कालेबुङ, ८ अप्रेल : घोषणा-पत्रमा पहिला पनि गोर्खाल्याण्डको उल्लेख नगरेको भाजपाले यसपटक पनि गोर्खाको आँखामा धुलो हाल्ने काम गरेको गोजमुमो कालेबुङ जिल्ला कमिटीका प्रवक्ता भुवन पी. खनालले बताएका छन्।
सोमबार भाजपाले जारी गरेको घोषणा-पत्रमाथि बोल्दै उनले यस्तो भनेका हुन्। ‘गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजाति र दार्जीलिङ पहाड़को स्थायी समाधानको कुरा गरिरहे तापनि गोर्खा समुदायका लागि भाजपा कतिसम्म इमानदार छ भन्ने कुरा हामीले अघिबाटै बुझिसकेका छौं’, प्रवक्ता खनाल भने।
भाजपाको घोषणा-पत्रमा ‘गोर्खाल्याण्ड’ शब्द उल्लेख नभएकोमा उनको यस्तो प्रतिक्रिया थियो। उनले भने, ‘भाजपाले मेनिफेस्टोमा गोर्खाल्याण्ड शब्द उल्लेख गरेको छैन, तर भाजपा कार्यकर्ताहरूले चुनाउ प्रचार गर्दा गोर्खाहरूको संवैधानिक हक-अधिकार हितका कुरा गरिरहेका छन्। त्यहींबाट भाजपाका क्षेत्रीय र राष्ट्रिय नेतृत्वहरू पहाड़वासीप्रति इमानदार छैननन् र उनीहरूले पहाड़वासीको हितमा कहिल्यै सोच्दैनन् भन्ने स्पष्ट हुन्छ।’
उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको समस्याको स्थायी समाधानका लागि प्रतिबद्ध रहेको पनि दाबी गरे।
खनालका अनुसार २३ जनवरी २०१९ देखि यता राज्यकी मुख्यमन्त्री ब्यानर्जीले गोर्खाहरूको स्थायी समाधानको कुरा गरिरहेकी छन्। गोर्खाहरूको स्थायी समाधानको मुद्दालाई तृणमूलले चुनावी घोषणा-पत्रमा पनि हालेको दाबी खनालको छ।
‘मुख्यमन्त्रीले पहिला चौरस्ता र त्यसपछि नक्सलबारी आएर दार्जीलिङको स्थायी समाधान गर्ने कुरा गर्नुभयो’, प्रवक्ता खनालले थपिन्, ‘तृणमूलले मेनिफेस्टोमा पनि गोर्खाहरूको स्थायी समाधानको कुरा उल्लेख भयो।यो उल्लेख हुनु ठूलो कुरा हो।’
उनले गोर्खाहरूको स्थायी समाधानका लागि मुख्यमन्त्री ममताले जुन प्रतिबद्धता जाहेर गरेकी छन्, त्यसका लागि आभार प्रकट पनि गरे।
अर्कोतिर गोजनामो सचिव गायत्री मुखियाले पनि पत्रकारहरूलाई सम्बोधन गरिन्।