गान्तोकका जनताले इमानदार उम्मेदवारलाई भोट दिनेछन् : दिले नामग्याल

0
1684
एसएनपीपी उम्मेदवार दिले नामग्लाय बर्फुङ्पा।

गान्तोक, 9 अप्रेल : जनताले पार्टी होइन, तर उक्त पार्टीले उठाएका मुद्दाहरू र उम्मेदवारको इमानदारितालाई हेरेर मतदान गर्नुपर्ने कुरालाई सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी)-का अध्यक्ष एवं गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दिले नामग्याल बर्फुङ्पाले  दोहोर्‍याएका छन्।

मङ्गलवार दिउँसो जनसंवादसँग विशेष कुराकानी गर्दै उनले भने, “जनताले  इमानदार र प्रतिबद्ध उम्मेदवारलाई मतदान गरे मात्र उनीहरूका समस्याहरू न्यायोचित ढङ्गमा समाधान हुनेछ। एकजना इमानदार उम्मेदवारले नै जनताका समस्याहरू समाधान गर्नका लागि इमानदारपूर्वक पहल गर्नेछन्। यसैले गान्तोक निर्वाचन क्षेत्रलगायत वेस्ट पाण्डम र सिङ्ताम खाम्दोङका जनताले इमानदार उम्मेदवारलाई रोजेर पेनको नीबमा मतदान गर्नेछन् भन्ने मलाई विश्वास छ। किनभने एसएनपीपी राज्यकै एक मात्र इमानदार राजनीतिक पार्टी हो। यसले सधैँ इमानदार भएर जनताका  हिक अधिकार र सम्मानका मुद्दाहरूलाई उठाएको छ। र सधैँ उठाइरहनेछ।”

उल्लेखनीय छ, उनीलगायत एसएनपीपीले वेस्ट पाण्डामबाट विकास दर्जी र सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रबाट गोपाल खतिवड़ालाई चुनाउ खड़ा गरेको छ। मङ्गलवार पार्टी अध्यक्षको हैसियतमा उनले वेस्ट पाण्डाम निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रम्फू बजार र सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सिङ्ताम बजारमा  यी दुई उम्मेदवारका लागि चुनाउ प्रचार गरेका थिए।

उनले भने, “एसएनपीसीले वेस्ट पाण्डाम र सिङ्ताम-खाम्दोङबाट पनि उम्मेदवार खड़ा गरेको छ। आज मैले यी दुई निर्वाचन क्षेत्रका उम्मेदवारका लागि चुनाउ प्रचार गरे। म चुनाउ प्रचारका लागि घर घर पुग्न सकिन। त्यसका लागि जनतासँग क्षमा चाहन्छु, तर हामीले सिक्किम जनताका लागि उनीहरूका हक-हित अधिकार र सम्मानसँग सम्बन्धित मुद्दाहरूलाई इमानदारीपूर्वक उठाएका छौं। हामीले उठाएका मुद्दाहरू समाधान हुनसक्ने मुद्दाहरू हुन्। त्यसैले यी मुद्दाहरूको समाधानका लागि गान्तोक, वेस्ट पाण्डाम र सिङ्ताम-खाम्दोङका जनतालाई इमानदार उम्मेदवारलाई चिनेर पेनको नीबमा मतदान गरिदिने म अपील गर्दछु।”

एक प्रश्नको उत्तरमा उम्मेदवार बर्फुङ्पाले गान्तोक निर्वाचन क्षेत्रका जनताबाट राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त गरेका बताए।

“म गान्तोक निर्वाचन क्षेत्रका 90 प्रतिशत घरमा पुगे। चुनाउ प्रचारमा मैले आफ्नो पक्षबाट शतप्रतिशत दिएको छु। केही घरहरूमा समय अभावमा पुग्न सकिन, त्यसप्रति केही दुःखी छु, तर सोशल मीडिया र पार्टीको घोषणा-पत्रमार्फत् म ती पुग्न नसकेका केही घरहरूमा पनि पुग्न सकेको छु”, एसएनपीपी उम्मेदवारले थपे, “गान्तोक निर्वाचन क्षेत्रमा अन्य निर्वाचन क्षेत्रभन्दा शिक्षित मतदाता बस्छन्। उनीहरूले  विकास-सहुलियत तथा हक-अधिकार र सम्मानबीचको पार्थक्यता बुझ्छन्। वास्तवमा सिक्किमे नागरिकलाई के चाहिन्छ भन्ने कुरा गान्तोकका जनतालाई राम्ररी थाहा छ। एसएनपीपीको राजनीति र मुद्दा र इमानदारितालाई नजिकबाट बुझेका छन्। यसैले म विश्वस्त छु, गान्तोकका जनताले इमानदार र प्रतिबद्ध उम्मेदवारलाई हेर्नेछन्।”

