यत्र नायर्स्तु पूज्यन्ते तत्र रभन्ते देवताः

0
1995

बबिता मादेन
संस्कृतमा एउटा श्लोक छ, यत्र नायर्स्तु पूज्यन्ते तत्र रभन्ते देवताः अर्थात जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ। ईश्वरको सृजना पूरा ब्रह्माण्डमै नारीको मर्यादा, गरिमा र गौरवका गाथाहरू सदैव उदाहरणीय छ्न्। प्राकृतिले नारीका आँचलमा असीमित शक्तिहरू प्रदान गरेको भए तापनि हाम्रो पुरुषप्रधान समाजको पितृसत्तात्मक सोचहरूको अघि कतिपय भौतिक नियमहरूले नारी जातिलाई सदैव किनारीकृत गरेर राखेका छ्न्।
त्यसो त अहिले नारी स्वाभिमान र अधिकारका आवाजहरू निक्कै माथिल्लो तहसम्म गुञ्जिन थालिसकेका छन्। सरकार पनि महिला सुधारवादी परियोजनाहरूलाई विकासको मुख्य धारामा बगाउन प्रयासरत् देखिन्छन्, विभिन्न सङ्घ-संस्थाहरूले पनि समाजमा महिलाको अवस्थालाई माथि उठाउन आ-आफ्नोस्तरमा कोशिश गरिरहेका छन्, तर यति हुँदाहुँदै पनि सामान्य उत्पीड़नका घटनाहरू छोड़ेर कहिलेकाहीँ पराकाष्ठाको सीमा पार गर्दै सभ्य समाजको मुहारमा अत्यन्तै कुरूप दाग पोतिराखेर जान्छ।
समाजमा महिला शोषणको इतिहास कति पुरानो हो भनेर हामीले जान्न चाह्यौं भने नारीलाई नीच र व्यभिचारिणी भनेर तिरस्कृत गरिएका घटनाहरू हामी पौराणिक कथाहरुमा पनि पाउँछौं। नारी शोषणका घटनाहरूलाई कुनै जाति र धर्मको सीमाले रोक्न र छेक्न सकेका छैनन्। पश्चिमी धर्ममा त नारीलाई साक्षत पाप भनिएको छ, यसको पछिल्तिरको तर्क के थियो भने पहिलो नारी हब्बाले आफ्नो पति पहिलो पुरुष आदमलाई स्वर्गमा ईश्वरको आज्ञा उल्लङ्घन गर्न उक्साएकी थिइन्। सजायमा दुवैलाई स्वर्गबाट निष्कासित गरियो। त्यसपछि नारीलाई जन्मजात पापीको दर्जा दिइएपछि दण्डस्वरूप सम्पूर्ण नारी जातिलाई प्रसव पीड़ा झेल्न बाध्य बनाइयो भन्ने कथा छ।
अरब सभ्यतामा अझ नारिको अवस्था अति दयनीय थियो। नारीसँग पशुभन्दा पनि मुनिल्लोस्तरको व्यवहार गरिन्थ्यो,  जसलाई लेखेर अथवा भनेर साध्य छैन। पवित्र कुरानमा नारी सम्मानको कुरा उल्लेख गरिएको भए तापनि तथाकथित धर्मका व्यापारीहरूले मानवताको मात्र खिल्ली उड़ाएको छैन, तर अल्लाहको अस्तित्वप्रति अवैध हस्तक्षेप पनि गरेका छन्।
भारतीय सभ्यतामा पनि अजन्ता, खजुराहोंका गुफाहरूमा कुँदिएका मूर्तिहरू, जसलाई हेरिने दृष्टिकोण फरक नै किन नहोस्, तर आज पनि शिल्पकलाको रूपमा यौन प्रवृत्तिका तुष्टिकरण र मनोरञ्जनको साधनकै रूपमा प्रदर्शित छ। प्राचीन मन्दिरहरूमा ईश्वरलाई भेटस्वरूप चढ़ाइएका देवदासीहरू आजन्म पुजारीहरूको यौन आपूर्तिका साधन थिए र अझै पनि कहीं कतै दक्षिण भारतको देवदासीका बस्तीहरूले आफ्नै व्यथा र कथालाई जिउँदो राखेका छ्न्।
