पहिला ऋषिका छेत्रीलाई समर्थन : अहिले अमरसिंह राईलाई समर्थन

0
1876
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कृष्ण छेत्री र अन्य।

मिरिक, १३ अप्रेल : केही दिनअघि स्वतन्त्र उम्मेदवार ऋषिका छेत्रीलाई समर्थन जनाउने हरिमाया छेत्री  मेमोरियल चेरिटेबल ट्रस्टले ऋषिका छेत्रीलाई दिएको समर्थन फिर्ता लिँदै तृणमूल उम्मेद्वार अमरसिंह राईलाई समर्थन जनाउने घोषणा गरेको छ।

शनिबार मिरिक प्रेस क्लबमा आयोजित एक पत्रकार सम्मेलनमा हरिमाया छेत्री  मेमोरियल चेरिटेबल ट्रस्टका अध्यक्ष कृष्ण छेत्रीले यस्तो घोषणा गरेका हुन्।

यसभन्दा अघि यो ट्रस्टले  स्वतन्त्र उम्मेद्वार ऋषिका छेत्रीलाई समर्थन गर्ने घोषणा गरेको थियो। यद्यपि ६ दिन नबित्दै ‘भाका’ फेरेका कृष्ण छेत्रीले स्वतन्त्र उम्मेद्वार छेत्रीलाई दिएको समर्थन फिर्ता लिँदै तृणमूल उम्मेद्वार राईलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

आज पत्रकारहरूलाई सम्बोधन गर्दै उनले ट्रस्टका ट्रस्टीहरूको सरसल्लाहमा नै ऋषिका छेत्रीलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्। समर्थन फिर्ता लिनुको कारण स्वतन्त्र उम्मेद्वारलाई समर्थन दिँदा भोट बाँड़िने र ऋषिका छेत्रीसँग तालमेल ठीक नभएको पनि खुलाए।

उनले ऋषिकालाई दिएको समर्थन फिर्ता लिनेबारे तीन-चार दिनअघि बैठक बसेको पनि बताए। छेत्रीका अनुसार उक्त बैठकमा नै ट्रस्टले ऋषिका छेत्रीलाई दिएको समर्थन फिर्ता लिएको हो।

“हामीले दार्जीलिङ, जलपाइगढ़ी र कोचबिहारमा तृणमूल कङ्ग्रेसलाई सोझै समर्थन दिएको सूचित गराउँदै तृणमूल सुप्रिमो ममता ब्यानर्जी र अरूप विश्वासलाई ११ अप्रेलको दिन पत्र पठाएका छौं।’’

 ‘रोटीभन्दा ठूलो दर्शन कुनै हुँदैन’ भन्ने कृष्ण छेत्रीले विकासको मुद्दालाई हेरेर तृणमूल उम्मेद्वार समर्थन गरेको कुरा पनि खुलाए।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आजसम्म दिएका सबै आश्वासन पूरा भएकोले मुख्यमन्त्रीमाथि विश्वास रहेको पनि उनले बताए।

उल्लेखनीय छ, पछिल्लो ७ अप्रेलको दिन ऋषिका छेत्रीलाई समर्थन जनाउँदै छेत्रीले मिरिक प्रेस क्लबमा नै आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here