सिलगढ़ी, १३ अप्रेल : पश्चिम बङ्गाल सरकारले कङ्ग्रेस अध्यक्ष राहुल गान्धीको हेलिकप्टरलाई ल्याण्डिङ गर्ने अनुमति दिन अस्वीकार गरेको छ। अनुमति नपाएपछि कङ्ग्रेसको सिलगढ़ीमा प्रस्तावित सभालाई रद्द गरिएको छ।
कङ्ग्रेसका वरिष्ठ नेता तथा दार्जीलिङ लोकसभा सीटका उम्मेद्वार सङ्कर मलाकारले भने, “हामीले पुलिस ग्राउण्डमा १४ अप्रेलको दिन राहुल गान्धीको हेलिकप्टर अवतरणका लागि अनुमति मागेका थियौं। तर हाम्रो अनुमतिलाई पुलिसले अस्वीकार गरेको छ।”
हेलिकप्टर अवतरणको अनुमति नपाइएकै कारण सिलगढ़ीमा हुने प्रस्तावित ऱ्याली रद्द गरिएको पनि मलाकारले बताए।
अर्कोतिर सिलगढ़ीका पुलिस आयुक्त बीएल मीणाले पनि यो कुरालाई पुष्टि गरेका छन्। उनले भने, ‘‘कङ्ग्रेसले पुलिस ग्राउण्डमा हेलिकप्टर अवतरणको अनुमति मागेको थियो, जसलाई अस्वीकार गरिएको छ।’’
पुलिस आयुक्त मीणाका अनुसार कङ्ग्रेसले जुन विशिष्ट मैदानका लागि अनुमति लागेको थियो, त्यसमा अनुमति नदिनुका केही नियमहरू छन्। यद्यपि कङ्ग्रेसले अन्य कुनै स्थानको विकल्प लिएर नआएको पनि उनले बताएका छन्।