कालेबुङ, 8 अप्रेल : चुनाउको मुखैमा दार्जीलिङ पहाड़मा राजनीतिक व्यक्तिहरूमाथि हमलाको घटना प्रकाशमा आउन थालेको छ। केही दिनअघि कालेबुङमा गोरामुमो कार्यकर्ता आदित्य राईमाथि अज्ञात व्यक्तिहरूले प्राणघातक हमला गरेका थिए।
यो घटनामा राई गम्भीर रूपले घाइते भएको बताइएको छ। राईमाथि भएको हमलाको घटना सेलाउन नपाइ आइतबार गोजमुमोका नेता एवं पूर्व सभासद् सामुएल गुरुङमाथि प्राणघातक हमला भएको छ।
सामुएल गुरुङकी पत्नीले कालेबुङ पुलिस थानामा प्राथमिकी दर्ता गरी हमलामा संलग्न दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्ने माग गरेकी छन्। आफ्ना पति घरबाट निर्माणाधीन बिल्डिङमा कार्य हेर्न गएकै समय अज्ञात मानिसहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको उनको भनाइ छ। प्राप्त जानकारीका अनुसार गुरुङ मल्ली रोडस्थित निर्माणाधीन घरमा काम गरिरहेका थिए। यस्तैमा पछिल्तिरबाट उनलाई आक्रमण भएको बताइएको छ।
एकै प्रहारमा अचेत भएर भुइँमा लड़ेको नै गुरुङको शरीरभरि अज्ञात हमलाकारीहरूले प्रहार गरेको पनि बताइएको छ।
छिमेकीहरूले गुरुङलाई रगतपच्छे अवस्थामा देखेपछि परिवारलाई खबर गरेको अनि उनलाई तत्कालै सिलगढ़ीको एउटा अस्पतालमा पुर्याइएको बताइएको छ। उनलाई टाउको लगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको बताइएको छ। अहिलेसम्म आक्रमणकारी र आक्रमणको कारणबारे केही खुलिएको छैन।