीडियामा विमल-रोशन फर्किने चर्चा बाक्लिएको छ।
बजगाईंका अनुसार विमल-रोशनहरू ठीक 1 बजे बाघडुग्रा हवाइअड्डामा ओर्लिनेछन्। उनका अनुसार गुरुङहरूले जलपाइगढ़ीस्थित हाइकोर्टको सर्किट बेञ्चमा अग्रिम जमानतका लागि आवेदन दर्ता गर्नेछन्।
उल्लेखनीय छ, आजै सर्वोच्च न्यायालयले विमल गुरुङहरूलाई अग्रिम जमानतका लागि कोलकाता उच्च न्यायालय जानसक्ने सुझाएको थियो।
आगामी चार दिनभित्र विमलहरूले उच्च न्यायालयमा आवेदन गर्नसक्ने सर्वोच्चको सुझाउ छ। यो चारदिनमा राज्य सरकारले विमल-रोशनहरूलाई पक्राउ गर्न नपाउने सर्वोच्चले भनेको छ। साथै उच्च न्यायालयलाई अग्रिम जमानतको चाँड़ो सुनवाइ गर्न भनेको छ।