दार्जीलिङ, ५ अप्रेल : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) -ले भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन जनाएको छ। क्रामाकपाले आफ्नै पार्टी अध्यक्ष आरबी राईलाई उम्मेदवार बनाएको थियो।
यद्यपि दार्जीलिङको जनमत खण्डित भएर गोर्खा र गोर्खाल्याण्डको धुरविरोधी तृणमूल उम्मेदवार अमरसिंह राईलाई फाइदा पुग्ने आशङ्काले क्रामाकपा उम्मेदवार आरबी राईले आफ्नो उम्मेदवारितालाई फिर्ता लिएका थिए।
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै क्रामाकपा प्रवक्ता गोविन छेत्रीले बताएअनुसार शुक्रबार बसिएको सभामा सर्वसम्मतिले राजु विष्टलाई समर्थन जनाउने निर्णय लिइएको हो।
सभामा पार्टी अध्यक्ष आरबी राईलगायत अन्य शीर्षस्थ पदाधिकारीहरू उपस्थित थिए। सभामा सबैले तृणमूललाई पराजित गर्न कटिबद्ध हुनुपर्ने बताए।
“तृणमूल उम्मेदवारले जित्नु भनेको दार्जीलिङ पहाड़मा अन्याय-अत्याचार बढ़्नु हो। दार्जीलिङ सधैँ बङ्गालको परतन्त्र र हैकमवादले थिचिनु हो”, छेत्रीले थपे, “यसैले गोर्खा र गोर्खाल्याण्डको धुरविरोधी तृणमूल पराजित गर्न हामीले राजु विष्टलाई समर्थन गरेका हौं।”
उनका अनुसार क्रामाकपाले राजु विष्टलाई समर्थन गर्नु उद्देश्य दार्जीलिङको मूल मागलाई उत्तरपूर्वी राज्यहरूमा सही र प्रभावशाली ढङ्गमा पुऱ्याउनु पनि हो। साथै बङ्गाल सरकारले राज्य प्रशासनलाई गलत प्रकारले प्रयोग गरी दार्जीलिङ पहाड़मा आतङ्क गरिरहेको भन्दै क्रामकपाले सधैँ ‘राज्य आतङ्क’-को विरोध गर्दै आएको र गरिरहने बताए।
हिजो बाघडुग्रा हवाइअड्डामा राज्य प्रशासनले देखाएको व्यवहारलाई क्रामाकपाले प्रजातन्त्रको हत्या बताएको छ।
‘‘बङ्गाल पुलिसले आफूलाई सर्वोच्च न्यायालयमाथि माथि सोच्छ थालेको छ। यो प्रजातान्त्र र नागरिक अधिकार र सुरक्षाका लागि घातक कुरा हो। बङ्गाल प्रशासनले कसरी भेदभावपूर्ण र गैरकानुनी कार्य गरिरहेको छ, त्यो हिजो बाघडुग्रा हवाइअड्डामा घटेको घटनाले स्पष्ट पारेको छ। क्रामाकपाले यस्तो एकपक्षीय र कोल्टे नीतिको तीखो शब्दमा निन्दा गर्दछ”, क्रामाकपा प्रवक्ता गोविन छेत्रीले भने।