सिलगढ़ी, 10 अप्रेल : बुधवार बिहान सिलगढ़ीमा एक बीभत्स सड़क दुर्घटनाको खबर प्रकाशमा आएको छ। फुलबारीको अमाइदिघी क्षेत्रमा आज बिहान स्कुटी र ट्रक परस्परमा ठोकिँदा दिदी-भाइको बीभत्स मृत्यु भएको छ।
मृतक दुवै सिलगढ़ी नगरनिगमको 34 नम्बर वार्डस्थित राजाहोली निवासी रहेको पुलिस सूत्रले बताएको छ। पुलिसका अनुसार मृतकद्वयको नाम रूबी बानु (33) र मोहम्मद वाजिद (21) हो।
प्राप्त जानकारीका यो भिड़न्तमा मोहम्मद वाजिदको घटनास्थलमै मृत्यु भयो। त्यहीं घाइते अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल लगिरहेको बेला बाटोमा नै रूबी बानुको मृत्यु भएको पुलिसले थप बताएको छ।
यो भीषण सड़क दुर्घटनापछि जलपाइगढ़ी-सिलगढ़ी राष्ट्रिय राजमार्गमा पथावरोध गरी स्थानीय मानिसहरूले रड़ाको मच्चाए। सूचना पाएलगत्तै घटनास्थलमा पुगेको एनजेपी पुलिसले स्थितिलाई नियन्त्रणमा ल्याएको थियो।
पुलिसले दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ। पुलिसले आरोपी ट्रकलाई कब्जामा लिएर चालकलाई खोजिरहेको छ।
प्रेमीको मृत्यु सहन नसकेर प्रेमिकाद्वारा आत्महत्या
सड़क दुर्घटनामा आफ्ना प्रेमीको मृत्यु भएको खबर सहन गर्न नसकेको कारण एक युवतीले आत्महत्या गरेको मार्मिक घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीका अनुसार आफ्ना प्रेमी मोहम्मद वाजिदको सड़क दुर्घटनामा मृत्यु भएको खबर सहन गर्न नसकेपछि आजै सिलगढ़ीनिवासी नजमा खातुनले आत्महत्या गरेकी हुन्।
उल्लेखनीय छ, आज बिहान वाजिद सवार रहेको स्कुटी र ट्रक जोड़ले ठोकिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। यो सड़क दुर्घटनामा वाजिदसँग उनकी दिदी रूबी बानुको पनि मृत्यु भएको थियो। पुलिसका अनुसार नजमा सिलगढ़ीको सूर्यसून कलोनी निवासी थिइन्। पारिवारिक सूत्रका अनुसार नजमा खातुन र मोहम्मद वाजिदबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो।
आज बिहान जब नजमा वाजिदको मृत्युको खबर सुनिन्, उनले यो खबरलाई सहनै सकिनन्। अपरान्ह जब उनी घरमा एकलै थिइन् नजमाले झुण्डिएर आत्महत्या गरिन्। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ।