कालेबुङ आइपुगेका कैलाश विजयवर्गीयले भने – गोर्खाहरूले न्याय र सम्मान पाउन् भन्ने भाजपा चाहन्छ

0
1938
जनसभास्थलको निरीक्षण गर्दै कैलाश विजयवर्गीय।

कालेबुङ, 10 अप्रेल : भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह भोलि अर्थात् बिहीबार कालेबुङ आउनेछन्। शाहले कालेबुङको होम्सस्थित रोनाल्डसे पार्कमा आयोजित जनसभालाई सम्बोधन गर्नेछन्।

जनसभास्थल कालेबुङ बजारदेखि लगभग तीन किलोमिटर टाढ़ा छ। भाजपा उम्मेदवार राजु विष्टको समर्थनमा सम्पन्न हुने उक्त जनसभा 12 बजेदेखि शुरु हुनेछ।

भाजपाका राष्ट्रिय अध्यक्ष शाहले सम्बोधन गर्ने जनसभास्थलको निरीक्षण गर्न बुधबार भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीय कालेबुङ आए। उनले यो निरीक्षण भ्रमणअवधि आयोजनस्थलमा सुरक्षा व्यवस्थालगायत अन्य विषयमा भाजपा कार्यकर्ताहरूबाट जानकारी लिए।

उनीसँगै सह-प्रभारी अरविन्द मेनन, बङ्गाल प्रभारी रतिन घोष, दार्जीलिङ जिल्लाध्यक्ष मनोज देवान र आईटी सेलका आनन्द बन्साली प्रमुख उपस्थित थिए।

रोनाल्डसे पार्कको निरीक्षण गरेपछि भाजपा महासचिवले  आयोजनस्थल सानो र यहाँसम्म आइपुग्ने सड़क साँघुरो रहेको बताए।

‘मानिसहरू धेरै आउनेछन्। त्यस हिसाबले यो मैदान सानो नै हुन्छ’, उनले थपे, ‘साँघुरो भएकोले गाड़ीहरूको जाम लाग्नसक्छ। हामी प्रशासनसँग यसबारे कुराकानी गर्नेछौं। र प्रशासनबाट सहयोगको अपेक्षा पनि राख्छौं।’ उनका अनुसार अमित शाहको जनसभा दार्जीलिङमा गरिने तय गरिएको थियो, तर भोलि नै दार्जीलिङमा तृणमूल सुप्रिमो एवं बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङमा जनसभा रहेकोले भाजपा अध्यक्षको जनसभालाई कालेबुङमा सारिएको हो।

उनले भोलिको जनसभा शतप्रतिशत सफल हुने दाबी गरेका छन्। साथै दार्जीलिङ पहाड़का मानिसहरू अमित शाहलाई सुन्नका लागि उत्साहित रहेको उनको भनाइ छ।

विजयवर्गीयले दार्जीलिङ पहाड़ विकासबाट वञ्चित रहेकोले र भाजपाले विकास गर्ने भएकोले मानिसहरू धेरै उत्साहित रहेको थप दाबी गरे। यसअवसरमा उनले भाजपाले आफ्नो घोषणा-पत्रमा सामेल रहेका गोर्खा समुदायसँग सम्बन्धित मुद्दाबारे पनि बताए।

छुट्टै राज्य गोर्खाल्याण्डबारे बोल्न भने हतारो हुने भाजपा महासचिवको भनाइ छ। यद्यपि गोर्खाहरूले न्याय र सम्मान पाउन भन्ने पक्षमा भाजपा रहेको खुलाए।

‘हामी गोर्खा समाजलाई धेरै सम्मान गर्छौं। यो देशको सेनामा गोर्खाहरूको जुन भूमिका छ, त्यो धेरै महत्त्वपूर्ण छ’, उनले थपे, ‘गोर्खाहरूले न्याय-सम्मान पाउन्। उनीहरूको संस्कार-संस्कृतिको रक्षा होस्, यसको हामी हामी सधैँ चिन्ता गर्छौं। जहाँसम्म छुट्टै राज्यको कुरा छ, त्यसबारे अहिले नै टिप्पणी गर्नु उचित हुँदैन।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here