एसकेएमको काँध चढ़ेर भाजपाले सिक्किममा चुनावी वैतरणी तर्न खोज्दैछ : चामलिङ

0
1580
जोरथाङको चुनावी जनसभामा पवन चामलिङ।

जोरथाङ, 9 अप्रेलः “सिब्ल्याक, भाजपा र एसकेएमको नीतिमा कुनै फरक छैन। यी तीनै दलले नेपालीलाई जिउँदै गाड्छन्। तीनवटै पार्टी नेपालीविरोधी हो। ‘मोदी इन, चामलिङ आउट’ भन्नुको मतलब के हो? भाजपा डाइरेक्ट दिल्लीबाट सिक्किममा शासन गर्न चाहन्छ। यस्तो भयो भने सिक्किमका जनताले दिल्लीको हुकुम मान्नुपर्छ। सिक्किम सब्जेक्ट, 371 एफ, रूल 4/4, रेभेन्यू अर्डर नम्बर 1 सबै उड़ाउँछ। सिक्किमेको राज सिक्किमबाट हटाउन पूरा कोशिश हुँदैछ। अनि, यसमा एसकेएमले प्रमुख भूमिका खेल्दैछ”,जोरथाङ खेल मैदानमा अन्तिम चुनावी जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले भने।

चुनाउ प्रचारको अन्तिम दिन आज उनी आफ्नो दशौं विजय सङ्कल्प र्‍यालीमा पोकलोक-कामराङ, नाम्ची-सिङ्गीथाङ र जुम-सालघारी समष्टिका जनतालाई सम्बोधन गरिरहेका थिए। विजय सङ्कल्प र्‍यालीमा प्रायः दुई घण्टा भाषण गर्दै आएका चामलिङले मङ्गलवार अन्तिम दिन लगभग तीनघण्टा बोले अनि हरेक समष्टिका जनतालाई एक-एक गरी जोरथाङबाटै सम्बोधन गरे।

समष्टिगत सम्बोधन चामलिङको आजको भाषणको विशेषता थियो। यद्यपि उनको निशानामा एसकेएम पार्टी र सो पार्टीका अध्यक्ष पीएस गोले नै थिए।

“एसकेएम सामन्ती अवशेष, नवपुँजीवादी, नश्लवादी, जातिवादी, फासीवादी पार्टी हो। सिक्किमबाहिरको शक्तिको सिक्किममा सीधैं राज होस् भन्ने चाहन्छ, एसकेएम। त्यसैले एसकेएमको काँध चढ़ेर भाजपा चुनाउको वैतरणी तर्न खोज्दैछ”,चामलिङले आरोप लगाए।

2019 को चुनाउपछि सिक्किममा एसकेएम र अन्य विपक्षी पार्टीहरूको नामोनिसान नरहने एसडीएफ अध्यक्षको दाबी थियो। एसकेएम अध्यक्ष पीएस गोलेले हिजो गान्तोकमा व्यापारी समुदायलाई सम्बोधन गर्ने क्रममा प्रत्येक वर्ष 25 जनालाई आईएएस, आईपीएस वा आईएफएस बनाउँछौं अनि त्यसमा व्यापारीका पाँचजना छोराछोरीलाई यस्ता उच्च प्रशासनिक अधिकारी बनाउछौं भनी अनुत्तरदायी बयान दिएको भन्दै चामलिङले त्यसको निन्दा गरे।

“कसैले चाहँदा र बनाउँदा आईएएस हुन्छ? एसकेएमका अध्यक्षले टिक्नै नसक्ने मनपरी बयान दिइरहेका छन्। आईएएस पढ़ाउन विद्यार्थीहरूलाई रचनात्मक, नवोन्मेषी र सकारात्मक बाटोमा हिँड़ाउनुपर्छ। तर, एसकेएमले 2014 पछि विद्यार्थीहरूलाई चम्काएर तादोङमा ढुङ्गा हान्न लगायो। एसकेएमले केटाकेटीलाई टेण्डर फारम खोस्न सिकाउँछ। म सरकारमा आउँदा तीनजना केन्द्रिय क्याडर सर्भिस थिए। अहिले 26 जना भएका छन्। मुखले भन्दैमा आईएएस बनाउन सकिन्छ?”, चामलिङले प्रश्न गरे।

चुनाउ प्रचारको अन्तिम दिन निकै भावुक र संवेदनशील देखिएका चामलिङले आज राज्यभरिका समष्टिका जनतालाई सम्बोधन गरे। राज्यका विभिन्न ठाउँमा पार्टीबाट रुष्ट बनेका, रिसाएका समर्थक, पार्टी कार्यकर्ता र आम जनतालाई ठाउँको नामै तोकेर मुख्यमन्त्रीले सम्बोधन गरे। यस्तो लाग्थ्यो, उनी राज्यभरिका जनतासँग प्रत्यक्ष कुराकानी गरिरहेका छन्।

