कालेबुङ, 9 अप्रेल : ‘गोर्खाको जुन पुरानो सपना छ, त्यसको स्थायी राजनीतिक समाधान हामी गर्नेछौँ। त्यो स्थायी राजनीतिक समाधान के हो भन्ने कुरा मलाई थाहा छ, तर म अहिले भन्दिन’, उपरोक्त कुरा दार्जीलिङ लोकसभा समष्टिका भाजपा उम्मेदवार राजु विष्टले भनेका हुन्।
गोरुबथानमा मङ्गलवार भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न भयो। जनसभालाई सम्बोधन गर्दै उम्मेदवार राजु विष्टले गोर्खाहरूको राजनीतिक स्थायी समाधानको कुरालाई भाजपाले आफ्नो चुनावी मेनिफेस्टोमा उल्लेख गरेको विषयलाई जोड़ दिए।
यसअवधि विष्टले गोर्खाहरूको राजनीतिक स्थायी समाधान के हुनसक्छ भन्नेकुरा उनलाई जानकारी भएको दावी गरे तापनि उनले त्यो स्थायी समाधान के हुन्छ भन्ने कुरा खुलाएनन्। ‘त्यो राजनीतिक समाधान के हुनसक्छ मौका पर्दा भनौला’, विष्टले भने, ‘तर जनजाति अनि स्थायी समाधान दुवै हामी पाउनेछौँ।’
विष्टले जुन दिन उनी सांसद बन्छन्, सबैभन्दा पहिला भूमिगत भएका पाँच हजार गोर्खाल्याण्ड आन्दोलनकारीलाई घर फर्काउने प्रतिबद्धता दोहोऱ्याए। ‘भाजपामा भरोसा गर्नुहोस्, मोदीमा भरोसा गर्नुहोस्’, विष्टले भने, ‘मोदी मात्र एकजना यस्ता प्रधानमन्त्री हुन्, जसले हाम्रो दुःख बुझ्छन्।’
उनले आफ्नो सम्बोधनमा आफूले गोर्खाहरूको हरेक सपना पूरा गर्ने अनि जीत भाजपाकै हुने दावी गर्दै तृणमूलको आलोचना गरे।
‘उनीहरूसित पुलिस छ, हामीसित जनता छ’, विष्टले भने, ‘जहिले पनि जनताकै विजय हुन्छ।’ यसरी नै गोरामुमो प्रवक्ता निरज जिम्बाले यसपल्ट भाजपाको मेनिफेस्टोलाई लिएर कुनै पनि विरोधाभास नरहेको अनि जनजाति र गोर्खाहरूको स्थायी समाधान गर्न भाजपाले प्रतिबद्धता जनाएको बताए।
‘जब दिल्लीले राजनीतिक समाधान हुन्छ भन्छ त्यसको सीमा बढ़ेर जान्छ’,-जिम्बाले भने, ‘जब कलकत्ताले भन्छ, तब त्यसको सीमा साँघुरिएर जान्छ। गोर्खाल्याण्डमा क्षेत्रीय प्रशासन जोड़िए राज्यको ऐनभित्र आउँछ।’
यदि गोर्खाहरूको राजनीतिक स्थायी समाधान हुन्छ भने गोर्खाल्याण्ड अथवा युटीभन्दा सानो नहुने दाबी पनि जिम्बाले गरे। जनसभालाई गोरानिमो अध्यक्ष दावा पाख्रिन, क्रामाकपाका किशोर प्रधान, जीएसएसका अञ्जनी शर्मा, बन्दना राई आदिले सम्बोधन गरेका थिए।