कालेबुङ, ९ अप्रेल : मङ्गलबार कालेबुङमा विनय तामाङपन्थी गोजमुमो र तृणमूलले अमरसिंह राईको समर्थनमा कालेबुङमा संयुक्त रोड शो गरे। यो रोड शोमा बङ्गालका मन्त्री अरुप विश्वास, राज्यसभा सांसद शान्ता छेत्री र गोजमुमोका महासचिव अनित थापालगायत अन्य उपस्थित थिए।
यसैअवसरमा थाना डाँड़ामा चुनावी जनसभा पनि सम्पन्न भयो, जुन जनसभालाई तृणमूल नेता एवं मन्त्री अरुप विश्वासले प्रमुख रूपले सम्बोधन गरे। आफ्नो सम्बोधनमा विश्वासले भाजपाको कटु आलोचना गरे।
उनले भने, ‘दस वर्ष भाजपाका कुनै सांसद पहाड़मा देखा परेनन्। राजु विष्ट पनि मणिपुरका हुन्। पहाड़लाई त भूमिपुत्र चाहिएको हो, जो ममताले दिएकी छन्।’ पहाडमा जेजति पनि विकास भएको छ, सबै ममता व्यानर्जीले गरेको भन्दै यसपल्ट पहाड़लाई भूमिपुत्र दिएर अझ विकास गर्ने सोच राखेकी बताए।
‘बाहिरकाले पहाड़ बुझ्न सक्दैन। गोर्खाको सपना मेरो हो भन्ने व्यक्ति एकैदिन पनि दार्जीलिङ आएनन् तर पहाडको दुःखसुख बुझ्न ममता व्यानर्जी आइरहिन्’, उनले भने, ‘पहाड़का जनतालाई एउटा कागजमा हस्ताक्षर गर्न पऱ्यो भने दिल्ली पुग्नु पर्थ्यो, किनभने जसवन्त सिंह र एसएस अहलुवालिया दिल्लीमा बस्थे। तर अमरसिंह राईले जित्यो भने तपाईँले घरैमा त्यो हस्ताक्षर पाउनुहुन्छ।’
उनले नरेन्द्र मोदीले पहाडलाई मात्र होइन देशलाई नै झूट बोलेको भन्दै ‘राम्रो दिन’ गोर्खाहरूका लागि नआएको तर नरेन्द्र मोदी र भाजपाको लागि भने आएको पनि बताए।
‘कालेबुङ, दार्जीलिङमा राम्रो दिन आएन, आयो त केवल भाजपाका नेता, नरेन्द्र मोदीका लागि आयो। २ हजार ६ सय करोड रुपियाँ विदेश गएरै मोदीले उड़ाए। ६० करोड़ पनि दार्जीलिङलाई दिएको भए यहाँको व्यापक विकास हुन्थ्यो’, उनले भने, ‘राम्रो दिन ममता ब्यानर्जीले दिल्ली सम्हालेपछि मात्र आउँछ।’
अर्कोतिर अनित थापाले यसपालिको भोट अमरसिंह राईलाई, विनय समूहलाई वा तृणमूललाई जिताउने भोट नरहेर चिह्नारी सुनिश्चित गर्ने भोट रहेको दाबी पनि गरे। उनले कालेबुङका केही लेखकहरूले जनतालाई दिग्भ्रमित गरिरहेको अनि आन्दोलनको बेला सरकारसँग कुरा मिलाउनु जाने पहिलो व्यक्ति शुभ प्रधान रहेको पनि खुलासा गरे।
‘अहिलेसम्म राज्यको कुनै मुख्यमन्त्रीले गोर्खाहरूको चिह्नारीबारे बोलेका थिएनन्,’ उनले भने, ‘जुन चिन्हारीको सङ्कट हामीले भोगेका छौं, त्यसको जिम्मेवारी ममता ब्यानर्जीले लिएकी छन्।’