उनको प्रत्यक्ष प्रसारण सुनिरहेका जनतालाई उनको सोझो सम्बोधन थियो। उनी केही भावुक पनि देखिए,“मैले आजको सिक्किम बनाउन आफ्नो जवानी, बैंश र जीवन नै घोटेको छु। सिक्किमका जनताले निर्भय र स्वाधीन भएर बाँच्न पाएका छन्। राज्यका जनताले पाएको सुःख र शान्ति नै मेरो धन हो, खुशी हो।”

आगामी सरकारमा सिक्किमको खुशहाल, स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा आयु वृद्धि जस्ता क्षेत्रसहित मान्छेको गुणस्तरीय विकासलाई विशेष प्राथमिकता दिने एसडीएफ अध्यक्षले बताए। “जन्मदेखि मृत्युसम्म जनतालाई चाहिने सबै सुरक्षा र बन्दोबस्त हामी गर्छौं”,छैटौंपटक मुख्यमन्त्रीको उम्मेदवार बनेका चामलिङले आफ्ना मतदाताहरूलाई भरोसा दिलाए।

जीवनमुखी शिक्षा आगामी सरकारको प्राथमिकतामा पर्ने उनले बताए। सिक्किमको शान्ति र सुरक्षाको रक्षा गर्न एसडीएफलाई मतदान दिन उनले जनतालाई अपील गरे। एसडीएफलाई फेरि जिताउन किन आवश्यक छ भन्ने कुराको पनि उनले जनतालाई जवाब दिए।

“सिक्किमविरोधीहरूबाट सिक्किम बचाउन, सिक्किमे जनताको अविरल विजय निश्चित गर्न, सिक्किमबाट नकारात्मक तथा असामाजिक तत्वहरूको उन्मूलन गर्न अनि सिक्किमे जनताको हित, परिचय र गौरवको रक्षा गर्न जनताले एसडीएफलाई भोट दिएर जिताउनुपर्छ”,चामलिङको तर्क र अपील दुवै थियो।

यस अवसरमा एसडीएफ अध्यक्षले केही घोषणाहरू पनि गरे। जोरथाङमा पहिलो म्युजिक कलेज बनाउने; सबै घरबारविहीनलाई जोरथाङ र नयाँबजारमा अतिरिक्त हाउजिङ कलोनी बनाएर घर बसाउने;   सरकारका सबै अधूरा कार्यहरू पूरा गर्ने; सिक्किमका हरेक ग्राम पञ्चायत एकाइलाई विश्वमै ब्राण्डिङ गर्ने; नन्दुगाउँ, दक्षिण सिक्किममा अखण्ड ज्योति केन्द्रको स्थापना गर्ने; सरकार आएको पहिलो क्याबिनेटमै राज्यमा 6 वटा जिल्लाको प्रस्ताव पारित गर्नेलगायत राज्यमा धेरै पर्यटन गन्तव्यहरूको विकास गर्ने चामलिङका घोषणाहरूमध्ये प्रमुख थिए।

यसैगरी, हेभेन्ली पाथ अर्गनाइजेशनका धर्म गुरु गड एन्जेल्सलाई सिक्किम ल्याउन एक उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने पनि चामलिङले दोहोर्‍याए। सिक्किमलाई विश्वकै ज्ञानवर्धक, मजबुत र खुशहाल राज्य बनाउने चामलिङको प्रतिबद्धता थियो।

यस अवसरमा एसडीएफका विभिन्न समष्टिका उम्मेदवारसहित पार्टीका अन्य वरिष्ठ नेतृत्वगणको पनि उपस्थिति रहेको थियो।

जनसभामा लोकसभा उम्मेदवार डीबी कटुवालले पनि सम्बोधन गरे। सिक्किमले शान्तिको उदाहरण पेश गरेर गान्धीको सिद्धान्तलाई व्यवहारमै कार्यकर गरेको बताउँदै उनले राज्यका हरेक जनतालाई ‘शान्तिका दूत’ घोषणा गर्नुपर्ने केन्द्रसँग माग गरे।

जनसभामा एसडीएफ समर्थक तथा आम जनताले उत्साहवर्धक सहभागिता जनाएका थिए। कार्यक्रमको समापनपछि चामलिङले मञ्चमै पत्रकारहरूलाई छोटो सम्बोधन पनि गरे, जसमा उनले पत्रकारहरूले सोधेका प्रश्नको जवाब दिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here