उनका अनुसार एसएनपीपीले जुन मुद्दाहरू बोकेको छन्, जुन मुद्दाहरूलाई चुनावी घोषणा-पत्रमा  समावेश गरेको छ, ती मुद्दाहरू सिक्किमे नागरिकहरूको हक अधिकार र सम्मानका कुराहरू हुन्।  “सिक्किमे नागरिकहरूका लागि विकास र सहुलियत महत्त्वपूर्ण कुरा होइन, तर यहाँका नागरिकहरूका  लागि ठूलो कुरा भनेको उनीहरूले पाउनुपर्ने हक अधिकार र सम्मान हो।”

उल्लेखनीय छ, एसएनपीपीको प्रमुख मुद्दा 371 (एफ)-को पूर्ण सुरक्षा हो। यद्यपि योसँगै यसपालिको चुनाउमा पार्टीले विकासका आधारभूत सुविधाहरूजस्तै बाटो, पानी, शिक्षा र स्वास्थ्यलाई पनि घोषणा-पत्रमा समावेश गरेको छ।

जनताले चुनाउमा विजयी बनाएर विधानसभामा पठाएको खण्डमा निःशुल्क औषधि, निःशुल्क बिजुली, सित्थैमा 24 घण्टै पानी, आयकर छुट आदि दिने ठोकुवा उम्मेदवार बर्फुङ्पाको छ।

यसैगरी गान्तोकको धरोहर एसटीएनएम अस्पताललाई बहुसुविधासम्पन्न अस्पताल, सुव्यवस्थित मार्ग,  व्यावसायिक बिजुलीमा सब्सिडी, शिक्षा व्यवस्थालाई विश्वस्तरको बनाउने तथा विधायक एवं मन्त्रीका नानीहरूलाई सरकारी विद्यालयमा पढ़ाउनुपर्ने तथा नेपाली सीट आरक्षणलाई पुनर्स्थापित गरी नेपाली समुदायलाई अधिकार दिलाउने पनि उनको दाबी छ।

एक प्रश्नको उत्तरमा उनले भने, “सिक्किमका तीनवटा पुराना कानून रेभेन्यु अर्डर नम्बर 1, कम्पनीज एक्ट र रूल 4 (4) तोड़ियो। यी तीनवटा पुराना कानून तोड़िँदा सिक्किमे नागरिकहरूले के पाए? केही पाएनन्। यहाँ धेरै दबाई कारखाना छन्, तर सिक्किमका मानिसहरूले दबाई किनेरै खान पर्दैछ। धेरै हाइडल प्रोजेक्ट छन्, तर बिजुली बत्तीको पैसा राज्यवासीले तिरिरहेका छन्। विभिन्न कम्पनीहरूमा पनि हाम्राहरूले ‘एक्जुकेटिक पोस्ट’ पाउनुपर्ने थियो, तर पाएनन्। सिक्किममा कति खोला नाला छन्, तर गान्तोकवासीले बिहान-बेलुकी मात्र पानी पाउँछन्।”

गान्तोकवासीले यी मतदान गर्नअघि यी कुराहरूलाई ध्यानमा राख्नुपर्ने एसएनपीसी उम्मेदवार दिले नामग्याल बर्फुङ्पाले सुझाएका छन्। साथै जनताको पक्षमा एसएनपीपीले सधैँ इमानदारीपूर्वक राजनीति गरिरहने दाबी पनि गरेका छन्।

“मैले विपक्षीमा बसेर राजनीति गरेको 20 वर्ष भयो। एसएनपीपी गठन भएको मात्र 10 वर्ष भइसकेको हो। यो समयअवधिमा हामीले सधैँ इमानदार राजनीति गरेका छौं। हाम्रा मुद्दाहरू जनताका हक अधिकार र सम्मानसँग जोड़िएका छन्। यसैले जनताले पेनको नीबमा मतदान गरुन् भन्ने मेरो अपील छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here