विनयलाई अहलुवालियाको चुनौती – विनयले आफ्नो लोकप्रियता प्रमाणित गर्न चुनाउमा उठेर देखाऊन्

0
1118
बिहीवार बाघडुग्रा हवाईअड्डामा सांसद एसएस अहलुवालिया। 

सिलगढ़ी,  30 अगस्त : लोकसभा सांसद एसएस अहलुवालियाले गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए)-का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष विनय तामाङलाई आफ्नो लोकप्रियता प्रमाणित गर्न लोकसभा चुनाउमा प्रतिद्वन्द्विता गर्ने चुनौती दिएका छन्। बिहीवार पूर्व प्रधानमन्त्री स्व. अटल बिहारी वाजपेयीको अस्तु सेलाउन सिलगढ़ी आइपुगेका उनले विनयलाई यस्तो चुनौती दिएका हुन्।
स्मरणरहोस्, पछिल्लापटक सिलगढ़ी भ्रमण सकेर दिल्ली फर्किनेक्रममा बाघडुग्रामा उनलाई विनयपन्थी गोजमुमो कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए भने उनको विरोधमा पहाड़का विभिन्न स्थानमा पोस्टरिङ पनि गरिएको थियो। यो विरोधले अहलुवालिया बिच्किएका थिए।
“यदि विनय तामाङले पहाड़मा राम्रो समर्थन र लोकप्रियता पाएका छन् आउँदो लोकसभा चुनाउमा उठेर देखाऊन्। मेरो चुनौती छ उनलाई, लोकसभा चुनाउमा उठेर आफ्नो लोकप्रियता प्रमाण गरून्’’, बिहीवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले थपे, “लोकसभा चुनाउमा विनय तामाङ खड़ा भए, मजस्ता उम्मेद्वार उठ्ने आवश्यकतै पर्दैन। भाजपाबाट जोकोही  उठे पनि विनय हार्नेछन्।’’
यसअवधि उनले बङ्गाल सरकारको पनि आलोचना गरे। राज्यकी मुख्यमन्त्रीले पहाड़मा मनोनित व्यक्ति राखेर जीटीए चलाउनमा राजनीतिक फाइदा देखिरहेकोले नै जीटीएको चुनाउ नगराएको अहलुवालियाको भनाइ छ। “राज्यकी मुख्यमन्त्रीले किन जीटीएको चुनाउ नगराएकी हुन्, म सोध्न चाहन्छु’’, भाजपा सांसदले भने, “पहाड़मा विनयहरूको कति जनमत छ भन्ने कुराको प्रमाणित निष्पक्ष चुनाउले मात्र हुनेछ। उनले जीटीएको सञ्चालन निर्वाचित व्यक्तिहरूद्वारा हुनुपर्ने पनि बताएका छन्।
सांसद अहलुवालियाले दार्जीलिङ र कालेबुङ जिल्ला प्रशासनले पूर्व प्रधानमन्त्री स्व. अटल बिहारी वाजपेयीको अस्तु कलश यात्रा निकाल्ने अनुमति नदिएकोमा पनि निन्दा गरे। उनका अनुसार दार्जीलिङको चौरस्ता र कालेबुङमा अस्तु कलश यात्राको कार्यक्रम गर्ने योजना बनाएको थियो, तर यसका लागि प्रशासनले भाजपालाई अनुमति दिएन।
स्मरणरहोस्, केही दिन सिलगढ़ीमा अहलुवालियाले विमल गुरुङको पक्षमा दह्रोसँग कुरा राखेपछि विनयपन्थी गोजमुमो बिच्किएको थियो। यसपछि  गोजमुमोले  उनको विरोधमा पहाड़का विभिन्न स्थानमा व्यापक पोस्टरिङ गरेको थियो भने विनय तामाङलगायत अन्यले लगातार अहलुवालियाको विरोधमा बयान दिइरहेका छन्, जसको ‘काउन्टर’-मा सांसद अहलुवालिया पनि ‘एग्रेसिभ’ देखिएको कारण अहलुवालिया-विनयबीचको आरोप-प्रत्यारोपको यो राजनीतिक दोहोरी धेरै लामो चल्ने स्पष्ट छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here