गान्तोक, 7 अप्रेलः एसकेएमसँग मिलेर राज्यमा वैकल्पिक सरकार बनाउने अनि सिक्किममा सीबीआई ल्याउने भाजपाका महासचिव राम माधवले रानीपुलमा दिएको बयानप्रति सत्तारूढ़ पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले तीखो प्रतिक्रिया गरेका छन्। ‘जेल जाने पार्टीका नेतासँग गठबन्धन गरेर भाजपा-एसकेएम एउटै ड्याङका मूला प्रमाणित भएको’ चामलिङले टिप्पणी गरेका छन्।
“भ्रष्टाचारमा लिप्त भएर जेल गएका व्यक्ति र उनको पार्टीसँग मिलेर सिक्किममा सरकार बनाउने भनेर भाजपाले गठबन्धन गरेको छ। बीजेपी भ्रष्टाचारविरोधी पार्टी हो भने भ्रष्टाचारी व्यक्तिसँग कसरी गठबन्धन गर्यो? एसकेएमले पहिला बीजेपीसँग खुलेर गठबन्धन गर्यो। त्यसपछि पार्टीका कार्यकर्ताहरूले दबाउ दिए अनि यु टर्न लिएर गठबन्धन फिर्ता लियौं भनेर ढाट्यो। तर, राम माधवले एसकेएमसँग मिलेर सरकार बनाउँछौं भनेर यो ढाँट उदाङ्गो पारे”, एसडीएफ अध्यक्ष पवन चामलिङले भने।
आफ्नो विजय सङ्कल्प र्यालीको नवौं दिन उनी आइतबार रम्फूनजिक माइनिङ मैदानमा चारवटा समष्टिका जनतालाई सम्बोधन गरिरहेका थिए। आफ्नो ‘सरकार आएपछि सिक्किममा सीबीआई ल्याउँछौं’ भन्ने राम माधवको बयानप्रति पनि उनको तीव्र कटाक्ष थियो, “जहाँ विकास भएको छैन, त्यहाँ सीबीआई लगाउनु। देशमा विकास नभएका अधिकांश ठाउँ बीजेपीशासित राज्य र पूर्वोत्तर राज्यहरू हुन्। त्यहाँ सीबीआई लगाउनु। भ्रष्टाचारविरोधी कुरा गर्ने पार्टीले अदालतबाट भ्रष्टाचारमा दोषी भएको मान्छेको पार्टीसँग गठबन्धन गर्छ?”
भाजपाले सिक्किममा सोझै दिल्लीबाट शासन गर्न खोजेको अनि एसकेएमले सिक्किमे जनताको राज खत्तम पारेर डाइरेक्ट राम माधव र बीजेपीको राज चलाउन चाहेको चामलिङले आरोप लगाए।
“सिक्किमका युवाहरूले सिक्किममा राज गरोस् भन्ने नचाहने राम माधव र सेन्ट्रल पार्टीहरूले किन्न सक्ने र बोराजस्तो बिक्री हुनसक्ने एसकेएम पार्टीसँग गठबन्धन गरेको छ। राम माधवको घोषणा र एसकेएमले उनलाई लेखेको चिट्ठीले यसको प्रमाण गर्छ”, चामलिङले आरोप लगाए। दिल्लीका पार्टी तथा नेताहरूको सिक्किमलाई हेर्ने दृष्टिकोणप्रति पनि उनले कटाक्ष गरे,“कङ्ग्रेस होस् वा भाजपा अथवा मिलीजुली सरकार-सबैको हामीलाई हेर्ने दृष्टिकोण एउटै छ। हामीलाई दरबान, चपरासीजस्तो गर्छ र नेपालबाट कहिले आएको भनी सोध्छ। एसकेएम नेताहरू दिल्ली गएर अझै कुरा थप्छ। हामीले सिक्किमलाई भारतमा गाभेर भारतीय भएको हो, यो देशको साझेदार बनेको हो। हामीलाई किरायदार जस्तो मान्छ।”
एसकेएमबाट चुनाउ जितेर 2015 मा एसडीएफमा सामेल भएका अनि यसपटक पुनः टिकट पाएका एसडीएफ उम्मेदवारहरूलाई एसकेएमले ‘गद्दार’ भनिरहेको सन्दर्भमा पनि चामलिङले कड़ा टिप्पणी गरे।
“हाम्रा विधायकहरूलाई पैसामा बिक्यो भन्छ। एसकेएमले जम्मै नेता र कार्यकर्तालाई दिल्लीमा 10 करोड़मा बिक्री गर्न आँटेको थियो। विधायकहरूले आएर हामीलाई गुनासो गरेपछि राज्यको हितमा उनीहरूलाई लियौं। पार्टी बेच्न पाएन अनि अहिले रिसाउँछन्। पार्टी बेच्नेहरूले 2014 को चुनाउपछि छः महिना हराएर छेपारो बेचे। सिक्किमलाई राज्यबाट जिल्ला बनाउने ताकमा उनीहरू छन्। एसकेएम बाहिर एसकेएम भित्र बीजेपी भइसकेको छ”, चामलिङले आरोप लगाए। राज्यमा ड्रग्सको सन्दर्भ निकाल्दै बीएस पन्तको भाइरल बयानको पनि उनले निन्दा गरे।
