एनजीसीमा अन्तर्कलह : विष्टलाई दिएको समर्थन शक्ति गुरुङहरूको निजी निर्णय रहेको मुनिश तामाङको भनाइ

0
1333
एनजीसीका पदाधिकारीहरू (फाइल फोटो)।

दार्जीलिङ, ९ अप्रेल : गोर्खाल्याण्ड राष्ट्रिय समिति अर्थात् एनजीसीमा फुट आइसकेको स्पष्ट भएको छ। सोशल मीडियामा अहिले एनजीसी सचिव मुनिस तामाङले एनजीसी टीमलाई लेखेको पत्र भाइरल छ। त्यसमा सचिव तामाङले एनजीसीको नाममा देखापरेको ताजा कार्यचरित्रबारे केही प्रश्नहरू उठाएका छन्।

तामाङअनुसार उनले भाजपा उम्मेदवार राजु विष्ट होस् वा कोही उम्मेदवार होस्, त्यसको न विरोध गरिरहेका हुन् न समर्थन। जब एनजीसीले कुनै पनि निर्णय लिन्छ भने त्यो एनजीसीले व्यापक छलफल, विमर्श, चर्चा गरेर नै लिन्छ। व्यक्तिगतरूपमा न अध्यक्षले लिन्छ, न सचिवले। किनभने एनजीसी कुनै एक व्यक्तिको होइन।

तामाङको कुरालाई मान्नु हो भने शक्ति गुरुङद्वारा राजु विष्टलाई दिएको समर्थन निजी हो? मुनिश तामाङको पत्रले धेरै प्रश्न उठाएको छ। उनले पत्रको पहिलो बुँदामा भनेअनुसार एनजीसीको पदमा रहेका जति पनि सदस्यहरू दार्जीलिङ गएका थिए, त्यो उनीहरूको निजी यात्रा थियो।

‘एनजीसीले उनीहरूलाई बैठक गरेर पठाएको होइन,’ चिट्ठीमा उल्लेख छ, ‘मलाई दार्जीलिङ पुगेको टीम एनजीसीले आधिकारिकरूपले पठाएको टीम हो भन्नेबारे जानकारी छैन।’

व्यक्तिगत यात्रामा गए पनि उनीहरूले राजु विष्ट र हर्कबहादुर छेत्रीसित भेट्दा खुशी लागेको, तर विष्टलाई समर्थन नै गर्न भनेर एनजीसीको कतै बैठक नै नभएको तामाङले खुलाएका छन्। मुनिश तामाङको कुरालाई ध्यान दिने हो भने अहिले एनजीसीमा शक्ति गुरुङको मनमानी चलिरहेको छ।

‘अचानक मीडियामा एनजीसीले राजु विष्टलाई समर्थन गरेको कुरा आउँदा म हैरान बने। जुन कुरा एनजीसीले निर्णय नै गरेको छैन, त्यो कसरी मीडियामा आयो,’  तामाङले भनेका छन्, ‘पहाड़मा एनजीसीका सदस्य मोक्तान र योञ्जन पनि छन्। उनीहरूलाई पनि निर्णयमा सामेल गरिएन।’

तामाङले 7 वटा बुँदामा एनजीसी टीमलाई आफ्नो कुरा राखेका छन्। व्यक्तिगतरूपमा एनजीसीका कुनै पनि सदस्यले जसलाई पनि भेट्दा हुने र त्यो उनीहरूको स्वाधीनताको कुरा रहेको, उनीहरूलाई निजी रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने अधिकार पनि रहेको तर जब एनजीसीको प्रश्न आउँछ, उनीहरूको नीजी निर्णयलाई एनजीसीको निर्णय बनाउन नमिल्नेसमेत तामाङको भनाइ छ।

एनजीसीले साझा उम्मेदवारमा आम सहमतिका लागि काम गर्न खोजेको तर कसैलाई समर्थन गर्न त्यो अभ्यास नगरेको भन्दै शक्ति गुरुङहरूको निजी कुरालाई संस्थासित जोड्दा सङ्गठनभित्र अविश्वासी वातावरण बन्नेसमेत तामाङको बुँदामा उल्लेख छ।

एनजीसीद्वारा राजु विष्टलाई गरेको समर्थन अनाधिकृत रहेको र संस्थाको मर्यादको रक्षाका लागि निजी व्यक्तिहरूको निजी निर्णयलाई एनजीसीको निर्णय मान्न आफूले संस्थाको पक्षमा  अस्वीकार गर्ने पनि तामाङले लेखेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here