खरसाङ, 8 अप्रेल : गोजमुमो महासचिव रोशन गिरीले गोर्खाहरूको समस्याहरूको सामाधानको लागि मेनिफेस्टोमार्फत जारी गरेको प्रतिबद्धताका लागि भाजपाप्रति आभार व्यक्त गरेका छन्।
रोशन गिरीले जारी गरेको विज्ञप्तिअनुसार भाजपाले राष्ट्रिय मेनिफेस्टोमा नै अलग्गै गोर्खाहरूका लागि राजनीतिक प्रतिबद्धता उल्लेख गर्नुले भाजपाको गोर्खाहरूको मुद्दाप्रतिको गम्भीरतालाई दर्शाउने बताएका छन्।
गिरीले पहाडमा गोर्खाहरू असुरक्षित, अपमानित रहेको बेला भाजपाले देखाएको प्रतिबद्धताको कारण सम्पूर्ण गोर्खाहरूको सपनाले आकार पाएकोसमेत बताएका छन्।
‘हामीले संवैधानिक अधिकार दिलाउने जनतामा प्रतिबद्धता प्रकट गर्दै आइरहेका हौं,’ गिरीले भनेका छन्, ‘तर हामीलाई कहिले अलगाववादी, कहिले आतङ्कवादी, कहिले विदेशीको लाञ्छना लगाइरह्यो। यद्यपि हामीले प्रकट गरेको प्रतिबद्धता अब पूरा हुनेछ।’
राज्यसत्ताले लगाउने विदेशीको लाञ्छनाबाट अब गोर्खा मुक्त हुने, देशमा चिन्हारीको सङ्कट भोगिरहेका गोर्खाका 11 जातगोष्ठीले जनजातिको मर्यादा पाउने बित्तिकै गोर्खाहरू देशका खाँटी नागरिकमा रूपान्तर हुने भन्दै गिरीले यसपछि गोर्खाहरूलाई विविध लाञ्छना लगाउने खेल नै समाप्त हुने र गोर्खाहरू देशसित जोड़िनेसम्म बताएका छन्।
‘राष्ट्रि सुरक्षाको प्रश्नमा पनि गोर्खाहरूका लागि राजनीतिक स्थायी सामाधान नितान्तै अनिवार्य थियो। भाजपाको यो प्रतिबद्धता धेरै महत्वपूर्ण छ,’ गिरीले भनेका छन्, ‘सबैलाई थाहा छ, दार्जीलिङ पहाड, सिलगढी, तराई-डुवर्स चिकननेक क्षेत्र हो। यो क्षेत्र उत्तर पूर्व भारतसित जोड़िएको छ। गोर्खाहरूको निम्ति गरिने स्थायी राजनैतिक सामाधानले यो क्षेत्रलाई सुरक्षा प्रदान गर्नेछ।’
राजनीतिक स्थिरता आउने बित्तिकै क्षेत्रको सुरक्षा देशको सुरक्षा बन्ने अनि जबसम्म आन्तरिक सङ्घर्ष चलिबस्छ, तबसम्म राष्ट्रीय सुरक्षा खतरामा परिरहने पनि गिरीले जनाएका छन्।
‘यी सबै स्थितिलाई ध्यानमा राखेर नै भाजपाले राजनैतिक स्थायी सामाधानबारे प्रतिबद्धता प्रकट गरेको छ,’ गिरीले भनेका छन्, ‘अविकसित, कमजोर यस क्षेत्रको विकास र सुरक्षाको लागि भाजपाद्वारा सरकार बन्ने वित्तिकै राजनैतिक स्थायी सामाधानको प्रक्रिया अघि बढ्नेछ।’
भाजपाले पार्टी, पार्टी अध्यक्ष विमल गुरुङलगायत जनताले अपेक्षा गरेको सपना पूरा गर्ने प्रतिबद्धता जनाएकोमा उनले पार्टीको पक्षबाट भाजपाप्रति आभार प्रकट गरेका हुन्।
‘राष्ट्रीय जनतान्त्रिक गठबन्धन बलियो बनाउन हामी हाम्रो पूर्ण प्रतिबद्धता, एकजुटता रहनेछ,’ गिरीले भनेका छन्, ‘भाजपा उम्मेदवार राजु विष्टको जित सुनिश्चित गर्ने विश्वास दिलाउँछौं।’
आशावादी बने ।