“बीएस पन्तले ड्रग्स खुवाएर भए पनि, रक्सी खुवाएर पनि भोट हाल्न लगाउनुपर्छ भनी दिएको बयान अहिले भाइरल भएको छ। एसकेएम पार्टीले ड्रग्स बाँड्छ। यसका धेरै मान्छे मल्ली, नाम्ची र स्यारीमा ड्रग्ससँगै पक्राउ परेका छन्। हामी ड्रग्स ओसार-पसार गर्नेलाई छोड्दैनौं”, चामलिङले आरोप लगाए। एसडीएफको जुझारूपनलाई चुनौती नदिन विपक्षीहरूलाई चेताउनी दिँदै आफू 1993 देखि 2019 सम्म आइपुग्दा अझैं जुझारू, क्रान्तिकारी, नयाँ अवतार र बैंशालु भएर आएको चामलिङले बताए। एसडीएफलाई ‘अण्डरएस्टिमेट नगर्न’ उनले एसकेएमलाई सुझाए।
एसकेएम अध्यक्ष पीएस गोलेले ‘अर्गानिक खेती मेटाउँछौं र सिलगढ़ीको सब्जी बेच्न दिन्छौं’ भनी गरेको टिप्पणीप्रति पनि चामलिङले रोष जताए,“आफूलाई एसडीएफको विकल्प भन्ने पार्टीले अहिले अर्गानिक राज्यको नामोनिसान मेटाउँछु भन्दैछ। यस्तो मानसिक आतङ्कसँग लड्न हामीलाई 27 वर्ष लागेको छ। सिक्किमलाई यतिको बनाउन हामीले कठोर मेहनत गरेका छौं। उनीहरू सब बर्बाद गर्न चाहन्छन्।”
चामलिङले यस अवसरमा केही महत्त्वपूर्ण घोषणाहरू पनि गरे। प्रत्येक समष्टिमा 10 वटा पर्यटन गन्तव्य बनाउने जसमध्ये एउटा सर्वबृहत् हुने, सिक्किमका व्यापारीका छोराछोरीलाई पनि मेडिकल कलेजमा निःशुल्क पढ़ाउने, विश्वका श्रेष्ठ 20 युनिभर्सिटीको सट्टा 50 वटा श्रेष्ठ युनिभर्सिटीमा भर्ना पाउने विद्यार्थीहरूलाई सरकारले पढ़ाउने, आगामी सरकारमा सङ्घ पञ्चायत निर्माण गर्नेलगायतका नयाँ घोषणाहरू पनि चामलिङले गरे।
पूर्व जिल्लाका चारवटा समष्टिका समस्याहरूलाई एक-एक सम्बोधन गर्दै आगामी सरकारको 100 दिनभित्रमा सबै पूरा गरिदिने उनले आश्वासन दिए।
यसैगरी, उनले आगामी सरकारमा गुरु हजुर गड एञ्जेल्सलाई पनि सिक्किम ल्याउन एउटा 11 सदस्यीय प्रतिनिधिमण्डल पठाउने घोषणा गरे। क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्ने क्रममा उनले पश्चिम पाण्डाम क्षेत्रका विधायकलाई आगामी सरकारमा मन्त्री बनाउने घोषणा गरे।
यससँगै, पिउने पानी, सड़क, धार्मिक तथा शैक्षिक संस्थानहरूको बढ़ोत्तरी, जमिनको मालिकाना हक, व्यापारीहरूलाई सुविधा, आयकरबाट छुट, हरिजनहरूको वेतन वृद्धि तथा कलोनीको निर्माण, ‘एक परिवार एक नोकरी’अन्तर्गत सबै कर्मचारीलाई आगामी सरकारमा स्थायी गरिनेलगायतका घोषणाहरू चामलिङले गरे।
एसडीएफका लोकसभा उम्मेदवार डीबी कटुवालले ‘परिवर्तन’ एसडीएफको नारा नभएर लक्ष्य भएको बताए। युवाहरू भोलिको सिक्किम जिम्मा लिन तयार रहेको उनले मन्तव्य गरे।
जनसभामा एसडीएफ पूर्व जिल्ला कार्यकारी समितिका अध्यक्ष एमप्रसाद शर्माले स्वागत भाषण राखे। चारवटा समष्टिका उम्मेदवारहरू उगेन टी ग्याछो भोटिया (तुमिन-लिङ्गी), डीटी लेप्चा (मार्तम-रूम्तेक), जीएम गुरुङ (सिङ्ताम-खाम्दोङ) र गोपाल बराइली (पश्चिम पाण्डाम) पनि कार्यक्रममा उपस्थित थिए भने वरिष्ठ एसडीएफ नेता डीडी भोटिया, केएन राई तथा निवर्तमान विधायक डा.मिचुङ भोटियाले पनि मुख्यमन्त्रीसँग मञ्च साझा गरेका थिए।