खरसाङ, 14 अप्रेल : आइतवार तृणमूल कङ्ग्रेस उम्मेदवार अमरसिंह राईको समर्थनमा मङ्पुको जनमैदानमा चुनावी जनसभा सम्पन्न भयो। यसभन्दा अघि आजै गोरुबथानमा जनसभा सम्पन्न भएको थियो।
मङ्पुको जनसभालाई सम्बोधन गर्दै तृणमूल उम्मेद्वार अमरसिंह राईले भने – “यो पालि हामीले हाम्रो भावनालाई परिवर्तन गरौं। म तपाईंहरूलाई आफ्नो भावना परिवर्तन गर्ने बिन्ती गर्छु।’ उनले यसपालि मङ्पुवासीलाई मङ्पुकै लागि, यहाँको सिन्कोना बगानका लागि भोट दिने अपील पनि गरे।
तपाईंहरूले मलाई भोट नदिनुहोस्। पार्टीलाई भोट नदिनुहोस्, तर आफैले आफ्ना लागि भोट दिनुहोस्”, तृणमूल उम्मेद्वार राईले थपे, “थाह छ मलाई हाम्रा विरोधी दलहरूले नराम्रो नराम्रो भन्दैछन्। मैले माटो बेचेको, म गोर्खाविरोधी भएको भन्दैछन्, उनीहरू। म यी कुराहरूमाथि सरोकार राख्दिन। किनभने मेरो आफ्नो सिद्धान्त छ। मैले हाम्रा जनतालाई, हाम्रो जातिलाई अलिकति केही दिलाउन सके भने पनि त्यो मेरो जीत हो।”
जीटीएको बोर्ड अव् एडमिनिस्ट्रेशन (बीओए) -को सदस्य हुँदा पछिल्लो डेढ़ वर्षमा राज्यसँग राम्रो सम्बन्ध राखेर शिक्षासम्बन्धित धेरै कार्य गरेको दाबी पनि गरे।
उनले भने, “जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशनमा बस्दा मेरो एउटै इच्छा थियो, शिक्षकहरूको समस्या समाधान होस्। आईटीआई टुङ्गको समस्या समाधान होस्। हाम्रो विश्वविद्यालयको कुरा अगाड़ि बढ़ोस्। यी कुराहरू मैले उठाए। मैले जति कुरा उठाए ती सबै कुरा मुख्यमन्त्रीले मानिदिनु भयो। किनभने हाम्रो राज्य सरकारसँग राम्रो सम्बन्ध थियो।”
उनले थपे, “हामीले देख्यौं, जब बङ्गाल सरकारसँग हाम्रो सम्बन्ध राम्रो थिएन, त्यसबेला सरकारले कहिले हाम्रो कुरा सुन्दैन थियो, तर यो डेढ़ वर्षमा हामीले सरकारसँग राम्रो सम्बन्ध बनायौं। तब हाम्रा सबै कुरा सरकारले सुन्न थाल्यो।”
तृणमूलको सांसद भएर गइरहेकोले राज्य सरकारले आफ्नो कुरा अझै सुन्ने कुरामा विश्वस्त रहेको पनि बताए। राईले राज्य सरकारसम्बन्धित कुराहरू राजु विष्ट र प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न नसक्ने कुरा पनि दोहोर्याए। आफ्नो सम्बोधनमा तृणमूल उम्मेदवारले सिन्कोना बगानको समस्याबारे पनि बोले। राईले सिन्कोना बगानका 800 रिक्त पद र पदोन्नतिको फाइल राज्यको गृह सचिवको टेबलमा रहेको बताए। र अहिले यो प्रक्रियामा रहेकोले चाँड़ै पूरा हुनसक्ने बताए। यसअवधि उनले सिन्कोना बगानका अस्थायी कर्मचारीहरूको स्थायीकरण गर्नुपर्ने र यसबारे सरकारकहाँ अघिबाटै फाइल चलाइसकेको बताए।
“यी कुराहरू भाजपाले गर्न सक्दैन। यी कुराहरू गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गर्न सक्दैन। यी कुराहरू राजु विष्टले गर्न सक्दैनन्”, राईले थपे, “यी कुराहरू भोलिको दिनमा हामीले नै गर्नुपर्छ। त्यसैले कसलाई भोट दिने हो, त्यो राम्ररी सोच्नुहोस्।”
उनले सिन्कोना र चियाकमानको पर्जापट्टाको कुरा दुई बेग्ला बेग्लै कुरा भएकोले एकै ठाउँ मिलाउन नहुने बताए। ‘‘हामीले पर्जापट्टाको कुरा उठाउँदा चियाकमानको अलग्गै र सिन्कोना बगानको अलग्गै उठाउनु पर्छ। यो दिने अधिकार संसदसँग छैन। दिने राज्य सरकार हो”, उनले भने।
उनले थपे, “जसरी हामीले चियाकमानको पर्जापट्टा आगामी 2020 सम्म दिलाउने छौं भनेर वाचा गरेको छौं। त्यसरी नै सिन्कोना बगानका मानिसहरूलाई पनि यसैअवधिमा पर्जापट्टा दिलाउने कोशिश गरिरहेका छौं।”
जनसभालाई विनयपन्थी गोजमुमोको दार्जीलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङले पनि सम्बोधन गरेका थिए।
थुलुङले आफ्नो सम्बोधनमा विमल गुरुङमाथि कटाक्ष गर्दै भने, “राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ‘आमा’ भनेर पुल्पुलाउने विमल गुरुङ हो। हामीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई आमा भनेका छैनौं। दिदी भन्छौं हामी उनलाई।”