सतीप्रथाकै कुरा गर्नु पर्दा पनि सरकारलाई यो प्रथाविरुद्ध कानून बनाउन त कर लाग्यो, तर यो कानूनविरुद्ध पनि विरोध नभएको भने होइन। यसरी नै युग परिवर्तनको क्रमभित्र नारी शोषणका घटनाहरू इतिहास बनेर हाम्रो अघि छ । पारम्परिक विचारधारामा प्राचीन समयदेखि पत्नी तथा आमाको रूपमा त सम्मान, श्रद्धा र प्रशंसा गरिँदै आए तापनि मानवीय रूपमा नारीलाई सदैव हेय दृष्टिले नै हेर्ने तितो सत्यता हामीसँग छ । जुन देशको संस्कृतिमा नारीलाई आस्थाको शिखरमा राखेर पुज्ने गरिन्छ, त्यही देशमा आज नारी संस्कारको बोझले थिचिएर मौन भएका छन्। मानवरूपी आँखामा एकातिर पुज्य र अर्कोतिर भोग्य ठानिनु एउटा अनौठो विडम्बना हो।
प्रतिदिन खबरकागत र टेलिभिजनका हेडलाइन बनेर देखापरेका महिला उत्पीड़न, तस्करी, दुष्कर्म र हत्याजस्तो जघन्य अपराधका घटनाले आज सामान्य रूप लिरहेको छ। अर्को साँचो कुरा के हो भने आज प्रिन्ट मीडिया र इलेक्ट्रोनिक मीडियाहरूको व्यापक बिस्तारले देश दुनियाँमा भइरहेको शोषणको घटना र यसविरुद्धमा आवाजहरू पनि एकत्रित हुनथालेका छ्न्। तर दुःखको कुरा के छ भने जनचेतनाका जति पनि पहल छन्, ती केवल ठूल्ठूला शहरहरूमा सीमित छन्। ग्रामीण क्षेत्रहरू आज पनि दशकौं अघिको अवस्थामा छ।
गाउँ बस्तीमा बस्ने अल्प शिक्षित महिलाहरू आज पनि धेरै अधिकारबाट वञ्चित छ्न्। कमजोर आर्थिक अवस्था र बदनामीको डरको कारण महिला हिंसाका कतिपय मुद्दाहरू न्यायालयका ढोकासम्म पुग्न पाउँदैन, तर अफसोस स्त्रीहरूको यो नैतिक विघटनले न त कानून न त सरकारलाई नै फरक पर्छ । महिला सम्बन्धित अपराधका मुद्दाहरू वर्षौंसम्म न्यायालयको आलमारीमा बन्द रहन्छन्। ठोस प्रमाण र साक्षीको अभावमा कति अपराधीहरू ससम्मान रिहाइ हुन्छन्। कतिपय मुद्दाको निर्णय तब आउँछ, जब घटना इतिहास भइसकेको हुन्छ। कानूनको यस ढिल्याइले अपराधका घटनाहरूलाई मात्र बढ़ाइरहेको छैन, तर अपराधीको मनमा कानूनको डर पनि हराइरहेको छ।
हालैमा एउटा अन्तरराष्ट्रिय सूचना एवं समाचार सञ्जाल थामसन राइर्ट्स फाउन्डेशनले 199 देशमाथि गरिएको सर्वेमा भारतलाई महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देश घोषित गरेको छ। सन् 2011 मा प्रकाशमा आएको यस्तै एक सर्वेले भारतलाई चौथो स्थानमा राखेको थियो। सोच्नु पर्ने कुरा के छ भने जुन गतिमा हाम्रो देश प्रगतिको मार्गतिर बढ़िरहेको छ, जुन देशको संस्कार, संस्कृति र सभ्यता  उदाहरणको रूपमा विश्वअघि प्रस्तुत छ, जहाँ दुर्गा, लक्ष्मी, सरस्वतीलाई हृदयमा राख्नेगरिन्छ, आज त्यो देशमा नारी सबैभन्दा असुरक्षित भई बाँच्नुले भारतको उच्च शिरलाई झुकाएको छ।
आ-आफ्नो समयमा विभिन्न राजनैतिक पार्टीले महिला सशक्तिकरणका नीतिलाई आफ्नो एजेन्डामा समावेश गराएर आ आफ्नो मात्र राजनीतिक रोटी सेक्ने प्रयास गरिरहेका छ्न्। राज्यमा होस् या केन्द्रमा, जब नयाँ सरकार गठन हुन्छ, नारी अधिकार र सुरक्षाका ठूल्ठूला घोषणहरू गरिन्छ। यद्यपि यी धेरजसो घोषणा घोषणामै खुम्चिने गर्छ। केही अघि बढ़िहालेमा पनि यो सुधार र सहुलियतको रूपमा मात्र प्राप्त हुन्छ। वास्तविक हिंसाको कारण र निचोड़सम्म पुग्न कुनै दलले गम्भीरतापूर्वक सोच्दैन, जबसम्म महिला दुर्दशाको मार्गको जरासम्मै पुगेर यसलाई निमिट्यान्न पारिँदैन, तबसम्म सुधार मात्र पर्याप्त छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here